-अन्जु शर्मा
” शुभ आशिर्वाद बाबु !नयाँ जीवन शूरूवातको शुभकामना ।”
काकीले मलाई आशिर्वाद दिनुभयो ।मैले काकीलाई वाल्ल परेर हेरें।अनि स्यानो स्वरमा अक्मकाएर ” खाना खाएर जानुहोला,भित्र दुलही छ,उसलाई पनि आशिर्वाद दिनुहोला?”
” बाबु !मैले जोनसंग बिहे गरिसकें।म उबाट चार महिनाकी गर्भवती छु।त्यसैले यो घरमा मेरो कुनै नाता संबन्ध छैन ।मलाई भित्र जान नभन ।यो उपहार तिम्री दुलहीलाई दिनु।म अहिले गए।”काकी जोनको हात समाउदै त्यहाँबाट निक्लनुभयो” ए जेठा! पुतलीले के उपहार ल्याईदिछे? खोलखोल।”हजुरआमा ले भन्ने बित्तिकै मैले गिफ्ट खोले।सादा माटाको कप जसमा काकीको मुस्कान सहितको तस्बिर थियो ।
त्यतिबेलाको कुरा न हो जतिबेला म यौवन अवस्थामा उक्लदै थिएं।त्यो बेलाको घटनाले अहिले पनि मलाई कुत्कुतियाउछ ।म मात्र सात कक्षामा पढ्थे।१४/१५ को थिएं होला !खै के कारण हो मेरो स्कुले पढाइ निकै ढिला हो कि भनेझैं लाग्थ्यो मलाई ।हाम्रा काकाको परिवार आसाम नागालैंड तिर बसोबास गरेको धेरै बर्ष भएको रहेछ।खै के के राजनीतिक मुद्दा मामिलाका कारण काका उतै बस्नुभाको भनेर परिवारबाट सुन्दै आएको थिएं।
आज काका घर फिर्नुभएको छ।साथमा अत्यन्तै सुन्दर युवती छन्।म असमजमा छु ।काकी तीन बर्ष अगावै छोराछोरी संग घर आइसक्नुभएको छ।काकाको कान्छो छोरा पनि ६/७ बर्षको होला ।जेठो त मैसंगको हो ।त्यसैले उसको र मेरो दौतरी खुबै जमेको छ ।पढ्न पनि संगै पढ्ने खेल्न पनि संगै।उ जोर्नाल ,म दुर्गेस।
मलाई काका देख्दा पटक्कै अचम्म लागेन।हाम्रा बा संग ट्याक्कै अनुहार मिल्दो रहेछ।अचम्म त त्यो युवती संग भयो ।राम्री पनि कति हो !सुडुलो शरीर,गोरो वर्णमा थाइकट कपाल ,गुलाफी टि सर्ट र कालो पेन्ट,टाउकोमा गगल्स् अनि पेन्सिल हिल।बाफ्रे..!!
उता फूप छेउमा बसेकी चौबन्धी चोलोमा कालो छिटको फरिया ठ्यास्स परेको बुलाकी छ्या..!त्यतिबेला मास्टर्नी थिइन् जेठा बढाउकी छोरी ;उनको पनि पहिरन हेरें कालो ब्लाउज र फुलबुट्टे सिफनको सारी।मनमनै गुने आहा!यी दिदीले पनि यो केटीको जस्तै लुगा लाउदा कस्ति राम्री हुन्थिन् होला ??
