फूलमान वल
टन्टलापुर घाम । रातमाटे जंगलको निर्जन र ठाडे उकालो । सिरानी गाउँका रैथानेहरू पनि यो उकालो भनेपछि तल दोभानको ठूलो ढुंगामा पाइला नराख्दै मास्तिर हेरेर आङ सिरिंग पार्छन् र ज्यान फतक्क गलेको अनुभूति गर्छन् । त्यसमाथि गृष्मकालीन यामको प्रचण्ड घामसँग जुधेर उकालो चढ्नु भनेको आगोको भुंग्रोमा पैताला राख्नुजत्तिकै हुन्छ । मानिसहरू त्यस क्षणलाई दन्त्यकथामा यमराजको यातना गृहभित्र भयंकर पाशविकता खेपिरहेझैं अनुभूत गर्छन् ।
पहिले-पहिले तोक्माले भारी अड्याउँदै तर्तरी पसिना चुहाएर यो उकालो उक्लिनेहरूको एउटा गजबकै लर्को लाग्थ्यो । अब त त्यस्तो लर्को हजुरबाले आँगनमा घाम ताप्दै नाति-नातिनालाई सुनाउने आफ्नो युगको कथा मात्र बन्न सक्छ । यद्यपि अहिले पनि बर्खामा बाढीले छेक्दा र गृष्मयाममा घामले पोल्दाबाहेकको बखत फाट्टफुट्ट तोक्माधारी भरियाहरू भेट्न पाइन्छन्, यो उकालोमा । तर, घनघोर बन्दै गएको जंगल र असुरक्षित हुँदै गएको समयका कारण बटुवाहरू यो उकालोमा हमेशा एक्लै हिँड्न चाहँदैनन् ।
आज कम्ब्याट ड्रेस लगाएका पाँच युवती र दुई युवक आङभरि उकुसमुकुस गर्मी बोकेर यही उकालो उक्लिरहेका छन् । मध्याह्नको चकमन्नता, घामको चरम उष्णता र जंगलको अस्वाभाविक निर्जनतासँग अभ्यस्त हुँदै उनीहरू अविराम लम्किरहेका छन् । उनीहरूका गोडा मेसिनका फित्ता घुमेझैं एकतमास घुमिरहेका छन् ।
नजिकै खोल्साबाट फागुखोला बगिरहेको छ एकतमास । त्यही फागुखोला साङ्ले छाँगाको छंगाछुर पहरोबाट वेगवान् गतिले तल हाम्फाल्दा आउने निरन्तर छङ्छङ्बाहेक उनीहरूको कानमा अरू कुनै आवाज छैन । मध्याह्नको चकमन्नताले हावालाई स्वात्तै निलिदिँदा गोब्रे सल्लाका ठूलठूला रूखहरू यस्तो स्थिर र शान्त भएका छन् कि मानौं, पृथ्वी आफ्नो कक्षमा एक छिन घुम्न छोडेर टक्क अडिएको छ ।
निरन्तरको ठाडो उकालो र त्यसपछि नागबेली तीनघुम्ती पार गरेर माथि जामुनको रूखमुनि पुग्दासम्म पनि बाटोमा उनीहरूको कसैसँग भेट भएन । दुई युवकको निम्ति यो उकालो बिरानो नभए तापनि फौजी टोलीका पाँच युवतीलाई भने यो एक प्रकारको सास्ती नै थियो । उनीहरूलाई जंगलको एकतमास निर्जनताले अत्यासलाग्दो बनाउँदै लगिरहेको थियो । यसकारणले कि आँखा तन्काएर हेर्दा पनि सिरानी गाउँको फाट्टफुट्ट घरबाहेक अरू केही नदेखिने त्यो नीरव जंगल मुर्दाजस्तै पल्टिएर सुतिरहेको थियो ।
