धार्मिक स्थल गलेश्वरधाम क्षेत्रमा होटल, रेष्टुरेन्ट तथा किराना पसलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, डिभिजन कार्यालय बागलुङको अगुवाइमा सरोकारवाला निकाय सहितको टोलीले होटल तथा किराना पसलहरुको अनुगमन गरेको हो ।
टोलीले रघुगंगा गाउँपालिका–३, चमेरे, राहुघाट र बेनी नगरपालिका–९, घतानस्थित गलेश्वर बजारमा सञ्चालित होटल तथा पसलहरुको अनुगमन गरिएको हो । बजार तथा बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तर्गतको यस क्षेत्रमा सञ्चालित होटल तथा पसलहरुमा सामानहरुको आपूर्ति, वस्तु तथा सेवाको उत्पादन, भण्डार र वितरणको वास्तविक अवस्था पत्ता लगाई कमीकमजोरी भेटिएमा सुधार्ने उद्देश्यसहित अनुगन गरिएको थियो ।
रघुगंगा गाउँपालिका–३, चमेरे र राहुघाटमा सञ्चालित चमेरे रेष्टुरेन्ट एण्ड होटल, विद्या भण्डारी होटल एण्ड खाजाघर, मेरिस होटल एण्ड रेष्टुरेन्ट, चालिसे किराना स्टोर्स, परिचय मःम रेष्टुरेन्ट एण्ड थकाली भान्छा घर तथा मिम किराना स्टोर्समा अनुगमन गरिएको छ । यसैगरी प्रतिमा होटल ठकुरी लज एण्ड रेष्टुरेन्ट, होटल रिभर–भ्यू, मदरल्याण्ड होटल एण्ड रेष्टुरेँट, ठकुरी होटल एण्ड रेष्टुरेन्ट, प्याराडाइज होटल, होटल ताजमहल, डिलु किराना पसल, ईश्वर खाजा घर, निर्दोष किराना पसल र होटल याक बेनी प्रालिमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक सहन्साकुमार मेहताले बताउनुभयो ।
चमेरे, राहुघाट र गलेश्वर बजार क्षेत्रका होटल तथा रेष्टुरेन्टहरु १३ र किराना पसल ५ गरी कुल १८ वटा होटल एवम् खाद्यान्न पसलहरुमा अनुगमन गरिएको मेहताले बताउनुभयो । अनुगमनको क्रममा केही होटल तथा रेष्टुरेन्ट र किराना पसलहरुमा अधिकांश पेयपदार्थहरु कोकाकोला, फेन्टा, क्यानबियर, बियरलगायत म्याद गुज्रेजका आद्य भेटिएको जानकारी दिनुभयो । होटल, रेष्टुरेन्ट र केही पसल दर्ता नगरिकन सञ्चालन गरिएको, म्याद सकिएका पेयपदार्थहरु बिक्री वितरण गरेको, म्याद सकिएका सामान पसलको टाँसीमा बिक्री गर्न राखेको, मूल्यसुची नटाँसको जस्ता कमीकमजोरीहरु पाइएको र त्यस्ता कमजोरीलाई सुधार गर्न निर्देशन दिइएको उहाँले बताउनुभएको छ ।
अनुगमनको क्रममा भेटिएका कमजोरीहरुलाई तत्काल सुधार गर्न र दर्ता नगरि सञ्चालन गरिएका फर्महरुलाई हप्ताभित्र कानुनअनुसार दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक मेहताले बताउनुभयो ।
अनुगमन टोलीले खाद्य स्वच्छता कायम गर्न पनि निर्देशन दिएको जनाएको छ । अनुगमनको क्रममा होटल तथा किराना पसलहरुबाट २२ हजार पाँचसय रुपियाँ बराबरको म्याद नाघेका पेयपदार्थहरु नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले जानकारी दिनुभयो ।