हामी काकाको आँगनमा थियौँ ।काका त्यो केटी संग पिढीमा एकदम संग टाँसिएर बस्नुभाछ।केही बेरमा भरियाहरू आइपुगे ।काकाले सबैलाई केही न केही ल्याइदिनुभा रैछ।आसामे काका आउनुभएको खबर हावा भन्दा छिटो गाउभरि फैलिसकेछ।अर्को काकाको घरमा बस्ने हजुरआमा पनि आइपुग्नुभयो ।काकाले हामी आफैं आउथिम् आमाले दु:ख गर्नुभएछ भन्दै खुट्टामा ढोग्नुभयो।अनि त्यो केटीलाई पनि आमाको खुट्टा ढोग भनेर लाउनुभयो।हजुरआमाले “सौभाग्यवती भएस् पुतली “भन्नुभयो। अचम्मित हुँदै गएं।केही क्षणमा हटियाबाट काकी आउनुभयो ।काकीले नबोलि काकाको खुट्टा ढोग्नुभयो ।अनि त्यो केटीलाई पनि तिम्री दिदी खुट्टा ढोग भनेर भन्नुभयो ।त्यो केटीले काका भन्दा पनि जेठी काकीका काला खुट्टा झ्याम्म ढोगी।काकीले अध्यारो मुखाकृति बनाउनु भयो ।काकाले नरम भाषामा “मलाई माफ गरेउनी देबी”मात्रै के भन्नुभएको थियोे ।काकी स्वाट्ट भित्र पस्नुभयो ।
अब भने झन मलाई खपिनसक्नुभयो।म दौडेर आफ्नो घर आएं।आमा भान्सामा हुनुहुन्थ्यो ।”आमा! त्यो काका संग आउने केटी को हो ?त्यस्ले त काकीका खुट्टैमा ढोगी!”
” आ…छोड्दे त्यस्ता नचाहिने कुरा।तेरा काकालाई मात चढेको क्या! यो उमेरमा तरुनी स्वास्नी ।”मर्नेबेलामा हरियो काक्रो “भनेको यहीँ हो ।फेरि त्यो नकच्चरी त्यस्ता बुढा संग किन मुन्टेकी होला ?”आमालाई पनि मन परेको रहेनछ ।तर मलाई भने नयाँ काकी असाध्यै मन पर्यो।हजुरआमा पनि कम्ताकी हुनुहुन्छ र!नाम नै “पुतली “राखिदिनुभयो।हो त्यहीँ दिन देखि मैले पनि पुतली काकी भन्न थालें।
काकीको र मेरो उमेर खासै फरक थिएन्।दार्जिलिङतिरकी काकी छिटो पढिछन्।एस.एल.सि .दिएर मामाघर चन्डीगढ जाँदा कताकता बाट काका संग लभ परेछ।काकाले औपचारिकशिक्षा कुनै स्कुलबाट लिनुभएको हैन रे ,उबेलाका बुढा बग्रेल्ती छोराछोरी फेरि यस्ति दिब्य सुन्दरी केटी कसरी फकाए?बुढको कलालाई सलाम गर्दै सोच मग्न रहें।
एकदिन फेरि म काकाको घरमा गएं।काकी भान्सामा हुनुहुन्थ्यो ।मैले काकीलाई सोधेँ “हजुरलाई पनि लभ गरेर ल्याउनुभा रे काकाले।के काका जादुगर हो काकी?”
” हैन ,यो केटो कति चाहिने नचाहिने कुरा गर्छ।जा माथि जोर्नाल संग पढ्न।काकी रिसाएको बुझेर म जोर्नालको कोठामा छिरे।पुतली काकी त उसलाई अंग्रेजी पढाइरहनुभाछ।जोर्नाले पनि कम छ पुतली जस्ती केटी आमाको रूपमा पाएर होला” सानो ममी”रे!
