काठमाडौं, १७ मंसिर-डा. गोविन्द केसी चिकित्सा शिक्षामा व्याप्त बेथिति अन्त्यको माग राख्दै अनसन बसेको १९ दिन बित्दा पनि सरकार सुनुवाइ गर्न गम्भीर देखिएको छैन। केसीको बिग्रँदो स्वास्थ्य स्थिति विचार गरेर ‘अत्यन्तै लचिलो ढंगमा प्रस्तुत हुँदा’ पनि सरकारले गम्भीरता नदेखाएपछि शिक्षा मन्त्रालयमा बिहीबार अबेरसम्म भएको सहमति प्रयास निष्कर्षमा पुग्न सकेन।
डा. केसीले ‘सरकारको रवैयाले वार्ता औचित्यहीन’ भएको बताएका छन्। सरकार भुलाउने र गलाउने मनस्थितिमा लागेको उनले बताए। केसी तर्फबाट वार्तामा सहभागी जीवन क्षत्रीले सरकारी पक्षबाट जुन विषयमा सहमति गर्ने भनी वार्ता डाकिएको थियो, त्यसमा प्रवेश नै हुन नसकेपछि आफूहरू उठेर हिँडेको जानकारी दिए। वार्तामा डाक्दा सरकारी पक्षबाट दुईवटा प्रस्ताव अघि बढाइएको थियो।
पहिलो, डिन नियुक्तिका सम्बन्धमा मापदण्ड बनाउन गठित रमेशकान्त अधिकारी संयोजकत्वको समितिले प्रतिवेदन बुझाउने र त्यही मापदण्डका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नयाँ डिन नियुक्ति प्रक्रिया अघि बढाउने।
दोस्रो, नयाँ डिन नियुक्ति प्रक्रिया स्वीकार गर्दै केपी सिंहले राजीनामा दिई बाटो खुला गर्ने।
यी दुई बुँदामा छलफल गर्न भनी वार्ता डाकिए पनि राति अबेरसम्म विषय प्रवेश हुन नसकेको क्षत्रीले बताए। सरकार यो मुद्दा सल्टाएर केसीको अनसन तोडाउन गम्भीर नदेखिएपछि लगभग ११ बजे वार्तास्थलबाट उठेर हिँडेको उनले बताए।
‘उनीहरूले जुन कुरामा सहमति गर्छौं भनी वार्तामा डाकेका थिए, त्यति पनि नगर्ने छाँट देखाए,’ क्षत्रीले बिहीबार राति भने, ‘हामीले अथक प्रयास गर्दागर्दै सरकारले सहमतिमा पुग्ने गम्भीरता देखाएन। त्यसपछि हामी उठेर हिँड्यौं।’
डा. केसीको बिग्रँदो स्वास्थ्यको फाइदा उठाउँदै सरकारी पक्षले वार्ता लम्ब्याउने मनसाय देखाएको उनले बताए। ‘केसी सरको स्वास्थ्य हेरेर उनीहरू हामीलाई गलाउन सकिन्छ कि भन्नेमा लागेका छन्,’ उनले भने, ‘अब हामी कुनै हालतमा लचिलो हुँदैनौं र कसैलाई माफ गर्दैनौं।’ ‘अब त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया र आइओएम डिन केपी सिंहको बर्खास्तगी नै हाम्रो बटमलाइन हो,’ उनले भने।त्रिभुवन विश्वविद्यालयले डा. केसीसँगका पूर्व सम्झौता लत्याउँदै आइओएम डिनमा वरिष्ठता मापदण्ड मिचेर डा. केपी सिंहलाई नियुक्त गरेपछि केसी दसौं अनसन बसेका हुन्। सरकारले शिक्षासचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा. सेनेन्द्र उप्रेतीलाई वार्ता जिम्मेवारी दिएको छ।
यसबीच डा. गोविन्द केसी सोलिडारिटी अलायन्सले शनिबार ऐक्यबद्धता जुलुस आह्वान गरेको छ। माइतीघरबाट ११ बजे सुरु हुने यो जुलुस नयाँबानेश्वरसम्म पुग्नेछ। केसीको जीवनरक्षा र चिकित्सा शिक्षा सुधारको निम्ति बढीभन्दा बढी संख्यामा जुलुसमा सहभागी भइदिन अलायन्सले सर्वसाधारणसँग अपिल गरेको छ।
Previous Articleबन्यो स्वास्थ्य मन्त्रालयको नियुक्ति र मनोनयनको मापदण्ड
Next Article माछा मार्ने जाली भन्दै विस्फोटक ओसार–पसार