-अन्जु शर्मा
“हैन ,बुहारी भए पछि त अलिक छिटो उठ्न पर्छ नि ,जहिले पनि उहीँ घामको झुल्को!आजकालका बुहारीलाई सरम भन्ने कुनै चिज छदै छैन ।जेठानी दुई जिउकी छ,बच्चा सा-साना छन् ,काम सघाउन पर्छ भन्ने हेक्का त हुनैपर्ने हो ।त्यति मात्रै कहाँ हो र? ससुरा वृद्ध रोगी हुनुहुन्छ ।हन; मचाँहि कुन सक्ने छु र भन्या?उमेरले पचहत्तर कटिसकें ।भित्र बाहिर गर्यो कि स्याँ-स्याँ हुन्छ ।उबेलाको दु:खले त होला, दमले च्यापेको पनि ।संयुक्त परिवार त्यस्मा पनि अरूको भन्दा ठूलै थियो ।आगोमा खाना पकाएर निम्टियाउनु पर्ने ,गाई,भैंसीको कुँडो पनि त्यहीँ धुवाँ खाएर न पकाउने हो! त्यहीँ भएर अहिले दम भएको होला नि!!घरको काम पनि भनिसाध्य होस्, नत गनि साध्य होस्।भालेको डाकमा घरको लिपपोत सकेर,पारिकुवाबाट पानी ल्याउन पर्थियो।यतिले पुग्थ्यो र?सासू,ससुराको स्यारसुसार,खेतीपाती ,बस्तुभाउ,बालबच्चा ,हन; मेरो एक्लो जिम्मेवारी पो थियो त!खै कसैले चुं बोल्न सक्तैन थे।आजकालका बुहारी के भा हुन कुन्नि घामको झुल्को आइसक्दा समेत उठ भन्दा उठ्दैनन्।”सासुले बिहानै देखि फत्तरफत्तर शुरू गर्नुभयो ।
रमला आँङ् तान्दै उठेर सासू संग चर्चर बाझ्न थालीन्।”तपाईंको महाभारत सुन्न आएकी हैन।रातिदेखि काम गर्नलाई तपाईंका घरकी नोकर हुँ र?म पनि हुनेखाने कै छोरी हुँ ।एक्लि छोरी भएर लाडप्यारमा हुर्केकी हु क्यारे।यस्तो बिग्न टोकसो सुन्नलाई आएकी हुइन।तपाईंका घरमा काम पनि तपाईं गर्नुस् ,मीठो पनि तपाई नै खानुस्।म चाहिँ माइत हिडे।”
रमला माइत जाने तयारी गर्दै गर्दा रमेशले बुढीको माया गर्दै आमालाई थर्काउन सम्म थर्कायो।” यी आमा पनि मेरी बुढीलाई मात्रै धेर देख्छिन्।घरको काम भाउजुले गर्दा पनि हुन्छ है गाँठे!हामी यो घरमा धेर भैसकेछौं निक्लेर जाओ भन्न खोजेको त होला नि तिमीले?”
घरमा बिहानै देखि झगडा भएको देखि जेठी बुहारी कमलाको मन अमिलो भयो ।उसले देवरलाई संझाउदै भनी” छुट्टिने कुरा नगर्नुस् बाबु ,छुट्टिएर बस्दा हामी एक्लिन्छौं।समाजले हामीलाई हेप्छ।अर्को कुरा हामी संग यति धेरै खेतीपाती ,बस्तुभाउ छन ।यी सबैको स्यारसंहार गर्न पनि ठूलो परिवार चाहिन्छ ।रमला ढिला उठेर केही बिग्रन्न ।बिस्तारै बानी पर्छिन् उठिहाल्छिन्।बरू आमालाई म नै संझाउछु।” उता सासू संग बाझ्ने रमला यता जेठानीले आफ्नो पक्ष लिदा जेठानी संग नरम हुँदै गईन्।।घरको बाताबरण अचानक शान्त भयो ।
बिहे गरेको पनि बर्ष दिन भयो,रमलाको मासिक धर्म अझै रोकिएको थिएन ।उता बुढी हुँदै गएकी सासुलाई वंश धान्ने नातीको रहरले औडाहा नै बनाएको थियो ।बुढियाले मनको पिढा बुहारी संग पोखिहालिन्-“दुलही !मलाई नातीको रहर लाग्या छ।”वंश पनि रहने ,अंश पनि जोगिने “।एउटा नाति पाइदिए म आफै हुर्काइदिन्थे।यो कुरामा भने रमलाले सासुलाई पटक्कै मुख लगाइनन्।
माइतकि आमाले पनि ” अब सधैँ सधैँ माइत आउनुहुन्न ।घर खान नसकेकी छोरी भन्छन् ।घर भनेको घर नै हो ।बिहे गरेको ठ्याक्कै एक बर्ष भएछ।अर्को न बर्ष त कोख भर्न पर्छ नि”।यो कुरालाई पनि रमलाले नबोलि पचाइन्।
पतिपत्नी बीचको संबन्ध पनि अत्यन्तै मधुर थियो ।त्यहीँ भएर रमलाको घरमा आफूखुसी चल्थ्यियो।त्यसै बुढापाकाले कहाँ भनेकाहुन र!” वृहस्पति दाहिना भए ,केलाई टाउको दुखाउनु र?”
