हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा हिमाली हिउँदे फलफुलको बगैचा व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ ।
घरपझोङ गाउँपालिकाको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा बिहीबार शुरु भएको तालिम तीन दिन सम्म चल्ने छ । हिउँदे फलफूलको वगैचा व्यवस्थापनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै अगुवा कृषकहरु तालिमका लागि आएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फका निमित्त प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।
माघ ६ सम्म सञ्चालन हुने तालिममा गोरखाबाट १ जना, रोल्पाका २, मनाङका ३, म्याग्दीका ३, बागलुङका ४ र मुस्ताङका ६ जना गरी कुल १९ जना अगुवा कृषकको सहभागिता रहेको छ । तालिममा हिउँदे फलफूलहरुको बगैचा व्यवस्थापन सम्बन्धी प्रयोगात्मक रुपमै तालिम हुने आत्रेयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘मुख्यगरि स्याउ, ओखर, खुर्पानी, आरू आरुबखडा, अंगुर, किवि, चेरी लगायत समग्र बगैंचा व्यवस्थापनका कक्षाहरू सञ्चालन हुनेछन् ।’ बगैचा व्यवस्थापनमा खाद्यतत्व व्यवस्थापन, रोगकिरा व्यवस्थापन, तालिम तथा काँटछाँट लगायत उत्पादनपरोन्त प्रविधिको बारेमा पनिजानकारी दिइने छ ।
तालिमका संयोजक शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका बागवानी विकास अधिकृत विनयवावु कोईरालाले भन्नुभयो–‘तालिममा थ्यौरी भन्दा पनि हामीले प्राक्टीकल्ली नै काम गर्ने छौं ।’ हामी बगैचामै पुगेर अभ्यास गरेरै सिक्यौं भने त्यो प्रभावकारी हुन्छ त्यसैले हामीले अभ्यासलाइ नै प्राथमिकता दिएर तालिम सञ्चालन गर्छौं ।