निरन्तर
गोविन्द नेपाली
पृष्ठभूमि
‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने मूल नाराकासाथ मंसिरदेखि सुरु भई फागुनसम्म पार्टीले संचालन गरेको चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान– २०७३’ कै दर्वियानमा नेकपा(एमाले) बागलुङले यहि मंसिर २५, २६ र २७ गते आफ्नो आठौँ जिल्ला अधिवेशन सम्पन्न गर्दैछ । उक्त अभियानको अन्तिम तयारीमा अहिले सिङ्गो पार्टी पंक्ति परिचालित भएको छ । त्यसो त, पार्टीले केन्द्रीय अभियानसँग जोडेर “संविधानको कार्यान्वयन एमालेको अभियान, आठौँ जिल्ला अधिवेशनका लागि सिङ्गो पार्टी परिचालन” भनेर आफ्नो स्थानीय नारा समेत तय गरेको छ । अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि अन्य तयारी सँग–सँगै पार्टीको आगामी ४ वर्षका लागि जिल्ला नेतृत्वका बारेमा पनि आ–आफ्ना व्यक्तिगत इच्छा–चाहनाहरु यत्रतत्र बाहिर आउन थालेको पाइन्छ भने पार्टी कार्यकर्ता तथा आम शुवेच्छुकहरुका वीचमा भावी नेतृत्वका वारेमा केही चर्चा परिचर्चाहरु चलेको पनि कता–कता आभाष हुन थालेको छ । नेकपा(एमाले) जस्तो मुलुकको सशक्त र प्रभावशाली पार्टीको जिल्ला अधिवेशन नजिक आइरहँदा यत्तिको चर्चा परिचर्चाले राजनीतिक मौसम तात्न थाल्नुलाई स्वभाविक रुपमा लिनुपर्दछ ।
विषय आरम्भ
२०३६ सालमा पहिलो पटक दिल साहनी सचिव रहेको नेकपा (माले) बागलुड जिल्ला संगठन कमिटी गठन र त्यसैको बिरासतमा शुरु भएको नेकपा (एमाले), बागलुङले विभिन्न उकाली–ओराली, आरोेह–अवरोह, विजय–पराजय अनि विभाजन–एकताका चक्रहरु पार गर्दै आफुलाई आजको अवस्थासम्म ल्याई पु¥याएको छ । यसक्रममा हामीले २०४८ चैत्र २७ –२९ गते प्रथम जिल्ला अधिवेशन, २०५१ वैशाख १५–१७ गते दोस्रो जिल्ला अधिवेशन, २०५५ मा तेस्रो जिल्ला अधिवेशन, २०५८ जेष्ठ १२–१३ गते चौथो जिल्ला अधिवेशन, २०६० पौष २४–२५ गते पाँचौं जिल्ला अधिवेशन, २०६६ जेठ १७–२१ गते छैठौँ जिल्ला अधिवेशन र २०६९ माघ १२–१४ आफ्नो सातौँ जिल्ला अधिवेशन सम्पन्न गरी अब आठौँ जिल्ला अधिवेशनको संघारमा उभिएका छौँ ।
विशेष गरेर पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनसँगै पार्टी बहुपदीय र लोकतान्त्रिक प्रणालीमा गएपछि हाम्रा अधिवेशन र सम्मेलनहरुको पर्यायबाची नाम भनेको केवल निर्वाचन हो जस्तो देखिएको छ । त्यसैले अधिवेशन भन्दासाथ केवल को नेता बन्ने र कसलाई नेता बनाउने ? कसलाई अध्यक्ष बनाउने ? उपाध्यक्ष, सचिव र उप–सचिव बनाउने ? ती सबैको धुरी कसलाई बनाउने ? कसलाई जिताउने र कसलाई हराउने ? भन्ने एजेण्डालाई प्रमुख ठान्दै कोठे बैठक गर्नमा रमाउने गलत आदतको शिकार भएका छौँ हामीहरु । अधिवेशन कसरी भव्य र सभ्य बनाउने ? यसको कामहरुलाई कसरी व्यवस्थित गर्ने ? पार्टी पंक्ति र आमजनमानसमा अधिवेशनको व्यापक सन्देश कसरी लैजाने र उनीहरुमा अधिवेशनको गरमा गरमी कसरी सृजना गर्ने ? अधिवेशनलाई एउटा आवधिक पर्व र अवसरको रुपमा उपयोग गर्दै कसरी सिर्जनात्मक र रचानात्मक अभियानका साथ पार्टी निर्माण, विस्तार र परिचालनका कस्ता योजना र कार्यक्रमहरु लिएर आधारभुत तह र वर्गसम्म पुग्ने ? भन्ने प्रमुख कार्यभारहरु गौण बन्न थालेका छन् । यसो हुनु भनेको पार्टी र आन्दोलनका लागि घातक कुरा हो र सम्मेलन तथा अधिवेशनहरुको एकांङ्गी बुझाई हो ।
