म्याग्दीको बेनीमा केन्द्रीय कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४औं वार्षिक साधारणसभा बेनीमा सम्पन्न गरेको छ ।
मंगलबार सहकारीका एकाई सभाबाट चयन भएका प्रतिनिधिहरुको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश पोखराका रजिष्ट्रार भेषराज रिजालले गर्नुभएको थियो ।
सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले सहकारीले बचत फिर्ता गर्न नसकेको गुनासो केही मात्रामा सुनिएको भए पनि सबै तिर त्यस्तो नरहेको र नियमनकारी निकायले त्यसलाई समाधान गर्न सँधै कटिबद्ध रहेको बताउनुभयो । धेरै जसो घरजग्गामा लगानी भएको पाइएकोले त्यस्तो क्षेत्र भन्दा उद्यमशिलता र उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्न उहाँले आग्रह गर्नुभयो । सहकारीको ऐन नियम, मूल्यमान्यता र सिद्धान्तलाई पालना गरेर संचालन भएका सहकारीलाई समस्या नभएको बताउदै जनस्तरबाट बचत भएको रकमलाई सुरक्षित हुनेगरि लगानी गर्न आग्रह गर्नुभयो ।
केही सहकारीका संचालक समितिको लापरबाहीले राम्रा सहकारीलाई चुनौती थपिएको छ । राम्रा सहकारीका सेयर सदस्य र संचालकले सहकारीलाई थप मजबुद बनाउनका लागि मुनाफा भन्दा पनि कोषलाई बलियो बनाएको खण्डमा मात्रै संस्थालाई बलियो बनाउन सकिने उहाँको भनाई थियो ।
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले सहकारी ऐन नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संचालक समिति, कर्मचारी र शेयरसदस्यले ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो । उहाँले केही सहकारीको गल्तीले राम्रा सहकारीलाई चुनौती दिएकोले त्यस्ता चुनौतीलाई निस्तेज पार्दै थप मजबुत संस्था बनाएर सबै सहकारी कर्मीहरुले अगाडी बढ्नु पर्ने बताउनुभयो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सहकारीको आफ्नो सिमा रेखा हुन्छन् त्यस्ता सिमा रेखाहरुको बारेमा थाहा पाएको हुनाले पनि सहकारीमा समस्या नहुने उहाँको तर्क थियो । संस्थाको आफ्नो बिनियममा तोकीएको क्षेत्राधिकार भन्दा बाहिर जान मिल्दैन यदि क्षेत्राधिकार भन्दा बाहिर पुगेर ऋण लगानी गर्ने हो भने समस्या स्वत आउँछ त्यसैले त्यस तर्फ सहकारी संस्थाले ध्यान दिनु पर्छ । कतिपय सहकारी संस्थामा हुने लेखापरिणको क्रममा लेखापरीक्षकले गर्ने बदनियतले गर्दा शेयर सदस्य समस्यामा पर्न सक्ने उहाँको तर्क थियो ।
सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका अधिकृत सुर्यप्रसाद आचार्यले सहकारी संचालकले शेयर सदस्यको पैसा सही ठाउँमा लगानी गरेको खण्डमा कुनै पनि समस्या सिर्जना नहुने बताउनुभयो ।
म्याग्दीको पुरानो सहकारी रुपमा लिइने न्यू धौलागिरी बचत तथा ऋण सहकारीमा हाल सम्म सात हजार एक सय २३ जना शेयर सदस्यको आठ करोड ३९ लाख ८८ हजार पाँचसय रुपैयाँ शेयर पुँजी रहेको छ । संस्थाको निक्षेप तर्फ ५५ करोड ८ लाख १ हजार नौ सय पाँच रुपैयाँ र ऋण लगानी ६० करोड ८९ लाख ३९ हजार १८९ रुपैयाँ रहेको सहकारीले जनाएको छ । सहकारी संस्थाको जगेडासहित अन्य विभिन्न कोषमा गरी चार करोड ४ लाख २ हजार दुई सय ३१ रुपैया रहेको सहकारीको साधारणसभामा जानकारी अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी गराउनु भएको थियो । गतआर्थिक बर्ष सहकारीले ७७ करोड १६ लाख ४९ हजार तीन सय ५९ रुपैयाँको कारोबार गरेको समेत उहाँले बताउनुभएको थियो ।
संस्थाको साधारणसभाको अवसर पारेर उत्कृष्ट शाखा बनाउन सफल पर्वतको जलजला–३ मल्लाज सेवा केन्द्रका संयोजक हेमन्त थापालाई सम्मान गरिएको थियो । कर्मचारीहरुतर्फ अनील जिसी, शर्मिला पौडेल, नरबहादुर थापा, तुलन बुढा, डिप्सन भण्डारीलाई समेत सम्मान गरिएको थियो । सहकारीले म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने सोमप्रसाद सापकोटालाई नगद १५ हजार पाँचसय रुपैयाँ छात्रवृत्ति प्रदान गरेको थियो ।
कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष लिलाबहादुर बानियाँ, उत्कृष्ट सेवा केन्द्रको तर्फदेखि जलजला गाउँपालिका–३, पर्वत सेवाकेन्द्रका उपसमिति संयोजक हेमन्त थापा, पत्रकार हरिकृष्ण गौतम शेयरसदस्यहरु लक्ष्मी सुवेदी पौडेल र टिकानाथ शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
सहकारी संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष रामजीप्रसाद सुवेदी स्वागत, संचालक समितिका सदस्य हेमन्त थापाको संचालनमा सम्पन्न कार्यक्रममा ७ वटा शाखाका उपसमिति, कर्मचारी लगायतको उपस्थित रहेको थियो । मूख्य कार्यालय बेनी रहेको न्यू धवलागिरी बचत तथा ऋण सहकारीको मल्लाज, पोखरेबगर, तातोपानी, बाबियाँचौर, दरबाङ र मुनामा रहेका सेबाकेन्द्रहरुबाट सेबा दिँदै आइ रहेको छ ।