कृष्ण कँडेल
बागलुङ, २० मंसिर – बागलुङको पश्चिम बुर्तिबाङ बजारबाट काठमान्डौसम्मको लागि पहिलो पटक बिशेष सेवा सहितको एसी बस सेवा आईतवारदेखि सुरु भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा आउने पर्यटकलाई सेवा दिने उदेश्यले एसी पर्यटक वस सेवा सञ्चालन गरिएको हो ।
यात्रुहरुको मागसँगै गुणस्तरिय सेवा मार्फत ढोरपाटन आउने पर्यटकलाई आकर्षित गर्ने उदेश्यले धौलागिरी बस ब्यबसायि समितीले पर्यबटक बस सञ्चालन गरेको अध्यक्ष कुमार खड्काले वताए ।
बसमा एसि तथा मिनीरल वाटरको व्यवस्था, फ्रि वाईफाई, सिट बेल्ट, हिटर सहित प्रत्येक सिटमा मोवाईल चार्जको सुविधा रहेको धौलागिरी बस व्यवासायि समिति बुर्तिबाङ टिकट काउण्टरका प्रमुख असोक विश्वकर्माले जानकारी दिए । प्रत्येक दिन दिँउसो २ बजे बुर्तिबाङदेखि छुट्ने बसकोे भाडा १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।
बिशेष सुबिधा सहित एसि बस सञ्चालन भएपछि ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको यात्रा पनि सहज हुने र पर्यटकको संख्या बढ्ने होटेल व्यवसायी संघ बुर्तिबाङका अध्यक्ष धु्रव श्रेष्ठले बताए । यस अघिदेखि नै बुर्तिबाङमा यातायात सेवा दिँदै आएको समितिले समय र यात्रुको माग अनुसार सेवा विस्तार गरेको हो ।
सेवा सुभारम्भ गर्दै नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर–३ का सभापती दोर्णकुमार कुवँरले यातायात क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउन धौलागिरी वस व्यवसायी समितिले सकारात्मक प्रयास गरेको भन्दै निरन्तरता दिन आग्रह गरे । पहिलो पटक सञ्चालन भएको वसमा सवार यात्रु तथा चालकलाई माला र अबिर लगाएर यात्राको सुरुवात गरिएको थियो ।