काठमाडौं, १८ मंसिर-चिकित्सा शिक्षा र सेवामा सुधारको मागसहित २१ दिनदेखी अनसन गरिरहेका प्रा.डा.गोविन्द केसी र सरकारबीच शनिबार छैठौं दिनको वार्ता सकारात्मक भएर सहमतिको नजिक पुगेको छ ।
सरकारी र केसी प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा तयार गरीएको १२ बुँदे सहमतिपत्र शनिबार साँझ डा. केसीको सहमतिको लागि पठाइएको थियो । केसीले उक्त सहमतिपत्रमा थप केही सुधार हुनुपर्ने जनाए पछि पुन: यसको जानकारी सरकारी वार्ता टोलीलाई दिइएको छ ।
वार्तामा सलग्न चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले शनिवार राती कान्तिपुर संग भने, ‘सबै कुरा मिलिसक्यो उहाँले (डा.केसी) आइतबार बिहान साढे नौ बजे सहमति पत्रमा सहि गर्छु भन्नु भएको छ ।’
चिकित्सक संघका अध्यक्ष डा. श्रेष्ठका अनुसार १२ बुँदे सहमतिपत्र सुनेपछि केहि संशोधनसहित केसीले आइतबार अनसन तोड्ने जानकारी वार्ता समितिका प्रतिनिधिहरु डा. केदारभक्त माथेमा, चिकित्सक संघ टोली र आफ्नै वार्ता प्रतिनिधिहरुसँग बताएका हुन् ।
सरकारी वार्ता टोलीका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले वार्ताबाट १२ बुँदे सहमति पत्र तयार गरेर डा. केसी नजिक पठाइएको बताए । श्रेष्ठका अनुसार उक्त पत्रलाइ डा. केसीले पुन: संशोधन गरेर फिर्ता पठाएका छन् ।
‘उहाँबाट आएको संशोधित सहमतिपत्रमा केही कुरा पहिले आफैंले राखेका मागभन्दा बाहिरका आएको बुझिएको छ, हामी अहिले मिलेर त्यसैमा छलफल गर्देछौं’, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले शनिबार राति फोनमा भने ।
उनका अनुसार शिक्षामन्त्री डीआर पौडेल र स्वास्थ्य मन्त्री गगन थापा, नागरिक समाज, विश्वविद्यालयका प्राध्यापक र पूर्व डिनहरु, चिकित्सक संघको प्रतिनिधि र दुबै पक्षको वार्ताकार बसेर मागमा छलफल गरेर अन्तिम टुङ्गो लगाएर १२ बँुदे सहमति पत्र तयार गरेर पठाइएको थियो ।
त्रिवि उपकुलपति तिर्थ खनियाँको बर्खास्तगीको मागका सम्बन्धमा समिति बनाउने सहमति भएको छ । ‘उपकुलपतिसम्बन्धी मागका बारेमा केदारभक्त माथेमाको संयोजकत्वमा एउटा समिति गठन गर्ने र कार्यादेश दिएर गठित समितिका प्रतिवेदनका आधारमा निर्णय हुने सहमति भएको छ,’ चिकित्सक संघका अध्यक्ष डा. श्रेष्ठले भने ।
Previous Articleनेपाली वैज्ञानिकहरुको अभियान जापानमा
Next Article कविता-म चित्र बहादुर