सशस्त्र प्रहरीमा भर्ती भएका महिलाको यो टोली सायद पहिलो थियो । ६ महिनाअघि तालिम केन्द्रमा भर्ना भएका नौ जनामध्ये चार जना तालिम लिँदालिँदै भागिसकेका थिए । इन्स्पेक्टर रश्मिलाको यो टोली अक्सर सहज कार्यक्षेत्रमा मात्रै खटाइन्थ्यो । तर, युद्धविरामको सहज परिस्थिति र महिला जवानहरूको जिद्दीका कारण इन्स्पेक्टर रणवीर आज यो टोली लिएर सिरानी गाउँको गस्तीका निम्ति उकालो चढिरहेको छ ।’ऊ…त्याँ हेर त, पोहोरसाल वैशाखाँ हामी एम्बुसमा परी घाइते भा’को ठाउँ त्यही हो ।’, जामुनको रूखमुनि शीतलमा बस्दै
रणवीरले माथिल्लो घुम्तीतर्फ औंल्याएर भन्यो । हठात् सबैले अनुहारलाई रणवीरको औंला सीधा घुम्तीतर्फ फर्काए । त्यहाँ पत्रे-ढुंगाहरू असरल्ल छरिरहेका थिए ।
‘सर, मलाई त डर लागिरहेछ ।’, अचानक शशिकला बोली ।
‘फेरि यिनीहरूले एम्बुस पनि त थाप्न सक्छन् ।’, सातजनाको सशस्त्र मण्डलीभित्रबाट कसैको सुस्त आवाज आयो ।
रणवीरले सबैको अनुहारमा एकैपल्ट डरलाग्दो दृष्टि फाल्यो । तत्काल उसको अनुहारको भाव परिवर्तन भयो र पच्चीसवर्षे तन्नेरी अनुहारमा साहस र वीरताको सहस्र भाव दगुर्यो ।
‘तिमेरुलाई था’छ, यो युद्धविरामको बेला हो र हामी गस्तीमा हिँडिरहेका छौं । मुटुलाई दह्रो बनाओ । जसरी पनि आज सिरानी गाउँ पुगेर फर्किनुपर्छ ।’, रणवीरले आदेशको लवजमा अन्तिम फैसला सुनाएझैं गर्यो ।
सबैले अनुहारलाई भुइँपट्टि फर्काए । वरिपरिका रूखहरूबाट उडेर आएका सल्लेवीरहरूले भुइँ छपक्कै थियो तर शशिकलाको अनुहार भुइँपट्टि फर्केन । उनका आँखाहरू तेज गतिमा रणवीरको अनुहारमा गएर ठोकिए । आगोको लप्का निस्केलाझैं लाग्ने उनका आँखा देखेर रणवीर झस्कियो । यसकारण कि उनको यो हेराइ अहिलेसम्मको सहकार्यमा पहिलो र अनौठो थियो ।
‘भन, तिम्लाई के भयो ? ‘
‘सर, असाध्यै तिर्खा लागिरे’छ ।’
‘अलि माथि गएर खाउँला, यो जंगलमा धेरै बेर रोकिनु बुद्धिमानी हुँदैन ।’
सबैजना एकैपटक जर्याकजुरुक उठे र नेतृत्व गर्दै रणवीर अगाडि बढ्यो । तर, उसको मनलाई जिज्ञासाको मुस्लोले छोप्दै लग्यो । एकै छिनअघि शशिकलाको अनुहारमा देखिएको अनपेक्षित भावले उसलाई भित्रभित्रै डरलाग्दो बनाएको थियो । उमेरको हिसाबले भन्ने हो भने शशिकलाको अनुहारमा अविच्छिन्न जोश, जाँगर र रतिरागको रुमानी मुस्कुराहट नाचिरहनुपर्ने हो । अचम्म ! उनको अनुहारमा त शिथिलता, घृणा र तीव्र आक्रोश मिसिएको अनौठो भाव पो व्यक्त भइहरेको थियो ।
सशस्त्र फौजमा भर्ना हुनुअघि ऊ गाउँकै प्राथमिक स्कुलकी शिक्षिका थिई । अझ त्यसभन्दा अघि ऊ गाउँबाट एसएलसी पास गर्ने पहिलो छात्रा र त्यसपछिको पाँच वर्षचाहिँ क्याम्पस पढ्ने सहरी हाउभाउसहितकी सम्मोहित युवती ।