हिजोआज रमलाको दिनचर्या फेरिएको छ।बिहान कुखुराको डाकमा उठेर आँगन बढार्छिन्,पिढीमा पोछा लाउछिन्।रमलाको परिवर्तित बानी देखेर सासुले जेठी बुहारी संग खुसामद गरिन् ” हेर कमला!तेरी देउरानीलाई पनि घरको माया लाग्न थालेछ चाडो उठेर घरको काममा हात बटार्न थाली।”
कमला-“हो त नि आमा!हजुरले त्यसै कराउनु हुन्थ्यो ।समयले सबै कुरा सिकाइहाल्छ।मेरो अझै सुत्केरो शरीर भरलाग्दो काम गर्न निकै गाह्राे छ,अब रमलाले काम सिक्दै ल्याइन सजिलो हुनेभयो।”
रमला निकै फूर्तिली भएकी छन्।मुहार पनि हँसिलो छ।रमलामा आएको परिवर्तनले घरका सबै खुशी छन्।उता कमला सुत्केरी हुनेबेला देखि आएका कमलेश घरमै बसेका छन्।घरका जेठा छोरा कमलेश बुढी सुत्केरी गराउन छुट्टी मिलाएर आएका हुन्।
रमाइलो कुरा ,विहान रमलाले आँगन बढार्दा कमलेश दाँत माझ्दै पिढीमा ओहोरदोहोर गरिरहन्थे।रमलाले बढारेको आँगन निकै चाख मानेर हेर्थे।
कमलेश घरमा आएको पनि ठ्याक्कै एक महिना भएछ।जागिरबाट फोन आयो ।काममा फर्कन पर्ने भयो ।कमलेशको मन गह्र’गो भको छ।तैपनि काममा जानू नै छ।उनलेे छिटो आउने वाचा गर्दै घरबाट निक्ले।तगारो छेउ पुगेर घरतर्फ फर्केर हेरे।पिढीको खम्बा च्यापेर बसेकी रमलाको अनुहार उदास थियो ।कमलाले भने ” विस्तारै जानुहोला,पुगेसी फोन गर्न नभुल्नु होला “बच्चा बोकेरै पर पुगुन्जेल हात हल्लाइन।रमलाले देखिउन्जेल हेरिरहिन्।
जेठाजु गएको भोलिपल्टैबाट रमलाको घर आँगन बढार्ने काम बन्द भयो ।एकदिन सासुले-” कान्छी आँगन बढार्न किन छोडिस्? त्यो जेठानीको काखमा सानो बच्चा छ।कसरी गर्छे?भित्रको काम त जसोतसो गर्लि ,बाहिर फेरो तँइले गरे राम्रो हुन्थ्यो ।”
रमलाले सासुलाई प्याट्ट जबाफ फिर्काइ-” सुत्केरी भएको दुई महिना भयो ,अझै कुनामा बस्न पर्छ?म मात्रै कति दलिने हो ?”
