जोमसोम : लगातार ४ वर्षदेखि ठप्प रहेको उत्तरी कोरलाको (नेचुङ—लिजी) नाका आजदेखि औपचारिक रुपमा बाह्रै महिनाका लागि खुल्ला भएको छ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको स्थानीय आवश्यकता र व्यापारिक कारोबार सञ्चालन गर्न चीन सरकारले मुस्ताङको कोरला नाका खुल्ला गरेको हो।
चिनियाँ पक्षले नाकामा कडा निगरानी गरेको छ।
कोभिड अघि कोरलाको तिब्बती भूमीमा अल्पकालीन व्यापार मेला लाग्ने भएपनि अब कोरलाको तिब्बती भूमीमा व्यापारी केन्द्र रहने जनाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमण गरेपछि कोरलाको ढोका उघ्रिएको हो। नाका औपचारिक रुपमा खुल्ला भएसंगै उपल्लो मुस्ताङबासीमा खुसीको रौनक छाएको छ।
उपल्लो मुस्ताङीका लागि कोरलानाका नियमित रुपमा खुल्ला गरिएको पहिलो दिनमा चीन पक्षले सीमा नाका प्रस्थान अनुमति पत्र र नागरिकताको आधारमा भेरीफाई गरी चिनियाँ भूमीमा प्रवेश गराएको थियो। मुस्ताङ प्रशासनले कोरलानाकाको सीमा प्रस्थान अनुमति पत्रका लागि पहिलो चरणमा उपल्लो मुस्ताङका ९८० जनालाई पास वितरण गरेको थियो।
कोरला नाका समुद्घाटन कार्यक्रममा चीन पक्षबाट काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन ,सहायक काउन्टी तहका सबै कार्यकर्ता, कस्टम्स भन्सार,सीमा निरीक्षण,परराष्ट्र मामिला कार्यालय जन सुरक्षा ब्यूरो,वाणिज्य ब्यूरो ,सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
यता नेपाल पक्षबाट संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावराणमन्त्री दिपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो।
कोरला नाकामा दुबै निकायको संयुक्त उपस्थितिमा विधिवत औपचारिक रुपमा कोरलानाका बिहान ११ बजे खुल्ला गरिएको थियो। कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिनमा सधै सुनसान जस्तै रहने कोरला नाका क्षेत्र व्यापारिक गुल्जार बनेको छ। उपल्लो मुस्ताङका नागरिकले चीनको भूमीमा पुगेर मालसामान खरिद गरी ढुवानी गर्न दर्जनौ ट्रक र ट्याक्टर लगेका थिए। कोरलानाकामा झन्डै ५ सय भन्दा बढी उपल्लो मुस्ताङी नागरिक पुगेका थिए।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सबैको सामुहिक प्रयासले (नेचुङ—लिजी) कोरला नाका खोल्न सफल भएको बताए। उनले नाका खुल्ला भएसंगै अब उपल्लो मुस्ताङीले व्यापारिक रुपमा व्यापार व्यवसाय गर्ने अवसर प्राप्त भएको उल्लेख गरे। लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले नेपाल—चीन कोरलानाका खुल्ला हुनु उपल्लो मुस्ताङका लागि अवसर र चुनौती दुबै भएको बताए। चीनले भरोसा गरेर खोलेका योनाका बाह्रै महिना खुल्ला हुने र यसले उपल्लो मुस्ताङका आवश्यकताहरु परिपूर्ति हुने जनाए।
उपल्लो मुस्ताङीका लागि कोरलानाका खुलेसँगै झन्डै १ लाख किलो राहत सामाग्री चीनले उपलब्ध गराएको छ।चीनले विभिन्न खाद्यान्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामाग्री राहत दिएको लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। अध्यक्ष गुरुङले मुस्ताङको कोरलानाका उपल्लो मुस्ताङीका लागि खुल्ला भएको यसले भोलीका दिनमा पूर्ण रुपमा नाका खोल्न टेवा पुग्ने विश्वास व्यक्त गरे।
चीनको तिब्बती बजारबाट उपल्लो मुस्ताङीहरुले खाद्यान्न,लत्ताकपडा, कस्मेटिक सामान,ईलेक्ट्रोनिक सामान,निर्माण सामाग्री,कृषि उपकरणका साथै भेडा च्यांग्रा आयाति हुन्छ। नेपालबाट पस्मिना, स्थानीय कृषि उत्पादन र यार्सा गुम्बाको निर्यात गरिन्छ। अन्नपुर्णपोष्ट अनलाइनबाट