यौवनको कटमिरोता भनौं या बढ्दै गएको आक्रामक सहरी सभ्यता । कलेज पढ्दाको दिनहरूमा शशिकलालाई कसैले पनि गाउँकी युवती हो भनेर अड्कल लाउन सक्दैनथे । तर, निम्नवर्गीय परिवारमा हुर्केकी शशिकलाको कलेजका अन्तिम दिनहरू भने अत्यन्त कष्टप्रद रहे । मुलुकको सीपबिनाको शिक्षा र जागिरबिनाको जीवनले पनि उसलाई त्यो परिस्थितिमा पुर्याइदिएको थियो । त्यसमाथि प्रेम र जीवनसम्बन्धी उसको भ्रमले जीवनको खुड्किलोबाट निराशाको मैदानमा पछारिदियो । उसले जसलाई असल प्रेमीको नाममा सर्वस्व सुम्पी, त्यसो गरेर आफैंलाई धोका दिई र अन्ततः जीवनको रामराज्यबाट ऊ नराम्ररी पराजित भई ।
त्यसपछि जीवनदेखि विरक्तिएर ऊ गाउँ फर्की । लगत्तै मन बहलाउन गाउँकै स्कुलमा शिक्षिका भई ।
त्यसपछि मात्रै उसले जीवनलाई नजिकबाट नियाली । स्कुलको आँगनमा धुलिमाटी भई खेलिरहेका स-साना बच्चाहरूलाई जीवनको पाठ सिकाउन पाउँदा र गाउँका अनपढ बुढ्यौली अनुहारहरूसँग टुकी बाल्दै अक्षर खेलाउन पाउँदा ऊ आपूmलाई निकै गौरवान्वित महसुस गर्थी । अक्सर ऊ त्यतिबेला ‘गाउँमा किन ढिला फर्किछु ? ‘ भन्ने सोचाइमा हराउँदै कलेजका अनुत्पादक दिनहरू सम्झेर पछुताउने गर्थी ।
गाउँको अवस्था बिस्तारै बिग्रिँदै गयो । उसले पढाउने स्कुलको हेडमास्टर तीनपल्ट अपहरणमा परे र करिब तीन महिना जति त स्कुलै बन्द भयो । सरकारी सुरक्षाफौजको पनि आँखाको तारो शिक्षकहरू नै बने । कहिलेकाहीँ त गाउँमा सरकारी सुरक्षाफौजको लुटपाट नै चल्थ्यो । अनाहकमा धेरैले उनीहरूबाट चुटिनुपथ्र्यो । विद्रोहीहरूलाई चन्दा र सेल्टर दिएको भन्ने उनीहरूलाई खास आरोप लाग्थ्यो ।
दिनहरू यसरी नै बितेर गए ।
यो बीचमा गाउँको हालत दु्रतगतिमा अस्वाभाविक बन्दै गयो । निर्भयताका साथ गाउँमा रहने र स्वच्छन्द जीवन डोर्याउने बाटाहरूमा असंख्य काँडाहरू उम्रिन थाले । हप्ताको एक दिनको तलब लेबी बुझाउनुपर्ने र आवश्यक पर्दा सुरक्षित सेल्टर दिनुपर्ने जागिरेहरूको नियति नै बन्न थाल्यो । यो, शशिकलाको ग्रामीण जीवन भोगाइप्रतिको अर्को कटु अनुभूति थियो ।
एक दिन अचानक शशिकला गाउँबाट हराई । त्यसभन्दा अगाडि नै उसको जीवनबाट ममतामयी आमाले हात हल्लाइसकेकी थिइन् र बुढ्यौलीले छोपेको उसको बुबाको शिथिल अनुहारमा दुःखका रेखाहरू बेस्सरी गड्दै गइरहेका थिए ।
त्यसपछि जीवन भोगाइको तेइसौं शिशिर बेहोर्दै गरेकी शशिकला अत्यन्तै मिल्ने तीनजना संगिनीहरूका साथ सशस्त्र तालिम केन्द्रमा देखा परी । हो, त्यही शशिकला आज सिरानी गाउँको गस्तीको निम्ति इन्स्पेक्टर रणवीरको पछिपछि रातमाटेको उकालोमा घामको प्रचण्ड तापसँगै जुध्दै छे ।
‘सर, अब मरिन्छ क्यारे !’
