म्याग्दीमा सञ्चालित तीन वटा फरक क्षमता श्रोत कक्षा मध्ये धौलागिरी माध्यामिक विद्यालय सिंगामा रहेको बहिरा श्रोत कक्षामा अध्ययनरत बालबालिकाहरुलाई चिसोबाट जोगिनका लागि न्यानो कपडा बितरण गरिएको छ ।
म्याग्दीमा बेनी नगरपालिका–५ चुत्रेनीमा बौद्धिक अपाङ्गता श्रोत कक्षा, रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालयमा दृष्टिबिहीन श्रोत कक्षा र बेनी नगरपालिका–४, सिंगामा बहिरा श्रोत कक्षा सञ्चालनमा रहेको छ । सिंगामा रहेको श्रोत कक्षाका लागि लायन्स क्लब अफ बेनी लभ्लिहिलले न्यानो कपडा वितरण गरेको छ । धवलागिरि माध्यमिक विद्यालयमा अध्ययनरत बहिरा विद्यार्थीलाई १४ हजार रुपैंया पर्ने कपडाहरु बितरण गरेको हो ।
विद्यालयको बहिरा श्रोत कक्षामा अध्ययनरत १४ जना विद्यार्थीलाई १४ वटा ब्लाङ्केट वितरण गरिएको क्लवका अध्यक्ष नेत्रराज सुबेदीले बताउनुभयो । उहाँका अनुसार क्लवका सदस्य बिजय परियारको जन्मदिनको अवसरमा वितरण गरिएको हो ।
वडा अध्यक्ष भगवान खड्काको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुवनप्रसाद रेग्मीले लायन्स क्लबले गरेको सहयोगले विद्यार्थीलाई सहज भएको बताउनुभएको थियो ।
विद्यालयले बहिरा विद्यार्थीका लागि प्राप्त बजेट बाहेक विभिन्न क्षेत्रबाट हुने सहयोगको समेत सदु्पयोग गरेको प्रमुख अतिथि खड्काले बताउनुभयो ।
लायन्स क्लब अफ बेनी लब्लिहिलमा आवद्ध रहेका सदस्यहरुले जन्मदिनमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । कार्यक्रमको अध्यक्षता क्लव अध्यक्ष सुबेदी, स्वागत प्रथम उपाध्यक्ष सोहन श्रेष्ठ र सञ्चालन सचिव निर्मल खत्रीले गर्नुभएको थियो ।