काठमाडौं, १८ मंसिर-त्रिवि चिकित्साशास्त्रका डिन डा. केपी सिंहले राजीनामा दिए पनि प्रा. डा. गोविन्द केसीले अनशन जारी राखेका छन् । केसी पक्ष र सरकारी वार्ताटोलीबीच शुक्रबार राति १ बजेसम्म वार्ता भएको थियो । तर, थप वार्ता गर्ने सहमतिबाहेक अन्य सहमति हुन सकेन ।
सरकार र डा. केसीसमर्थक वार्ता टोलीको सिंहदरबारमा बसेको बैठकले शुक्रबार साँझ सहमतिको मस्यौदा तयार गरेको थियो । आइओएमको डिन तीन दिनभित्र नियुक्त गर्ने र त्रिविका उपकुलपतिबारे उच्चस्तरीय कमिटी गठन गरी प्रक्रियागत त्रुटि छ भने त्यसको प्रतिवेदन पेस गर्ने गरी समिति गठन गर्ने मस्यौदा तयार गरेको थियो ।
मस्यौदा बोकेर राति ११ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेको दुईपक्षीय टोलीले डा. केसीलाई मनाउन कोसिस गरेको थियो । तर, उनले उपकुलपति तीर्थ खनियाँको राजीनामालाई नै बटमलाइन बनाएपछि वार्ताटोली सिंहदरबार फर्कियो ।
सिंहदरबारमा पनि १ बजेसम्म छलफल भएको थियो । तर, कुनै पनि बुँदामा सहमति नभएपछि पुनः शनिबार वार्तामा बस्ने गरी टुंगिएको डा. केसीका सहयोगी जीवन क्षेत्रीले बताए । नयाँ पत्रिका
Previous Articleदिल्लीमा भएको १२ बुँदे दुर्भाग्यपुर्ण-बाबुराम
Next Article युद्ध संस्मरण : जाजरकोटको एक महिने यात्रा