तिर्खाले व्याकुल बनेकी शशिकलाले सालको पात हम्काउँदै भनी ।
रणवीरले सबैको अनुहार नियाल्यो । सबै अनुहारले शशिकलाको भनाइप्रति मौन स्वीकृति दिए । त्यतिन्जेल उनीहरू सातघुम्ती पार गरेर माथि पुगिसकेका थिए । सल्लाका बडेमान रूखहरू छाडेर सालको घना जंगल हुँदै अगाडि बढिरहेका उनीहरू अर्को ठूलो जामुनको रूखमुनि गएर सुस्ताए । नजिकै फागुखोला छङ्छङ् गरिरहेको थियो ।
एकै छिन नसुस्ताइकन हतार-हतार शशिकलाको साथ लागेर तीनजना युवतीहरू काटेर पलाएका सालका स-सना बुट्यान हुँदै फागुखोलातर्फ हानिए । अरू जवानहरू भने नजिकै जामुनको रूखमुनि एकै छिन सुस्ताउने मनसुवाले सालको पात हल्लाउँदै बेवारिस पल्टे ।
पानी खाइवरी अनुहार पखाल्न अञ्जुलीभरि पानी उठाउँदै गर्दा शशिकला यस्तरी झस्किई कि केही माथिको चुलीडाँडाबाट कम्ब्याट ड्रेस लगाएका युवतीहरू उनीहरूतिर निशाना दागिरहेका थिए । उसले स्पष्ट चिनी कि निशाना दागिरहेका तीनजनामध्ये एउटी उसकै विनयी बालसखी सुम्निमा थिई ।
शशिकलाले सतर्क हुँदै आफ्ना साथीहरूतर्फ फर्केर हेरी । उनीहरू बन्दुक ढुङ्गामाथि राखेर हातगोडा पखालिरहेका थिए । तर, उसले आफ्ना प्रहरी जवान साथीहरूलाई नजिकै आइरहेको भीमकाय संकटको बारेमा जनाउसम्म दिन चाहिन । न त उसका हातहरू स्वचालितरूपमा बन्दुकतर्फ नै अघि बढे ।
ऊ विस्मित भई उभिरही ।
एकाएक उसका आँखा चुलीमा झाडीको सहारामा उभिरहेकी सुम्निमाको आँखासँग जुध्न पुगे । नीलो गल्फक्यापमा पाँचकुने तारा चम्किरहेको प्रिय बालसखीको अनुहारभित्र उसले आफ्नै चित्र देखी । आठ कक्षासम्म सँगै पढेकी सुम्निमाले आर्थिक अभावका कारण पढाइ छाडेकी थिई । सधैं कक्षामा प्रथम र दोस्रो हुने यी बालसखीहरू एकले अर्कालाई मन साट्न नपाएको थाहै नपाई पाँच वर्ष बितिसकेछन् । कलेज सिध्याएर फर्किंदा सुम्निमा जंगल पसिसकेकी थिई ।
‘एइ ! शशि, कहिलेबाट लागिस् यो बन्दुक बोक्ने काममा ? ‘, कताकता उसलाई सुम्निमाले झाडीबाट चिच्याएर कराएझैं लाग्यो ।
‘गाउँमा त तिमेरुले बसिखान द्या भए पो त हाउ ।’ उसले मनमनै उत्तर दिएझैँ ठानी ।
‘आम्मई, बन्दुक बोक्दा त कस्ती राम्री देखेकी नि हौ यावा ! लु भन् त, के म पनि तँजस्तै स्वा’की छु ।’, सुम्निमाको स्वरझैं उसको कानमा गुन्जियो ।
‘अहो, सुमी ! तँ त झन् स्वा’की छेस् । हेर न, कलेज पढ्न गए’सि तँसँग भेटै भएन ।’, शशिकलाले आफ्नो मनको कुरा सुनाएको झैं सम्झी, ‘सम्झ त सुमी, हामी सिम्ले पँधेराँ पानी लिन जाँदा चेपागाँडालाई माछा भन्ठान्थिस् हगि ? ‘