म पनि के कम छेउमा गएर ” पुतली काकी!”आजबाट मपनि पढ्छु है भने।काकीले लजालु स्वरमा हुन्छ भन्नुभयो ।मलाई भने यस्ति राम्री केटी संग पढ्न पाउदा निकै गर्व लाग्यो ।
अर्को दिन शनिबार थियो ।म जोर्नाल संग खेल्न भनेर फुत्त काकाको घरमा छिरें।घरमा कोही देखिन ।कतै धारा कुवा तिर जानुभयो होला ,म यस्तै अनुमान लगाउदै थिएं।काकाको कोठाबाट चुइकचुइक खाट बजेको आवाज आयो ।म डरले हत्तनपत्त काकाको घरबाट भागें।मन असाध्यै डरायो।यस्तो कोही नभाको घरमा कहीं खाट बज्छ।पक्कै भुत हुनपर्छ।म छट्पटीएं।तर कसैलाई सुनाइन। बच्चा बेला देखि छोरा मान्छे निडर,शाहसी हुनपर्छ भनेर घरमा पुराणै लाग्छ । केही दिनका लागि मैले काकाको घर जान बन्द गरें।तर ती कोमल काकीका हातको स्पर्शले भने मेरो फूर्तिको वर्णन गरिसाध्य थिएन ।
काकाको घर नगएको पनि ठ्याक्कै चारदिन भएछ।एकदिन स्कुल जाँदै गर्दा बाटोमा” दुर्गेस!तँ किन पढ्न नआएको ?फेरि सानो ममीले पनि दुर्गेसलाई के भाको छ? भनेर सोध्धै हुनुहुन्थ्यो ।”अनि ततैंले के भन्दिस् त?”मैले उल्टै प्रतिप्रश्न गरें।मैले त केही भनिन् ” त्यो लफङ्गा दुर्गेस पढ्न मन गर्दैन नपढाए भैगो नि भनेर बाले भन्नुभयो ।
“त्यसो हैन के जोर्नाल !मलाई पढ्न मन नलागेको कहाँ हो र?शनिबार म तिमेर्कामा आको थिए ।घरमा कोही हुनुहुन्नथियो।सबैतिर हेरें ,अचानक काकाको कोठाबाट खाट बजेको आवाज आयो ।पक्कै भुत हुनपर्छ भन्ने संका लागेर पढ्न आउन छाडे ।”
जोर्नालले आफूलाई पनि भुत संग असाध्यै डर लाग्ने कुरा गर्यो।त्यसैले दुबै जना मिलेर कोही नभाको बेला छड्के चेक गर्ने यदि भुतले आक्रमण गरेको खण्डमा भुत संग लडाइँ गर्न एकएकवटा लठ्ठी पुन लिएर जाने।सहमति बमोजिम हामी कोही नभएको मौकामा काकाको घर छिर्यौ।मैले काकाको कोठामा कन्सुत्ली लाएं फेरि उहीँ किसिमको आवाज अनि गुनगुनाहट पनि । मैले जोर्नाललाई कन्सुत्लि लाग्न भने उसले यहाँ त पक्कै बाबा र सानो ममी हुनुपर्छ ।कोही भुत होइन ।हामी छिटोछिटो गरेर भान्सा छिर्यौ। मत पसिनाले निथुर्कै भएछु।दुबै मिलेर पानी पिउदै थियौं ,पुतली काकी कप्तान (म्याक्सी)मात्र लगाएर बाहिर निस्कनुभयो।कपाल पनि जिङ्रिग थियो ।त्यसको केही मिनेटमा काका पनि बाहिर निस्कनुभयो।वहाँको स्यान्डोमा लिपिस्टिक लतपतिएको थियो ।अब मलाई अनुमान लगाउन गाह्राे भएन।
काकीले मलाई देख्ने बित्तिकै ” ए दुर्गेस! तिमी पढ्न आएको होला ।आज मलाई अलि सन्चो छैन भोलि आउ है।”त्यो दिन म घर त फर्के तर काकाका कोठाको खाटको चुइचुइ पनि लिएरै फर्के ।
केही दिन पछाडि एकदिन हजुरआमाले काकालाई नराम्रो गाली गरेको सुनें ।हजुरआमा भन्दै हुनुहुन्थ्यो ” हेर बलड्याङ्रे!तैंले त्यो जेठीमाथि ठूलो अन्याय गरिस्”
“कहाँ गरेको छ र अन्याय काम पुरै सघाउछे”काकाले उत्तर दिनुभयो ।
