नेपाली कांग्रेसको म्याग्दी जिल्लाका संस्थापक सभापति ओमबहादुर बोगटीलाई नेपाली कांग्रेस बेनी नगरपालिका–१ वडा समितिले सम्झेको छ । बोगटीको २८ औं स्मृतिको अवसरमा बेनी नगरपालिका–१ रत्नेचौरमा एक कार्यक्रमको आयोजना गरेर वडा समितिले संस्थापक सभापतिलाई सम्झेको हो ।
संस्थापक सभापतिको स्मृती कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति कर्णबहादुर भण्डारीले मुलुककै जेठो पार्टीको जिल्लामा स्थापना गरेर उहाँले अतुलनिय योगदान दिएको बताउनुभयो । नेपाली कांग्रेसको पुरानो इतिहासका साक्षी रहनुभएका बोगटीको योगदानको जिल्ला कार्यसमितिले उचित मुल्याङ्कन गर्ने उहाँको भनाई थियो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नेत्रबहादुर महतले कांग्रेसलाई म्याग्दीमा स्थापना गरेर अगाडी बढाउन योगदान दिएका बोगटी सबैको लागि आदर्शको पात्र भएको बताउनुभयो । उहाँले बोगटीले म्याग्दीमा कांग्रेसको स्थापना गरेर अगाडी बढाउनुका साथै कांग्रेस जिल्लाको नेतृत्व गर्दै थप उचाइ दिलाउनु भएको चर्चा गर्नुभएको थियो ।
नेपाली कांग्रेस बेनी नगरपालिका–१का सभापति कमल थापा मगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सदस्य लालबहादुर थापा, नेपाली कांग्रेस बेनी नगरपालिका समितिकी सहसचिव सानिमााँ कार्कीले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन तरुण दलका केन्द्रीय सदस्य बिक्रम बोगटीले गर्नुभएको थियो ।
त्यस्तै भानु माध्यमिक विद्यालयबाट गत वर्ष एसइइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने निलम थापा मगरलाई पाँचहजार पाँच सय ५५ रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो । भानु माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवम् नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति बोगटीको परिवारले सञ्चालन गरेको ओम्बो मेमोरियल ट्रष्टले हरेक वर्ष विद्यालयका एक जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने क्रममा यस वर्ष निलमलाई पुरस्कृत गरीएको बिक्रम बोगटीले जानकारी दिनुभयो ।