देउरानीका कुराले कमलाको मनमा चिसो पस्यो ।मन अमिलो भयो ।तैपनि विद्रोह भाव निकालिनन्।मनमनै सोचिन् “आफ्नै बच्चा सानासाना छन्।श्रीमान घर बाहिर हुनुहुन्छ ,बिमार ससुरा ,वृद्ध सासू को स्यार गर्नेबेला देउरानी संग कसरी झगडा गर्नु?ठिकै छ घरमा झगडा राम्रो मानिन्न।यो आँगन म आफै बढार्छु।”कमला आँगन बढार्न थालिन् ।रमेश र रमला हेरिरहे।सहयोगको हात अगाडि बढाएनन्।
समय यसरी नै बित्दै थियो ।छ महिनाम बल्लतल्ल एकदिनका लागि घर आउने कमलेश खबर नगरी नै पध्र दिनकै दिन फुत्त आए।
सासुले “बाबु !यो पाला छिटो आइस त ?”
कमलेश” कमला, अझै तङ्ग्रेकी छैन त्यहीँ भएर”।
कमला-” मनमनै ,बुढेसकाल हुँदै गए जस्तो छ,बुढाले त मलाई निकै माया गर्नुहुने रहेछ।”बुढोतिर हेरेर मुसुक्क मुस्काइन्
यता जेठाजु आए देखि नै रमलामा चमक देखा पर्न थाल्यो ।उनी पहिले जसरी सखारै उठेर आँगन बढार्न थालिन् ।उता कमलाका मनमा झटका लाग्यो।उनलेे रमलालाई काम चोरको दर्जा दिइन्।मनमनै भन्न लागिन्” जेठाजु आए पछि मात्रै काम गर्छे,कमकी नौटङ्की छ।मान्छेका छेउमा काम गरेको देखाउन जान्ने ।फेरि सोचिन् आ..जेसुकै गरोस् ।दुईचार दिनभानि कामको होलो भाछ।”
यो पाला सात दिन बसेर कमलेश पून:काममा फर्के ।दिनचर्या जस्तै गरेर रमलाले आँगन बढार्न छोडिन्।यो घरमा रमलाको आफूखुसी चल्थियो।”बनकी चरी न परिन् “जहाँ मन लाग्यो ,त्यहीँ उड्ने “।
पून: अर्को महिना पनि कमलेश एक महिना नपुग्दै घर आए।कमला अब भने निकै ससंकित भएर ” हैन,आजकाल तपाईं किन छिटोछिटो घर आउनुहुन्छ?पहिलेपहिले छुट्टि मिल्दैन भन्नुहुन्थ्यो?”
कमलेश -” सधैं पहिले जस्तो कहाँ हुन्छ त?अब जागिरमा पनि पुरानो भैइयो।यतातिर तिमी पनि अझै काममा कम्जोर नै छ्यौ,बाआमा पनि वृद्ध हुनुभयो ,बच्बच्ची लडिका छन्।”
कमलेशका कुरामा एक किसिमले कमला निश्चिन्त भइन् ।
तैपनि संकाको घेरोले कमलालाई कतै पनि ढुक्कले छोडेको थिएन्।किनकि कमलेश आउनासाथ उनी आँगन बढार्ने काममा लागिहाल्थिन्।कमलालाई साच्चै रमलाको व्यबहार प्रति अचम्म मात्र हैन चियोचर्चो नै गर्न मन लाग्यो।
त्यसदिनको कुरा न हो ,जब पल्लो कोठाको ढोका खोल्दै रमला भर्याङबाट तल झरिन,थाहा नपाए झैं गरि कमलेश पनि उठे।अनि बिस्तारै भर्याङबाट तल झरे।कमला निधाउन सकेकी थिइनन् ।उनलेे दुबै जना तल झरेको थाहा पाइन् ,तर थाहा नपाए जसरी केहीबेर सुतिन्।केही क्षणपछि बिस्तारै उठेर बरण्डाको झ्यालबाट आँगनतिर चियाउन थालिन् ।
रमलाले आँगन बढार्न थालेदेखि पिढीमा बसेर आँखा नझिम्कियाइ कमलेशले रमलालाई हेरिरहे।यो दृश्यले कमलेश आउनुको रहस्य माथि कमलालाई ठूलो बज्रपात पैदा भयो ।तर पनि त्यो दिन उनलेे नजानेको अभिनय गरिन्।
अर्को दिन पनि रमला चाडै उठेर आँगन बढार्न थालिन् ।उता रमला उठेको थाहा पाउने बित्तिकै कमलेश पनि उठे।आज भने कमलाले रिस थाम्न सकिनन् उनी पनि उठिन्।कमला उठेको थाहा पाउने बित्तिकै कमलेश दाँत माझ्दै आँगनको वल्लोपल्लो छेउ गर्न थाले ।कमलाले तोबर्का मार्दै कमलेशलाई-“एका बिहानै दाँत माझेर कताजाने हो नि?”