“त्यसो भनेर हुन्छ?बच्चा भए पनि त्यो अझै जवान छे।उसकै अगाडि …… तँ मुर्ख !यो नकच्चरी पढेकी छे, बजारमा कुनै स्कुलमा मास्टर लगाइदे।अलिदिन तँ पनि उतैतिर गएर बस्।
हजुरआमाको कुरा सायद काकालाई जायज लाग्यो ।वहाँले बजारमा एउटा बोर्डिङ स्कुल खोलेर नागाल्याण्ड,दार्जिलिङ ,सिक्किम तिर बाट अंग्रेजी शिक्षक लिएर आउनुभयो र बजार तिर सर्नुभयो।
जल्ले जे भनेपनि मलाई भने काका काकी बजार सरेको पटक्कै निको लागेको थिएन।पुराना यादहरू सल्बलाइ रहेका थिए ।पुतली काकी बजार सरेको केही दिनमा म काकाको घर गएं।पहिले जस्तै कोही नभाको मौका पारेर म काकाको कोठा तर्फ अगाडि बढें।आवाज सुन्ने प्रयत्न गरें तर सब बेकार भयो ।काका संग पनि अलिकता रिस उठ्यो ।त्यस्ति राम्री पुतली काकी;हाम्रा काका बुढोगोरू जस्ता!म नमिठो हाँसो हाँसे अनि घर फर्के ।
समय बित्न केहीबेर लाग्दैन ।हेर्दाहेर्दै मेरो एस.एल.सि. दिने बेला भयो ।म फुर्सदिलो भएं।त्यसैले विभिन्न वाहनामा म काकाको बजारको घरमा पुग्थें।मलाई खाट चुइकेको सुन्ने रहर मरेकै थिएन ।त्यहीँ भएर होला सायद म अलि सुनसान समय कोही नभा मौका छोपेर जान्थें।आज स्कुल छुट्टीको दिन थियोे ।म यस्तै दिनको बाह्र बजेतिर काकाको कोठामा कन्सुत्ली लाग्न पुगें।कोठा भित्रबाट लक थियो ।मलाई ” के खोज्छस् काना भन्दा आँखा भनेझैं “भयो ।त्यसरी नै भित्र काठ बजेको आवाज आयो ।म बाहिर उत्तेजित हुँदै थिएं।झट्पट ढोकाको चुकुल खोलेको आवाज आयो ।म बैठकमा गएर बसें।म छक्क परें।आज काकी संग काका हैन काकीकै उमेरको एक युवक थियो ।मलाई बैठकमा देखेर काकीले स्पष्टीकरण दिनुभयो “उ मिस्टर जोन।हाम्रो स्कुलको नयाँ टिचर ।हामी स्कुलको बारेमा छलफल गर्न ब्यस्त थियौं ।”
म मनमनै रनभुल्ल परें।स्कुलको छलफलमा त्यसरी खाट चुइकिन्छ??केही क्षणमा काका आउनुभयो ।त्यस्तो रातोपिरो अनुहार साग वोइलाए झैं लतक्क थियोे ।काकाले मेरो छेउमा बस्दै भन्नुभयो ” दुर्गेस अब देखि म पनि गाउँमै बस्ने विचारमा छु।गाउँको जस्तो वातावरण शहरमा हुनेरहेनछ।काकी ठिकै छ नी?”
“अ: ठिकै हुनुहुन्छ “।देबी जस्ति काकीलाई धोका दिने बुढाले बल्ल चेतेछन्।मैले मनमनै स्याबासी बजाएं।
काका त्यस्को महिना दिनमै गाउँ फिर्नुभयो।पुतली काकी बजार मै बस्नुभयो।म बा बितेको टुहुरो थिएं।कामको बोझले गर्दा मेरो बिहे गर्न आमा हतारिनुभयो।तर सबैको ब्यवस्थापन भने काकाले नै गर्नुभयो ।मेरो बिहे नजिकिँदै गर्दा हुनेवाला बेउली म पुतली काकी जस्तै राम्री कल्पना गर्थें ।त्यसैले बिहेको निम्तो काकीलाई पनि दिनुपर्ने मेरो मान्यता रह्यो ।तर सबै कुरा काकाले गर्नुभएको हुँदा एकपटक काकालाई सोधेँ ” काका पुतली काकीलाई पनि बोलाउ है ?”
” हुन्छ,बोलान।”
बिहेको अघिल्लो दिन म काकीलाई निम्तो दिन बजार पुगेको थिएं। ।
रातोपुल(2080/11/24)