काठमाडौं, १८ मंसिर- विश्वव्यापी भौतिक शास्त्रीय महाअभियानका रुपमा नेपालबाट थालिएको भौतिक शास्त्र पुनर्निर्माण अभियान’को जापान सम्पर्क समिति गठन भएको छ । देशका विभिन्न जिल्लाहरुमा रहेका विश्वविद्यालय, कलेज, विद्यालय, पुस्तकालय, प्रयोगशाला, अनुसन्धानकेन्द्र आदिमा केही वर्षयता निरन्तर रुपमा कार्यक्रम गर्दै आएको अभियानले जापान सम्पर्क समिति मार्फत् जापानका विभिन्न शिक्षण संस्थाहरुमा भौतिक शास्त्रसम्बन्धि सचेतना, प्रवचन र परीक्षणहरु प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
उक्त समितिका संयोजकमा कृष्ण सुवेदी रहेका छन् भने सदस्यहरुमा प्रकाश श्रेष्ठ, रमेश कार्की, विकास सुवेदी र भरत केसी रहेका छन् । नेपालका केही भौतिक शास्त्री, प्राध्यापक तथा विशेषज्ञहरुको रायसुझावलाई शिरोपर गर्दै केही वर्षअघि थालिएको उक्त अभियानका केन्द्रिय अध्यक्षमा हाल भविन्द्र कुँवर रहेका छन् ।
उक्त अभियानले हालसम्म दर्जनौँ भौतिक शास्त्र प्रवचन कार्यक्रम, परीक्षण र सचेतनामूलक कार्यक्रमहरु अघि बढाउँदै आएको छ । नेपालभित्र काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुगं, म्याग्दी, पर्वत, चितवन आदि जिल्लाहरुमा समेत यस अभियानसँग सम्बन्धित कार्यक्रमहरु गरिएको कुरा केन्द्रिय महासचिव नवीन भावुकले वताए ।
विज्ञानमा परीक्षणात्मक पक्षलाई विशेष जोड दिने उद्देश्यले सजिला र प्राप्य सामग्रीको प्रयोगबाट परीक्षणहरु प्रदर्शन गर्ने र सोको परिणाम सहभागीहरुले सहज रुपमा बोध गर्ने गरी उक्त अभियानले कार्यक्रम गर्दै आएको छ । यस क्रममा त्रिभुवन विश्वविद्यलय, काठमाडौँ विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट, काठमाडौँ मोडेल कलेज, युनिभर्सल उच्च माध्यमिक विद्यालय, हेराल्ड इन्टरनेशनल कलेज, युनाइटेड स्कलर्स एकेडेमी लगाएत देशका दर्जनौँ शिक्षण संस्थाहरुमा परीक्षणहरु सफलतापूर्वक सम्पन्न गरिएको छ ।
अध्यापनका क्रमका कोर्सको भारका कारण प्रयोगात्मक परीक्षणहरुलाई समय दिन नसकिने बाध्यताका बीच यस खालका कार्यक्रमहरु निकै उपलब्धिपूर्ण हुने प्रतिक्रिया उपस्थित सहभागीहरुको रहेको छ ।
भौतिक शास्त्र पुनर्निर्माण अभियान केही वर्षअघि थालिएको एक विश्वव्यापी भौतिक शास्त्रीय अभियान हो । यस अभियान र यसका क्रियाकलापहरुमा नेपाल, भारत, चीन, पाकिस्तान, अमेरिका, नाइजेरिया, बेलायत, साउदी अरब, फिलिपिन्स, बर्मा, भुटान, बंगलादेश आदि विभिन्न देशका भौतिक शास्त्री, गणितज्ञ तथा विज्ञानप्रेमिहरुको चासो बढ्दै गएको देखिन्छ ।
यस अभियानले विज्ञानमा प्रयोगले मात्र सत्यता जाँच्न सक्छ भन्ने मूल उद्देश्यका साथ यस खालका कार्यक्रमहरु अगाडि बढाउँदै आएको छ । प्रमाणित आधार भएका नेपाली तथा विदेशी खोजकर्ताहरुका नयाँ खोजहरुलाई अग्रसारण गर्ने मूल उद्देश्यका साथ यस वैज्ञानिक अभियान अघि बढेको छ ।
नेपालको विज्ञानको स्थिति सन्तोषजनक नभएको परिप्रेक्ष्यमा विज्ञान शिक्षाका क्षेत्रमा अभियानले झण्डै दशकअघिदेखि अघि बढाएका क्रियाकलापहरु र परीक्षणहरुलाई विषय विशेषज्ञ, विज्ञान मन्त्रालय र शिक्षा मन्त्रालयले पनि यस खालका क्रियाकलापहरुलाई प्रोत्साहन गर्दै आएका छन् । अभियानका क्रियाकलापहरुबाट स्वदेशी तथा विदेशी विज्ञानप्रेमिहरुको चासो बढ्दै गएको छ ।
शास्त्र पुनर्निर्माण अभियानका विश्वव्यापी क्रियाकलापहरुलाई जापानमा समेत अगाडि बढाउनका लागि जापानमा सम्पर्क समिति गठन गरिएको हो ।नेपालमै छँदा अभियानका परीक्षण कार्यक्रमहरुमा सक्रिय भूमिका निर्वाह गरेका अभियन्ता र जापानमै रहँदा पनि सद्भाव व्यक्त गरिरहने सक्रिय र जिम्मेवार सदस्यहरु उक्त समितिमा रहेकाले जापान सम्पर्क समितिले विश्वमा एक नयाँ पहिचान स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास लिएको अध्यक्ष कुँवरले बताए ।
Previous Articleराष्ट्रपति भण्डारीले बोलाइन सर्वदलीय बैठक
Next Article सहमतिको मस्यौदामा डा. केसीले गरे संशोधनकाे माग