अनि रमला!तिमीलाई जेठाजु आएको बेला मात्रै आँगन बढार्न जाँगर चल्ने रहेछ,अरूबेला त नसक्ने हुन्छ्यौ!”
त्यति भन्दा समेत कमलेशका आँखा रमलाका बक्षस्थल तिर दौडिरहेका थिए ।बोटिसका तुनाहरू खुकुला थिए ।जसले गर्दा आँगन बढार्दा कमलेश आकषर्ण भएको प्रष्ट अनुमान गर्न सकिन्थ्यो ।जेठानीको कुरामा रिसाएर रमलाले कमलालाई मुख छोडी ” मुख समालेर बोल्नुस दिदी ।”
यति भन्दा पनि कमलेश बोलेनन् ।रमला र कमलेशको व्यबहारले कमलालाई मानसिक पीडा दिन थाल्यो ।उनि दिनानुदिन देउरानीलाई सौता देख्न थालिन्।तर बोल्न कहाँ सजिलो थियोे र?
त्यसैदिन विहानको खाना खाने बेला कमलाले सबैको सामु आफूहरू छुट्टिएर बस्ने कुरा गरिन्।
सासू”सबैलाई मिलेर बसौं भन्ने ,मिलाएर राख्ने बुहारी आज आफै किन छुटिन खोज्छेस्?”आँसु पुछ्न थालिन् ।
रमेश -” हामी धेर भएर होला नि “ब्यङ्ग गर्यो।
कमलेश ” कच्चा कुरा नगर कमला म कतै छुटिएर जान्न।”
रमला-” छुटिनु राम्रो हैन भनेर हामीलाई भन्ने अनि आफैं किन छुटिने दिदी ?”कमला-” हुनत:हो ,ठूलो परिवार एकैठाउँ बस्न हुन्न भन्ने लाग्यो ।म अब दाइ संग जागिरमा जान्छु।”
कमलेश-“बरू म चाडोचाडो घर आउछु।यत्रो परिवार कोठामा गाह्राे हुन्छ ।”
त्यसदिन ठ्याकठुक्मै खाना खाएर सके।
भोलिपल्ट पनि रमला सखारै आँगन बढार्न उठिन्।कमलेश पनि उठेर पिढीको छेउमा बसि दाँत माझ्न थाले।कमला पनि चियो गर्न बरण्डाको झ्यालमा पुगिन्।कमला रमलाको गेटअप देखेर तर्सिन्।आज त नाइट्रिमा ,ब्रा समेत नलगाएकी!आँगन बढार्दा उनका बक्षस्थल वाङ्गै देखिन्थे। ।यो दृश्यले कमलालाई आकुलव्याकुल बनायो ।उनलेे देवरलाई बिस्तारै कान फुकिन्।रमेशले पहिले त भाउजुलाई गाली गरे।फेरि उहीँ त हो ,”संकाले लंका डडाउछ भन्छन् ”
रमेश पनि चियो गर्दै आँगनमै पुगे।आँगन बढार्दै गरेकी श्रीमती माथि दाजुको दोषी नजर ।उनलाई रिस थाम्न निकै गाह्रो भयो ।उनी भित्र गए,गग्रेटोको छेउमा राखेको दाप बिनाको खुकुरी निकालेर आज कि तँ छैनस्,कि म छैन दाजुपट्टि जाइ लाग्दै “तँ आजैदेखि जागिरमा जा नत्र…!”
आमा रूदै ” कम्ता दु:खले आर्जेको मेरो संपती माथि तिमेर्का गिद्दे नजर।बाँचुन्जेल नटुक्रियाउने विचार थियो ,के गर्नु?कोखमै दुस्मन फलेपछि ।भोलि नै सबै संपति बराबरी भाग लगाइदिन्छु।अहिले चुप लागेर बस”।आमाको कुराले घरमा सबै अचम्मित भए ।
रातोपुल(2080/11/07)