‘के गर्ने त हाउ, आफू त पढ्न सकिएन ।’, शशिकलालाई सुम्निमाको निन्याउरो अनुहार उसकै सामुन्ने प्रकट भएझैं लाग्यो ।
छ्याप्पछ्याप्प पानी चलिरहेको आवाजले साथीहरू अझै हातगोडा धोइरहेका छन् भन्ने बताइरहेको थियो । शशिकला भने माथि चुलीतिर फर्केर एकतमास टोलाइरहेकी थिई । तर अचानक माथि चुलीबाट उनीहरूतिर सोझिरहेका बन्दुकहरू गायब भए ।
एकाएक शशिकलालाई पिठौलीको झाडीभित्रबाट सुम्निमाले चियाएर हेरिरहेको झैं लाग्यो । र, उसले लामो समयपछि भेट भएको आफ्नो संगिनीको किराँत अनुहारबाट माया र सद्भावको आँसु बगिरहेको कल्पना गरी । त्यतिन्जेल उसका आँखा पनि आँसुले भिजिसकेका थिए ।
मनमा उर्लिरहेका बेगिन्ती बहलाई रोक्न नसकी शशिकला दौडिँदै पानीछेउ पुगी र अनुहारभरि पानी छ्यापी । ठीक त्यहीबेला अचानक एउटा विस्फोटको आवाज आयो । हतार-हतार आवाज आएको दिशातर्फ शशिकलाका साथीहरूले बन्दुक सोझ्याए । उसले पनि जबर्जस्ती बन्दुक सोझ्याएझैं गरी तर आकाशमा उडिरहेको धुवाँको मुस्लोबाहेक चुलीमा केही पनि देखिएन । चुलीमा एक प्रकारको नीरवता छायो ।
एकै छिनपछि रणवीरको नेतृत्वमा तीनजनाको टोली पनि बन्दुक सोझ्याउँदै देखापर्यो । लगत्तै युद्धविरामको समय भएकाले प्रतीरक्षात्मक रूपमा पछाडि हट्न कमान्डर रणवीरको आदेश आयो र सबै जना चुलीडाँडातर्फ बन्दुक सोझ्याउँदै सजगताका साथ जामुनको रूखतर्फ पछाडि हटे । आकाशमा अझै धुवाँ उडिरहेको थियो ।
गस्तीबाट फर्केपछि शशिकलालाई अलिनो अनुभूति भयो ।
साँझपख ऊ तालिम केन्द्रको हरियो भवनमाथि गई अबेरसम्म टोलाइरही । उसले त्यो साँझ खाना पनि खाइन । उसको टाउको बेस्सरी दुखिरहेको थियो । साँझ अबेर इन्स्पेक्टर रश्मिलाको निर्देशनमा महिला स्वास्थ्य टोली शशिकलाको जाँचको निम्ति आइपुग्यो । उसको शरीर अस्वाभाविकरूपमा तातिरहेको थियो ।
भोलिपल्ट अस्वस्थताको कारण देखाएर ऊ गस्ती र तालिम दुवैमा गइन । दिनभरि ओछ्यानमा पल्टिरहँदा उसको मथिंगलमा सुम्निमाबारे अनगिन्ती सोचाइहरू आए ।
‘कस्ती सोझी र विनयी थिई सुम्निमा ! के उसले विवाह गरिहोली ? मोरी ! सानैमा घट्ट जाँदा लाहुरेसँग मात्रै विवाह गर्छु भन्थी । अहो ! समयले किन हाम्लाई विपरीत ध्रुवमा उभ्यायो ? ‘
अहँ, उत्तर कहीँ पनि थिएन ।
सिर्रसिर्र हावा चल्न सुरु गरेको त्यो साँझ आफूलाई सहज बनाउन ऊ तालिम भवनको छतमा गई । घाम डाँडापछाडि डुबेर बादलको अनुहारमा निन्याउरो याचना गरिरहेको थियो ।
‘खबरदार !’