स्वभाविक रुपमा अधिवेशन भन्दासाथ त्योसँगै आगामी नेतृत्व निर्माणको प्रश्न त जोडिएर आउँछ नै, त्योभन्दा प्रमुख त पार्टी नवौँ महाधिवेशनले पारित केन्द्रीय नीति, सिद्धान्त र कार्यदिशा एवं पार्टीको तत्कालिन कार्यनीतिको प्रकाशमा स्थानीय वस्तुस्थिति र पार्टीको अवस्थाको सापेक्षतामा राजनीतिक तथा सांगठनिक कार्ययोजनाहरु तय गर्ने, स्थानीय रणनीति निर्माण गर्ने र अघिल्लो कार्यकालको ठोस र मुर्त समिक्षा गर्ने लगायतका विषयहरु प्रमुख हुनुपर्ने हो । तर व्यवहारमा प्रमुख बन्नुपर्ने विषय गौण र गौण बन्नुपर्ने विषय प्रमुख बनेर आएको हामी पाउँछौँ मात्र होईन सोहि बमोजिम हाम्रा गतिविधि, चलखेल र खेलोफड्काहरु केन्द्रित भईरहेका हुन्छन् । यसले राजनीतिलाई वर्गिय र सामाजिक मुक्तिसँग नजोडी केवल आफ्नो सोख र मनोकांक्षाको रुपमा अनि पुर्खौली हिसाबले समाजमा स्थापित आफ्नो सामाजिक पकडलाई जेनोतेनो धानिरहने उपयुक्त हतियार र माध्यमको रुपमा प्रयोग गर्नेहरुका लागि त राम्रै गर्ला र गरेको पनि पाईन्छ तर वर्गीय र सामाजिक विभेद र उत्पीडनको जाँतोमा पलपल पिल्सिएर, त्यसबाट अत्तालिएर उक्त विभेद र उत्पीडनबाट आफु र आफ्नो भावी सन्ततीलाई मुुक्ति दिलाउने अन्तिम हतियार र माध्यमको रुपमा राजनीति, त्यो पनि कम्युनिष्ट राजनीतिलाई बुझेर, विश्वास गरेर अनि सपना सजाएर होमिएका र साथ दिएकाहरुको लागि त बुझाई, विश्वास र सपनाहरुको चकनाचुर बाहेक अरु के हुन सक्छ ? स्वर्गको महल देखाएर धर्तीमा उल्लु बनाउनु बाहेक, भविष्यको सपना बाँडेर वर्तमानमा धोका दिनुबाहेक अझ साम्यवादको सपनामा मस्त निदाउन लगाएर मध्यरातमा हाम्मेवादको तमसुकमा औँठाछाप लगाईदिनु जस्तो वर्गीय अपराधबाहेक अरु के हुन सक्छ ?
तसर्थ कमरेड पुष्पलालले भन्नुभएको छ कम्युनिष्ट पार्टी नेता प्रधान होईन, नीति प्रधान हुन्छ । त्यस्तै कमरेड माओले भन्नुभएको छ नीति र कार्यनीति पार्टीका ज्यान हुन्, सबै स्तरका कमरेडहरुले यसबारे पुरा ध्यान दिनैपर्छ र कुनै हालतमा पनि यसबारे लार्पबाही गर्नु हुन्न । यिनै भनाईको आलोक र प्रकाशको रापतापमा हाम्रा सम्मेलन र अधिवेशनहरुलाई खार्नु पर्छ, तिखार्नु पर्छ अनि समिक्षाबाट निस्केको हाम्रा राजनैतिक, वैचारिक र सांगठनिक गलाई र भुत्तेपनहरुमा ईन्द्रेणी पाईन बसाल्लु पर्दछ । यस अर्थमा हामीले नेकपा (एमाले), बागलुडको आठौँ जिल्ला अधिवेशनलाई एजेण्डा केन्द्रित अधिवेशन, जिल्लामा पार्टी निर्माण, विस्तार र परिचालनका सन्दर्भमा विगतको गम्भिर समिक्षा गर्दै नयाँ नीति, रणनीति र कार्ययोजनामा घनिभुत बहस र छलफल केन्द्रित अधिवेशन बनाउन जरुरी छ । यसो गरेर एउटा सर्वसम्मत नौनी निष्कर्ष मा पुग्न सकियो, त्यस नौनी निष्कर्षलाई खराएर घिउ बनाउँदै कार्यान्वयनको चालक सिटमा बस्ने सर्वसम्मत नयाँ नेतृत्व निर्माण गर्न सकियो अनि तिनै निष्कर्षलाई शिरमा राख्दै नयाँ नेतृत्वलाई साक्षी राखेर कार्यान्वयनमा खरो उत्रने सामुहिक सपथसहित नयाँ उर्जा र नयाँ सन्देश लिएर जिल्ला प्रतिनिधिहरु आ–आफ्ना कार्यक्षेत्रमा फर्कन सकियो भने मात्र एक हदसम्म आठौँ जिल्ला अधिवेशन आंशिक सफल भएको मान्न सकिन्छ । पूर्ण सफलताको पगरी त कार्यान्वयनको अग्निपरिक्षामा जनताले कस्तो अंक गुथाईदिन्छन, त्यसैमा निर्भर गर्दछ ।
पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालन कसरी गर्ने ?
