६ महिना चिसोले पिरोल्छ । बाँकी छ महिना पनि पहाडमा बर्खा लाग्दा हिमालको बाटो बाढी, पहिरो र भूक्षयले मासिन्छ । दुःख र दर्दहरु धेरै छन् हिमालपारी । अवसर र सम्भावनाको पनि त कमी छैन् ।
हिमालपारीको जिल्ला मुस्ताङका प्रशासनिक निकायहरुमा रहरले काम गर्न जानेहरु निकै कम हुन्छन् । भुगोलको बिकटता र मौसमको प्रतिकुलताले हिमालपारी काम गर्न रुचाउनेहरु कम भएका हुन् । तर, केही यस्ता राष्ट्रसेवक पनि पाईन्छन् जसले हिमालपारी जाने रहर गर्छन् । हिमालपारीको जनजिवीका पढ्ने, बुझ्ने भोग्ने भोक राख्छन् । सेवा भाव राख्छन् । यस्तै राष्ट्रसेवक मध्येका एक हुन् थासाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदी ।
हिमाली जिल्ला म्याग्दीमा जन्मेका सुवेदीले बाल्यकालदेखिनै हिमाली जनजिवकाको बिषय धेरथोर बुझे । म्याग्दीको बेनी नगरपालिका–६ (साविकको अर्थुङ्गे गाविस वडा नं. ४) जामुनाखर्कमा जन्मेका सुवेदीले माध्यमिक शिक्षा गाउँमै आर्जन गरे । विद्यालय जाँदा होस् वा मेलापात र पाखा पखेरा हिमालपारीबाट आउनेहरुसँग उनको भेटघाट हुन्थ्यो । हिउँदको चिसो छल्न पहाड झरेका हुन वा पेशा व्यवसायका लागि हिमालपारीबाट झरेका हुन् । सुवेदीले उनीहरुको दैनिकी बाल्यकालमै बुझे । हिमालपारीका मान्छेहरुसँग काम गर्ने इच्छा राखेका सुवेदी रहरले मुस्ताङ पुगेका हुन् । अहिले उनको जागिरे जीवन हिमालपारी बसेरै बितीरहेको छ ।
२०६९ सालमा खरिदारबाट सेवा प्रवेश गरेका सुवेदी पहिलो पटक आफ्नै गृहजिल्ला म्याग्दीको गलेश्वर इलाका हुलाकमा हाजिर भए । एक वर्ष ६ महिना खरिदार भएका सुवेदीले खुल्ला प्रतिस्पर्धाबाटै नायव सुव्वा (नासु)मा नाम निकाले । लोकसेवा पास गर्न माहिर सुवेदी नासुको जागिरकै लागि बुटलवमा रहेको तत्कालिन पुनरावेदन अदालत हाँजिर भए । दुई वर्ष अदालतमा काम गर्दासम्म उनले मास्टर डिग्री र व्याचलर इन ल पास गरिसकेका थिए । त्यसपछि उनी बिषेश अदालत काठमाण्डौं सरुवा भए । फेरी लोक सेवाको भोक जाग्यो र शाखा अधिकृतमा लडे । २०७५ साल कात्तिक ४ गते शाखा अधिकृतमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकालेका सुवेदी दुर्गममा काम गर्न चाहन्थे । तर, लोकसेवाले उनलाई राजधानीको सुविधासम्पन्न ललितपुर महानगरपालिका पठायो ।
‘म बढुवा कुरेर बसिन, खुल्ला प्रतियोगिताबाटै शाखा अधिकृत भएको हुँ’ सुवेदी भन्छन् ‘अझै एक दुई पटक खुल्ला प्रतिस्पर्धा गर्ने हो ।’ तीन पदका लागि तिनपटक लोकसेवा पास गरेका सुवेदीको लोकसेवाको अनुभव मात्रै होईन्, जनजिविकाका सवाल र जनसेवाको चाह पनि राम्रो छ । ललितपुर जानुअघिनै भुगोलले दुर्गम रहेका ठाउँमा सेवा गर्ने इच्छा राखेका सुवेदीले त्यतिबेला मुस्ताङ जाने अवसर पाए जतिबेला सामान्य प्रशासन मन्त्रालयले कार्यालय रोज्न दियो ।
‘मेरो घर म्याग्दी, मुस्ताङ मलाई पायक पनि पर्ने र काम गर्न पनि सजिलो, त्यसैले मुस्ताङ रोजेँ’ सुवेदी भन्छन् ‘धेरैले दुर्गम रोज्दैनन्, त्यसैले मैले रोजेकै र खोजेकै ठाउँ पाएँ ।’ सुविधासम्पन्न ललितपुर छोडेर थासाङ पुगेका सुवेदी कहिल्यै पश्चातापमा छैनन् । सुवेदीले भुगोलको कठिनाइभन्दा मुस्ताङीहरुको बोलीचाली, व्यवहार र काम गर्न सघाउने तौरतरिका बिर्सिनै नसकिने खालको रहेको बताउँछन् ।
‘हामी प्रशासनिक काम गर्ने मान्छे, वातावरण भयो भने कयौं काम गर्न सकिन्छ,’ सुवेदी भन्छन् ‘सरकारले खटाएका ठाउँमा त जानै पर्छ तर मैले मागेर मुस्ताङ छोडेर जाने विषय सोचेको छैन् ।’ बढुवा र सुविधाका लागि अंक पु¥याउनका लागि मात्रै दुर्गम जानेहरुको भीडमा दुर्गमको कार्यक्षेत्र रोजेर कामका लागि जाने सुवेदी मुस्ताङका स्थानीय तहहरुमा उदाहरणीय कार्यालय प्रमुख हुन् ।
सुवेदीले थासाङमा सबै कर्मचारीलाई समान व्यवहार गरेर काम गर्छन् । उमेरले भर्खरै तीन दशक पार गरेका सुवेदीमा उर्जा छ । काम गर्ने इच्छाशक्ति छ । ‘मिलेर काम गर्ने हो भने, समस्या कहिँपनि हुँदैन्,’ सुवेदी भन्छन् ‘सेवा गर्न अझै धेरै समय बाँकी छ, सकेसम्म दुर्गममै बसेर सेवा गर्ने हो ।’ थासाङ गाउँपालिकाले ल्याएका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सुवेदीले क्रियाशिलताका साथ कार्यसम्पादन गरेका छन् । हिउँदभरी हिमपात र बर्खामा केही भू–भागमा वर्षाको समस्या पर्ने थासाङमा विकास निर्माणका काम कार्यान्वयन गर्न कठिन छ । तर सुवेदी नेतृत्वकको कर्मचारी संयन्त्रले थसाङमा कार्यक्रम कार्यान्वयनलाई ८० प्रतिशतभन्दा तल हुन दिएको छैन् ।