सेन्ट्रीको कर्कश आवाज हावाले बत्याउँदै उसको कानसम्म ल्याइपुर्यायो र साथमा सेन्ट्रीलाई साथ दिइरहेको कुकुरको चर्को भुकाइ पनि । तर, उसलाई केहीको पर्वाह थिएन । ऊ हातमा सानो एफएम रेडियो लिएर यताउति टहलिरही । चिसो उत्तरी हावा बेजोडसँग चल्न सुरु गर्दै थियो ।
समाचारको धुन बज्नेबित्तिकै उसले रेडियोलाई दायाँबाट बायाँ ढल्काई । तालिम केन्द्रपारिको डाँडाले कहिलेकाहीँ फ्रिक्वेन्सीमा असर पुर्याउँथ्यो ।
समाचारका लागि ऊ जिज्ञासु र शान्त भई ।
अस्वस्थताले शुष्क बनाएको उसको अनुहार क्लान्त देखियो । तर, जब एकाएक रेडियो नेपालबाट समाचार आयो, त्यसले उसको अनुहारमा भुइँचालो ल्याइदियो । ऊ अचानक अवाक् बनी । मानौं, रेडियो भयंकर आसुरी गर्जन गर्जिरहेको छ ।
‘सुरक्षाफौजलाई लक्षित गरी प्रहार गर्न खोजेको ग्रिनेड हातैमा विस्फोट हुँदा सिरानी गाउँ इलाकाको रातामाटे जंगलमा आक्रमणकारी सुम्निमा राईको मृत्यु भएको समाचार छ ।’
हठात् शशिकलाको हातबाट रेडियो भुइँमा खस्यो । थर्थर काँपिरहेको हात अघि बढाउँदै उसले रेडियोलाई समात्न खोजी । उफ् ! रेडियो त झन् भयंकर राक्षसी गर्जन गर्जिंदै थियो । एकाएक उसलाई पीडाको पहाडले थिचेझैं भयो । उसका गालाबाट बर्बर्ती झरेका आँसुका थोपाहरूमा सुम्निमाको मायालु अनुहार छचल्कियो ।
‘सुम्निमा ऽऽऽ !’, ऊ बेस्सरी चिच्याई ।
उसलाई लाग्यो कि उसको चिच्याहट डाँडाकाँडा हुँदै माथि बादलसम्म पुगेको छ । घामले पोलेको निन्याउरो बादलमा सुम्निमाको चेहरा एकाकार भएझैं लाग्यो । उसले सोची कि त्यो बादलको अनुहारभित्रबाट सुम्निमाले रोएर भन्दै छे, ‘तँ पनि हार्ने, म पनि हार्ने, कस्तो लडाइँ लड्दै छौं हगि शशि हामीले ? ‘
शशिकला रोइरही ।
नागरिक
Previous Articleराप्रपा र राप्रपा नेपालको एकीकरण
Next Article प्रधानमन्त्री प्रचण्डले भने-अब चुनाव गरिन्छ