अधिवेशनको संघारमा आईपुग्दा र सबैले औपचारिक मञ्चहरुमा गुट, गुट, गुट–मुर्दावाद भनिरहँदा पनि उही जेरीभित्र…कसरी पस्यो त ? भने जस्तै पार्टीभित्र गुट कहाँबाट हुने गरेको छ त ? र यसलाई विधिसम्मत ढंगले कसरी अन्त्य गर्न सकिन्छ त भन्ने विषयमा पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि पार्टी केन्द्रीय कमिटीको सातौँ बैठकले पारित गरेको १० बुँदै प्रस्तावलाई जस्ताको तस्तै प्रस्तुत गरेर यसप्रति नेकपा(एमाले), बागलुङको सिङ्गो पार्टी नेतृत्व एवं आमकार्यकर्ताहरुको गम्भिर ध्यानाकर्षण गराउन मात्र खोजेको हो ।
१. पार्टीका संस्थागत निर्णयहरुलाई कार्यान्वयन गर्दै वैचारिक, राजनीतिक र संगठनात्मक कामहरुलाई प्राथमिकता दिने ।
२. पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरुलाई तदरुकताका साथ कार्यान्वयन गर्ने र यसको सार्वजनिक रुपमा प्रतिरक्षा र प्रसार गर्ने ।
३. पार्टीको विचार, प्रतिष्ठा र लोकप्रियतामा आँच पुग्ने किसिमका कुनै पनि गतिविधि नगर्ने तथा बहस र छलफल गर्नुपर्ने विषयमा सम्बन्धित कमिटी र संगठनका बैठकहरुमा विधान र नियमअनुरुप यथोचित रुपमा पद्दतिसम्मत रुपमा छलफल गर्ने ।
४.विधि, नीति, पद्धति तथा पारदर्शिताको अनुसरण गर्दै नेता, कार्यकर्ता र सदस्यहरुलाई योगदान, योग्यता, क्षमता, सक्रियता र इमान्दारीका आधारमा कामको जिम्मेवारी दिने र कुनै पनि प्रकारको पूर्वाग्रहपूर्ण पक्षधरताको व्यवहार नगर्ने ।
५. पार्टीका अधिवेशन, जनसंगठनका सम्मेलन र विभिन्न कार्यक्रमहरुमा अतिथि र सहभागीको नाम निर्धारण सम्बन्धित कमिटी र संगठनको माग, सम्बन्धित कमिटी र संगठनको जिम्मेवारसँगको परामर्शको आधारमा पार्टी केन्द्रीय सचिवालयले गर्ने । सम्बन्धित कमिटी र संगठनसँग प्रत्यक्षतः असम्बन्धित तथा उक्त प्रक्रियाबाट नतोकिएका व्यक्ति कार्यक्रममा सहभागी नहुने ।
६. कुनै पनि स्तरका कमिटी तथा जनसंगठनका निर्वाचनहरु प्यानल सूचीका आधारमा नगर्ने र उम्मेदवारको योग्यता, क्षमता, सक्रियता, योगदान, इमान्दारी र लोकप्रियताका आधारमा निर्वाचित हुनसक्ने वातावरण सिर्जना गर्ने । यसो नगर्ने व्यक्ति र संगठनहरुलाई अनुशासनको कारवाही हुन सक्ने गरी नियमावली संशोधन गर्ने ।
७. सम्पूर्ण रुपमा एकताबद्ध भएर सबै प्रकारका चुनौतीहरुको सामना गर्दै जनताका अधिकार, राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिंदै पार्टीलाई सक्रिय र गतिशील बनाउने ।
८. पार्टीको संगठनात्मक जीवन र राष्ट्रिय जीवनका महत्वपूर्ण विषयमा सामूहिक छलफलको प्रणालीबाट निष्कर्षमा पुग्ने ।
९. पार्टी सदस्यता, पार्टीका विभिन्न स्तरका अधिवेशन तथा जनसंगठनका सम्मेलनहरुका सम्बन्धमा विधि र पद्धतिलाई बलियो गरी अनुशरण गर्ने र यस सम्बन्धमा देखिएका समस्याहरुलाई उचित विधिबाट समाधान गर्ने ।
