कृष्ण कँडेल
बागलुङ, १५ मंसिर – पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने हटिया–बुर्तिबाङ सडक निर्माणको कामले गति लिएको छ । २ बर्षभित्र कालोपत्रे गर्ने गरि २०७१ माघमा सम्झौता भएको ४४ किलोमिटर सडक निर्माणको काम भुकम्प, नाकाबन्दी र पश्चिम बागलुङमा गत साउनमा भएको बाढी पहिरोका कारण प्रभावित भएको थियोे ।
बर्षा सकिएलगत्तै कालोपत्रेका लागि सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, नाली काट्ने र ग्राबलिङ गर्ने काम तिब्र रुपमा भईरहेको लोकमार्ग आयोजनाका बागलुङ खण्ड प्रमुख सिनियर डिभिजनल ईन्जिनियर बद्रप्रसाद शर्माले जानकारी दिए । सुरुको लक्ष्य पुरा नहुने भएपछि समय थप गरेर अबको एक बर्षभित्र सडक कालोपत्रलाई पुर्णता दिने गरि स्तरबृद्धिको कामलाई तिब्र पारिएको हो ।
लोकमार्ग आयोजनाले ४४ किलोमिटर सडकलाई ३ भागमा बाँडेर फरक–फरक निर्माण कम्पनीलाई जिम्मा दिएकोमा अहिले सबैले आफ्नो काम नियमित गरिरहेका छन् । बागलुङ खण्डमा पर्ने १ सय ३५ किलोमिटर सडकमध्ये घोडाबाँधेदेखि हटियासम्मको २० किलोमिटर सडकखण्ड यसअघि नै कालोपत्रे भैसकेको छ ।
बाँकी १ सय १५ किलोमिटर सडकलाई पनि विभिन्न खण्डमा छुट्याएर कालोपत्रेका गर्नका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई काम अघि बढेको छ । ‘अबको तिन बर्षमा बागलुङ खण्ड पुरै कालोपत्रे हुने गरि सबै सडकको ठेक्का सम्झौता भईसकेको छ’ ईन्जिनियर शर्माले भने, ‘राष्ट्रिय गौरबका आयोजनामध्ये पुष्पलाल मध्यपहाडी लोकमार्गको काममा सबैभन्दा धेरै प्रगति भएको छ, त्यसमा बागलुङ खण्डको काम नमुना रुपमा अघि बढेको छ ।’ शर्माले दुईओटा मोटरेवल पुलको ठेक्का सम्झौता मात्र बाँकी रहेको बताए ।
हटियादेखि खर्बाङसम्मको १६ किलोमिटर सडक शंकर मालीले कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता गई काम अघि बढेको छ । खर्बाङ देखि भिमगिठे ठुलाबेसीसम्मको अर्को १६ किलोमिटर सडक चालु आर्थिक बर्षमा कालोपत्रे गर्ने गरि रौताहा कन्स्ट्रक्सनले निर्माणको काम गरिरहेको छ । ठुलाबेसी भिमगिठेदेखि बुर्तिबाङसम्मको १२ किलोमिटर सडकमा दिवा कन्स्ट्रक्सनले काम गरिरहेको छ । मापदण्ड अनुसार सडक चौडा गर्ने क्रममा ठुलाबेसी–बुर्तिबाङ खण्डमा ३० वटा घरटहरा हटार्ईको दिवा कन्स्ट्रक्सनका ईन्जिनियर सुनिल ढुङ्गानाले जानकारी दिए । भिमगिठेको लब्दीखोलामा निर्माणाधिन मोटरेवल पुलको भिमघाट बजारतर्फको भागमा सवारी साधनै रोकेर चौडा गर्ने काम भईरहेको छ । बुर्तिबाङ शेरादेखि निसी पातिहाल्ने सम्मको ४२ किलोमिटर सडक ३ बर्षभित्र कालोपत्रे गर्ने गरि ६ महिना अघि ठेक्का सम्झौता भई निर्माणको काम सुरु भएको छ ।
बुर्तिबाङ–बोहरागाउँ १७ किमी शंकर मालीले नै, बोहरागाउँदेखि निसी चरिबाङसम्मको साढे १४ किलोमिटर कालिका प्यासेफिक र अन्तिम खण्ड चरिबाङदेखि पातिहाल्ने सम्मको १० किलोमिटर २०० मिटर सडक कन्काई कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएका छन् । सदरमुकाम बागलुङ बाजरको उपल्लाचौरदेखि बिहुँ किमबोट सम्मको १३ किलोमिटर सडक ठेक्का सम्झौताको अन्तिम चारणम छ । मुल्याङ्कनको काम समेत सकिएकाले भारत सिद्धसाई जेभिले निर्माणको जिम्मा पाउने निश्चित जस्तै भएको आयोजनाले जनाएको छ ।
बिहुँ किमबोटदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक ६ महिनाअघि सुर्य कन्स्ट्रक्सन सँग सम्झौता भई निर्माणको काम सुरु भएको छ । मध्यपहाडीको बागलुङ खण्डमा पर्ने १८ ओटा मोटरेवल पुलमध्ये १२ ओटाको निर्माण कार्य पुरा भएको छ । लब्दीखोला, निसीको भल्कोट, भिमगिठे र निसीकै चारिबाङमा निर्माणाधिन पुलको काम चालु आर्थिक बर्षमा सक्ने गरि काम भईरहेको छ । लब्दीखोला र भिमगिठे पुल निर्माणको जिम्मा लिएको मैनाचुली विकेईले सम्झौता अनुसार समयमै काम नसकेका कारण सुचना निकालेर सम्झौता खारेजको प्रक्रिया सुरु गरिएको थियो । तर चालु आ.ब.मा निर्माणको काम सक्ने प्रतिबद्धता गरेपछि अन्तिमपटक अवसर दिईएको ईन्जिनियर शर्माको भनाई छ । बुर्तिबाङको शेरामा बन्ने र बानपा तथा पालाको सिमानामा पर्ने खहरेको पुल निर्माणका लागि टेन्डरको प्रक्रियामा रहेका छन् । लोकमार्गको पश्चिम खण्डलाई अबको तिन बर्षभित्र पुरै कालोपत्रे गर्ने राष्ट्रिय लक्ष्यभित्रै बागलुङ खण्डको पनि कालोपत्रे पुरा गर्ने गरि काम भईरहेको आयोजनाले जनाएको छ । सडकको मापदण्डमा परेका १ सय २० ओटा घर टहरा हटाउनुपर्नेमा अहिले सम्म ४० भन्दा बढि स्थानियवासीले नै हटाएका ईन्जिनियर शर्माले बताए । पुष्पलाल मध्यपहाडी लोकमार्गको पश्चिम खण्डको लागि चालु आबमा १ अर्ब ४२ करोड बजेट बिनियोजन भएको छ । नुवाकोटदेखि बैतडीसम्म १४ वटा जिल्लामा पर्ने १ हजार ९७ किलोमिटर सडकका लागि यो बजेट छुट्टिएको हो ।
Previous Articleप्रजातान्त्रिक प्रणाली र आवधिक निर्वाचन
Next Article १५ मंसिर २०७३, ढोरपाटन दैनिक