नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को निर्वाचनको लागि उम्मेदवारी परेका मध्ये तीन जनाको उम्मेदवारी रद्द भएको छ । निर्वाचनमा २२ पदका लागि ६० जनाको उम्मेदवारी परेको थियो । उक्त उम्मेदवारी मध्ये पाँच जनाको उम्मेदवारीमा दाबी विरोध परेको थियो ।
निर्वाचन उपसमितिमा गोमा नेपाल सापकोटा, माधव जोशी, शिव अधिकारी, राधा कडरिया र सुभद्रा नेपालको उम्मेदवारीमा दाबी विरोध परेको थियो । उक्त पाँच जनामा शिव अधिकारी, राधा कडरिया र सुभद्रा नेपालको उम्मेदवारी रद्द भएको निर्वाचन उपसमितिले जनाएको छ ।
शिव अधिकारी र सुभद्रा नेपाल प्रारम्भिक सहकारीमा कम्तिमा एक कार्यकाल पदाधिकारी भई काम गरेको प्रमाण नपुगेपछि उम्मेदवारी रद्द भएको हो । त्यस्तै कडरियाको संस्थाको व्यवस्थापक रहेको भनी दाबी विरोध परेको थियो । दाबी विरोध परेपछि कडरियाले संस्थामा दिएको राजिनामाको पत्र बुझाएको पत्र निर्वाचन उपसमितिमा पेश गरेका थिए । आवश्यक प्रमाण नपुगेको भन्दै निर्वाचन उपसमितिले उम्मेदवारी रद्द गरेको हो ।
तर, उम्मेदवार कडरियाले भने निर्वाचन उपसमितिले आवश्यक कागजातनै नमागेको दाबी गरेकी छिन् । दाबी विरोध परेपछि निर्वाचन समितिले कागजात मागेको र राजिनामा पत्रको प्रतिनिधि पेश गरेको बताईन ।
‘राजिनामा पत्र बुझाएपछि अरु कुनैपनि कागजात माग गरिएन, माग नगरेपछि मानेको भनेर हामीले बुझ्यौं । तर, अन्तिममा उम्मेदवारी कायम नरहेको भनेर सूचना आयो’, उनले भनिन् ।