१०. पार्टी र पार्टी नेतृत्वका विरुद्ध हुने कुनै पनि कुप्रचार र प्रहारलाई सबै नेता, कार्यकर्ता र सदस्यहरुले तथ्यपरक किसिमले सशक्त रुपमा प्रतिवाद गर्ने ।
उल्लेखित १० बुँदालाई व्यवहारमा पूर्ण पालना गर्दै मार्गदर्शन मासिक, राजनीतिक व्युरो, पुष २०६८ को आफ्नो अंंकमा गरेको निम्न विश्लेषणलाई पनि गम्भिर रुपमा अध्ययन र मनन गर्न समेत अनुरोध गर्दछु ।
“नेपालको लोकतान्त्रिक एवं वामपन्थी आन्दोलनको मुल प्रवाह नेकपा एमाले विश्व फुटबल हस्तीहरुको गणनामा ब्राजिलको हाराहारीमा रहँदै आएको छ । विश्व फुटवल कपको कुनै एक संस्करणमा विश्वकप विजेता बनोस् कि नबनोस् इतिहास, वर्तमान र सम्भाव्यताका हिसाबले पाँच–पाँच पटकको विजेता ब्राजिल नै विश्व फुटबलको महाशक्ति मानिएझैँ एकाध चुनावमा जहाँसुकै पुगोस् इतिहासमा पु¥याएको योगदान, वर्तमानको प्रभावकारी भुमिका र बोकेको विराट सम्भावनाहरुको कारण एमाले नेपाली राजनीतिको मियो बनेको छ ।”
“स्थायी प्रकृतिको नभएपनि अस्थायी प्रकृति नै सही जननेता मदन भण्डारीको अवसानपछि पार्टीका…र …नेताबीच एकता हुँदा यस पार्टीले ठुल्ठुला आन्तरिक वा बाह्रय प्रकृतिका चुनौतीहरुको सामना गरी नेपालको बामपन्थी आन्दोलन, बाम लोकतान्त्रिक आन्दोलन र सिङ्गो मुलुकलाई दिशा निर्देश गर्न र ऐतिहासिक उपलब्धीहरुको वहार दिन सकेको छ ।”
अन्त्यमा,
नेकपा(एमाले) बागलुङको आसन्न आठौँ जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका निर्वाह गरौँ । आ–आफ्नो ठाउँबाट सशक्त त्याग र योगदान गरौँ । निर्वाचनको परियोजना निर्माणतर्फ होइन, सर्वसम्मतका लागि सबैले त्याग र योगदानको परियोजना निर्माणमा लागौँ । जिम्मेवारी आइपर्न पनि सक्छ, त्यसको लागि आफुलाई तम्तयारी राखौँ । यसको विपरित, नेतृत्वका लागि उत्कट चाहना हुँदाहुँदै पनि पार्टी हित र कार्यकर्ताहरुको भावनालाई सम्मान गर्दै सर्वसम्मत नेतृत्व निर्माणका खातिर त्याग पनि गर्नुपर्ने हुन्छ । यी दुवैका लागि नेतृत्वका लागि चाहना र दाबी गर्ने सबैले आफुलाई तयारी अवस्थामा राखौँ । यहाँ कोही मनोकामना गर्ने, कोही त्यो मनोकामना पुरा गर्दिने ठाउँमा छैनन् । जसले कामना गर्दछ, उसले पहलकदमी समेत लिनुपर्दछ । सर्वसम्मत नेतृत्व निर्माणको प्रक्रियालाई सबै मिलेर तार्किक निष्कर्षमा पु¥याऊँ । चुनाव गरेर पार्टीभित्र हार जितको रेकर्ड राख्ने वेला यो होइन, सिङ्गो राष्ट्रले हार्ने कि जित्ने भन्ने कुरा एमाले र एमालेले बोकेको राष्ट्रिय एजेण्डाको हार जितसँग जोडिएको छ । तसर्थ, एमालेले जित्नुपर्दछ । राष्ट्रले जित्नुपर्दछ । नेपाली जनताले जित्नुपर्दछ । यतातर्फ हामी सबैको ध्यान जान जरुरी छ ।
सर्वसम्मत नेतृत्व चयनका लागि सबैले त्याग र योगदान गरौं
Previous Articleनागरिक र नागरिकता
Next Article १४ मंसिर २०७३, धौलागिरी स्टार साप्ताहिक