म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ मा ७ वटा ठूला गौरबका योजना कार्यान्वयनमा लैजान थालेको छ ।
बेनी नगरले चालु आर्थिक वर्षमा प्राथमिकता दिएका सडक, खानेपानी र विद्यालय भवन निर्माणका लागि सो योजनामा करिब ५ करोड रुपियाँ बराबर बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको पूर्वाधार शाखाका सव–इञ्जिनीयर चन्द्रबहादुर थापाले चालु आर्थिक वर्षमा नगरपालिकाभित्र सात वटा ठूला योजना सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो । नगरपालिकाले संघ तथा प्रदेश सरकारसँगको साझेदारीमा उक्त ठूला योजनाहरु सञ्चालनमा ल्याएको हो ।
सडकतर्फका चारवटा ठूला योजनामा निर्माण व्यावसायी छनौंट भइ ठेक्का सम्झौता गरेर कार्यान्वयनमा प्रवेश गरेको उहाँको भनाइ छ । एउटा विद्यालय भवन निर्माण र दुईवटा खानेपानीका योजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता प्रक्रिया थालिएको पूर्वाधार शाखाका सब–इञ्जिनीयर थापाले जानकारी दिनुभयो ।
नगरपालिकाले दुई करोड बजेट विनियोजन गरेको बेनी–पाखापानी सडकअन्तर्गत वडा ६ अर्थुङ्गेस्थित गत वर्ष कालोपत्र गरिएको ठाउँदेखि अगाडी वडा ९ को सिमानासम्मको एक किलोमिटरको दूरीसम्म सडक ढलान, नाली, घुम्ती, ग्रेड सुधार र कलोपत्र गर्न श्रमजीवी निर्माण सेवासँग एक करोड ३४ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको छ ।
यो योजना कार्यान्वनयका लागि संघीय सरकारले समपुरक कोषमार्फत एक करोड रुपियाँ उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ८३ लाख ५० हजार रुपियाँ लागत अनुमान गरिएको महारानीथान–छापा–डाँडाखेत सडक योजना निर्माणका लागि श्रमजिवी निर्माण सेवासँगै ५९ लाख ५३ हजार रुपियाँमा ठेक्का लगाएको छ । यो योजनामा पर्खाल,नाली निर्माण गरी चारसय मिटर सडक कालोपत्र गरिनेछ ।
यसैगरी तल्लो डडुवा जाने सडक अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक योजनामा ढलान, नाली निर्माण, पर्खा र कालोपत्र गर्ने योजनाका लागि ८० लाखको लागत अनुमान गरिएकोमा ५९ लाख ५२ हजार रुपियाँमा श्रमजीवी निर्माण सेवासँगै ठेक्का सम्झौता गरिएको छ ।
नगरको आफ्नै बजेटबाट वडा ४ मा पर्ने माथिल्लो तातोपानी बजार कालोपत्र गर्ने योजनाका लागि ३२ लाख ९० हजार लागत अनुमान गरिएकोमा २५ लाख ६८ हजार रुपियाँमा ठेक्का सम्झौता भइ निर्माणको काम थालिएको नगरपालिकाका पूर्वाधार शाखाले जनाएको छ ।
संघीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत वडा ६ अर्थुङ्गेस्थित जामुनाखर्क माविमा एक तलाको चारकोठे भवन निर्माणका लागि एक करोड रुपियाँ लागत अनुमान गरिएको योजनाको ठेक्का मुल्याङ्कन गरी आशयको सूचना प्रकाशन गरी सम्झौताको चरणमा छ ।
संघको विशेष अनुदान मार्फत प्राप्त भएको बजेटबाट वडा नम्बर २ खबरा खानेपानी योजना संचालनका लागि ४० लाख लागत अनुमान गरिएको योजना सम्झौताको चरणमा रहेको छ ।
संघको विशेष अनुदान र नगरपालिकाको साझेदारीमा ९० लाख रुपियाँ लागत अनुमान गरिएको पुलाडाँडा पुरुन्डे खानेपानी योजनाको पनि आशयको सूचना प्रकाशन गरी निर्माण व्यवसायीसँग सम्झौताको चरणमा रहेको पूर्वाधार शाखाका सब–इञ्जिनीयर थापाले जानकारी दिनुभयो ।
साना योजनालाई उपभोक्ता समिति र ठूला योजनालाई ठेक्का मार्फत कार्यान्वयनमा लागिएको बताउँदै योजनाहरुलाई प्रभाबकारी र गुणस्तरीय बनाउन नगरपालिका जुटेको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो । गोरखापत्र अनलाइनबाट