अमृत बास्कुने
जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा आयोजित प्रथम म्याग्दी भलिबल कप–२०८० शुरु भएको छ । भलिबल संघको आयोजना र गौमती खत्री विकास कोषका संस्थापक लाल केसीको मुख्य प्रायोजनमा शुरु भएको प्रतियोगितामा म्याग्दी जिल्ला भित्रका माध्यमिक तह सम्म अध्ययनरत छात्रछात्रा तथा माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरुको खेल समावेस गरीएको छ । बेनी नगरपालिका-४ बास्कुना घर भइ हाल न्युजिल्याण्डमा रहनुभएका केसीले जिल्लाको भलिबल खेलको बिकासका लागि वार्षिक रुपमा म्याग्दी जिल्ला भलिबल संघलाइ दुइ लाख रुपैंया १० वर्ष सम्म उपलब्ध गराउने सम्झौता अनुरुप पहिलो पटक यो प्रतियोगिता आयोजना भएको हो ।
भलिबल प्रतियोगिताको उद्घाटन गर्दै म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले विद्यालयस्तरबाट खेल प्रतिभाको पहिचान गरी अगाडी बढाउनका लागि यो प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो । खेलकुदले मानिसलाई स्वस्थ बनाउने भएकाले निश्पक्ष खेलले सबैलाई राम्रो हुने धारणा राख्नुभएको थियो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले खेल क्षेत्रको विकासका लागि उचित खेल मैदानको व्यवस्थापन गर्न म्याग्दीले प्रयास गर्दै गरेको बताउनुभयो । जिल्लाको सदरमुकाममा रहेको एउटा मात्रै खेलमैदान पनि व्यवस्थीत गर्न धेरै प्रयास गरिएको भए पनि अहिले सम्म सफल हुन नसकेको धारणा राख्नु भएको थियो ।
उद्घाटन् कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश खत्री, मुख्य प्रायोजक गौमती खत्री विकास कोषका सन्दिप खत्री लगायतले बोल्नु भएको थियो ।
प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता रहेको छ । शिक्षकतर्फ २० र शिक्षिकातर्फ ९ वटा विद्यालयले सहभागि जनाएको भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । म्याग्दी जिल्लाको विद्यालयस्तरमा रहेका भलिबल खेलाडीको खेल पहिचान तथा नियमित अभ्यास र प्रशिक्षणको वातावरण बनाउन प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो । विद्यालय खेलाडी उत्पादनको नर्सरी भएकोले हरेक बर्ष नियमित रुपमा यो प्रतियोगिता हुने र खेलाडीसँगै शिक्षकलाई समेत भलिबलमा आर्कषित गर्दा विद्यार्थीको खेल कौशल अझ निखार आउने भएकाले शिक्षक बिचको खेललाई समेत सँगै लैजाने अध्यक्ष बानियाँको भनाई छ ।
प्रतियोगिताको छात्रछात्रातर्फ प्रथम हुनेले ५० हजार र द्वितीयले २५ हजार रुपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै शिक्षक शिक्षिकातर्फ प्रथम हुनेले २० हजार र द्वितीय १० हजार रुपियाँ नगद, ट्रफि, मेडल प्रमाणपत्र प्राप्न गर्नेछन् ।
यसैबीच मंगलबार सम्पन्न भएको खेलमा छात्रतर्फ म्याग्दी बहुमुखी क्याप्पस, जनकल्याण मावि पुलाचौर, महेन्द्ररत्न माध्यमिक विद्यालय वरंजा, ज्ञान प्रकाश माध्यमिक विद्यालय दाना र छात्रातर्फ बेनी सामुदायिक माध्यमिक विद्यालय बेनी, प्रकाश माध्यमिक विद्यालय(ए), म्याग्दी बहुमुखी क्याप्पस र महेन्द्र मावि झीँले आ–आफ्नो खेल जितेका छन् ।