काठमाडौं, १७ मंसिर-माछा मार्ने जाली ल्याउने बहानामा विस्फोटक पदार्थ ओसारपसार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्युरो, झापा तथा संखुवासभा प्रहरीको संयुक्त अप्रेसनअन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा संखुवासभाका छिरिङ भोटे, फुर्वा भोटे र महेन्द्र राई भएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ६ सय ९ किलो जिलेटिन तथा २ सय स्टिक र ६ सय ४० मिटर डोनोटर बरामद गरेको छ ।
पश्चिम बंगालको सिलगुढीबाट केही दिनअघि भारतीय प्रहरीले तीन नेपालीलाई विस्फोटक पदार्थसहित पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पक्राउ परेका उनीहरूले सो विस्फोटक पदार्थ नेपाल पठाउन लागेको बताएका थिए । त्यसपछि त्यहाँको प्रहरीले अनुसन्धानमा खुलेका केही तथ्यसहित नेपाल प्रहरीलाई जानकारी गराएपछि नेपालमा सो विस्फोटक पदार्थ ल्याउनेहरू पक्राउ परेका हुन् ।
‘केही विस्फोटक पदार्थसहित संखुवासभामा तीनजना पक्राउ परेका छन्, उनीहरूसँग अन्य व्यक्ति पनि संलग्न भएको हुन सक्ने हाम्रो अनुमान छ, हामी उनीहरूको खोजी कार्यमा लागेका छौं,’ विशेष ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारीले भने । प्रहरीका अनुसार, पक्राउ परेका महेन्द्र राई स्थानीय सरस्वती माविका प्रधानाध्यापकसमेत हुन् ।
Previous Articleअनसनको १९ औं दिन पनि वार्ता निष्कर्षविहीन
Next Article त्रिदिवसीय खेलकुद कार्यक्रम शुरु