कृष्ण कँडेल
बागलुङ, १९ मंसिर – परराष्ट्रमन्त्री डा. प्रकाशसरण महतले यसअघि एमाले आफैले प्रश्ताव गरि पार्टी अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको प्रदेश सिमाङ्कनको खाका अनुसार नै सरकारले संविधान संसोधन प्रश्ताव दर्ता गरेको भन्दै एमाले आत्तिनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
शनिबार बागलुङको बुर्तिबाङमा चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महतले मधेसमा रहेको असन्तुष्टिको कुनै न कुनै रुपमा सम्बोधन नगरे संविधान कार्यान्वयन हुन नसक्ने अवस्था रहेकाले मुलुकलाई अघि बढाउन सरकारले कम्तीमा सबैलाई मान्य हुने बीचको बाटो खोजेको बताए ।
‘संविधान नबन्दै एमाले अध्यक्ष केपी ओलीले पनि मानेर हस्ताक्षर गरेको सिमाङ्कनमा मधेसी दलले पनि मान्छन् भने उनीहरुको माग सम्बोधन गरौँ भनेर सरकारले संसोधन प्रश्ताव दर्ता गरेको हो’, महतले भने, ‘सबैले भनेजस्तो कहिल्यै हुँदैन, मधेसका नागरिकको पनि कामसेकम मन राख्नुपर्छ ।’ मन्त्री महतले मधेशी मोर्चाले पनि यतिले हुँदैन हामी मान्दैनौँ हामीले भने जस्तै हुनुपर्छ भन्ने हठ छोड्नुपर्ने बताए ।
सबै कुरा आफैले भने जस्तो हुनुपर्ने अडानले देशमा संविधान कार्यान्वयन गरेर समृद्धिको बाटोमा जान नसकिने भन्दै उनले एमाले र मधेसवादी दल दुवैलाई संविधान संसोधनको पक्षमा उभिन आग्रह गरे ।बुर्तिबाङ केन्द्र रहने गरि प्रश्ताव गरिएको ढोरपाटन नगरपालिका कायम गर्न माग गर्दै स्थानियले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री महतले जिल्लाले सिफारिस गरेकाले नगरपालिका बन्न अब कसैले रोक्न नसक्ने भन्दै आफ्नो पार्टि र स्थानिय निकाय संख्या तथा सिमाना निर्धारण आयोगमा पनि आफुले पहल गर्ने प्रतिबद्धता जनाए ।
बागलुङको पश्चिम क्षेत्रलाई बाढी पहिरो प्रभावित घोषणा गरेर पुननिर्माण र पुनर्वासका लागि पहल गर्न र बुर्तिबाङ बाजर उच्च जोखिममा रहेको भन्दै तटबन्ध निर्माणका लागि माग गरिएको छ । मन्त्री महतलाई उत्तरगंगा मावि बुर्तिबाङ र विद्यालय मातहतको अपाङ्गता विशेष कक्षाको तर्फबाट पनि ज्ञापनपत्र बुझार्ईको थियो । कार्यक्रममा सांसद् ज्ञानकुमारी छन्त्यालले बुर्तिबाङ जस्तो ठाउँमा राष्ट्रिय खेल हुने गर्बको कुरा भएको भन्दै आयोजकलाई धन्यवाद दिईन् ।
कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य तथा संसाद बहादुरसिंह लामा, तेक्वान्दो महासंघका कोषाध्यक्ष, प्रभु बैंकका संचालक दक्ष पौडेल, नेपाली निर्वाचन क्षेत्र नम्बर–३ का सभापती दोर्णकुमार कुँवर, बासुदेव भट्ट, नेकपा एमालेका टंक पौडेल, माओवादी केन्द्रका चन्द्र अर्याल, राष्ट्रिय जनामोर्चाका गौरीश्वर पाण्डे र नेकपा क्रान्तिकारी माओवादीका गुन्जबहादुर भण्डारीले बोलेका थिए ।
कार्यक्रम प्रतियोगिता संयोजक तथा नेपाल आईटिएफ राष्ट्रिय ब्ल्यकबेल्ट कमिटिका अध्यक्ष घमबहादुर थापाको अध्यक्षता, आईटिएफ तेक्वान्दो संघका सचिव नरबहादुर क्षेत्रीको स्वागत र प्रतिक पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleबुर्तिवाङमा तेक्वान्दो प्रतियोगिता शुरु
Next Article अपाङ्गता दिवस मनाईयो