सरिता पौडेल
प्राचीन कालको ढुङ्गे युगलाई पारगरेर विस्तारै कछुवाको जस्तै गतिमा नै भएपनि विकास भईरहेको हाम्रो देशमा पहिलो र दोस्रो विकसित देशहरुले जेजति सुविधाहरु उपभोग गरिरहेका छन् त्यसको तुलनामा हेर्ने हो भने त हामी शुन्यमा नै छौ भन्दा पनि फरक नपर्ला । यद्यपी आफ्नै विगत र वर्तमानलाई नियालेर हेर्दा भने अलिकति भए पनि परिवर्तन महशुष गरेकै हो । राजनीतिले पनि विस्तारै कोल्टे फेर्दै छ । अब केही हुन्छ कि भन्ने आश गरिरहेको अवस्थामा पुरानो संस्कार र कुरीतिले जरा गाडेको हाम्रो समाजमा केही परिवर्तन गरेर देखाउछु भन्नेलाई के काम गर्न दिनु र खै । समाजमा जति नै परिवर्तन भएतापनि व्यवहारमा परिवर्तन भएको देखिदैन । संविधान बन्यो, विभिन्न ऐन कानुन नियम उप–नियम सबै बने कितावमा लेखिए भनिने सुनौला अक्षरमा । तर होइन काला अक्षरमा रहेछन् कि ? मानिस जति नै शिक्षित भएतापनि जब आफ्नोमा आएपछि संस्कारको कुरा आउछ ।
वास्तवमा आज एउटा घटनाले शब्दकोषको एउटा शब्द तथा जसबाट सिङ्गो ब्रह्माण्ड चलेको हुन्छ । छोरीको विषयमा केही कोर्न बाध्य गराइ दियो । जहा छोरालाइ शक्तिको अर्को नामले चिनाउने यो समाजले छोरीलाई जहिले पनि मायाको नाममा कमजोरीको भारी बोकाएको हुन्छ । होइन यो कस्तो संस्कार हो । घरमा आफ्नो श्रीमतीको अन्त्यष्टिको समयमा पनि श्रीमान घाटमा जान नहुने । क्रियागर्न नहुने बस् उनको मृत्यु लगत्तै बिहे गर्ने ढोका बन्द हुन्छ की भनेर मात्र अरे । यो समाजका विद्धान पण्डित जो अरुको छोरीको अन्त्यष्टिको समयमा हाम्रो संस्कारको प्रवचन दिने हजुर आफ्नो घरमा पनि छोरी छन् भन्ने कुराको हेक्का राखिदिने हो भने र साथै यस समाजले मृत्यु भनेको कसैलाई भनेर आउने कुरा होईन जन्म पछि चाहे मानव जाति होस या अन्य जो कोही प्रत्येक सजिव जातको जन्मपछि मृत्यु निश्चित हुन्छ । बस ढिलो र चाडो मात्र हो भन्ने सम्झिदिने हो भने । तर यो समाजमा छोरीलाई बच्चाबाट नै यतिकमजोर बनाईन्छ कि हामीमा केही गर्ने आँट नै छैन । सानैबाट छोरीले भान्छा सम्हाल्न जान्नै पर्ने, कम हाँस्नु पर्ने, सबैले भनेको ज्ञानी भएर मान्नु पर्ने । होइन छोरीहरु कठपुतली हो ? यहाँहरुले जता नचाउनु हुन्छ, जसरी नचाउनु हुन्छ उसरी नै नाच्न पर्ने ?
के छोरीहरु तपाईको घर सिंगार्नको लागि मात्र जन्म लिएका श्रृगारका सामाग्री हुन त ? अझ यो समाज त यति सम्मक्रुर छ की यदि कुनै नारी या पुरुषको अल्पायूमै मृत्यु भयो भने नी यदि छोरा भएमा सानो किन नहोस उसलाई अन्त्यष्टिको क्रियाक्रमको लागि मन्दिर दौडाइन्छ संस्कार अनुसार जनैको डोरो लगाउन तर त्यही ठाँउमा ठुलै छोरी भएतापनि कति सजिलै भनिन्छ उनले सक्दिनन र गर्न पनि मिल्दैन । किन उनि छोरी भएर ? हो्इन छोरा छोरीमा यो भेदभाव कहिले सम्म के हामी छोरी, श्रीमती, आमा र महिला भन्ने शब्दको एउटै मात्र कर्तब्य हो त पहिले बाबाको आँगनको श्रृगारको सामाग्री बन्ने र बिहे पछि श्रीमानको घरको ?
म पनि एउटा महिला । मलाई पनि छोरा र छोरी जन्मिदाको प्रसवको पिडाको अनुभव, दुवैलाई हुर्काउदाको अनुभव भएको मान्छे । खोई त मैले प्रसवको पिडा पनि फरक पाईन । बच्चा हुर्कदाको अप्ठ्यारो परिस्थिति पनि केही भिन्नता पाइन् । अझ विद्यालयमा पनि अहिले सम्म कुनै प्रशासनले तपाईको छोरी भएकोले शुल्क कम लिएको भन्नु भएको छैन । यसरी सबै कुरामा एउटै हर्ष र विष्मात हुन्छ भने यो भिन्नता के का लागि त ? यो संस्कार कस्तो हो जुन नारीलाई मात्र लागु हुने । अर्को उदाहरणबाट प्रष्ट पारौ । मानौ श्रीमतीको मृत्युमा एउटा श्रीमानलाई केही फरक नपर्ने । उसले खाना छोड्नु नपर्ने । नुन बार्नु पनि नपर्ने अझ उसको रुपमा केही परिवर्तन नआउने तर ठिक विपरित रुपमा श्रीमानको मृत्युमा नुनको मात्र कुरा नगरौ जिन्दगी भर उसैलाई सम्झेर जिवन विताउनु पर्ने ।
एउटा महिलाको श्रृगार श्रीमान मात्र हो र ? लगाउने पहिरनको रङ्गमा पनि यति धेरै भेदभाव । एउटा छोरी मान्छेले जन्म घरमा बस्दा के त्यहाँ रङ्ग हिन बस्त्र मात्र पहिरिन्छिन ? के उनको विहे पश्चात मात्र हो त रंगिन बस्त्र प्रयोगमा ल्याएको । श्रीमानको मृत्यु पछि एउटा नारीको कपडाको रङ्गबाट नै परिबर्तन भएर जिवन नै परिवर्तन गराइदिने मेरो समाजको संस्कारमा श्रीमानलाई भने कति छिटो बिहेको स्विकृति दिन्छौ है महान व्यक्तीहरु । सायद जिउदो भइन्जेल एउटा महिलाले त्यो घरको लागि गरेको त्याग मृत्युको एक मिनटमा नै र्विसिन्छौ होला । तर नर्विसौ की तिमिलाई जन्मदिने ति आमा पनि कसको घरको छोरी र तिमिलाई नै जन्म दिने बाबुको श्रीमती नै हुन भनेर । के तिम्रो आमालाई कसैले यति पिडा दियो भने तिमि सहन सक्छौ र ?
एउटा बच्चाको जन्म देखि सुरु भएको दुई दम्पतिको उत्तरदायित्व कुनै एकको अनुपस्थितिमा अर्कोले पुरा गर्नुपर्ने कर्तव्य हो । तर यहाँ कुरा मृत्युको मात्र छैन । श्रीमान कैयौ वर्ष त्यही परिवारको लागि खाडि मुलुक वा विकसित मुलुकमा बसेर आर्थिक जोहोको लागि टाढा भएको परिवेशमा एउटी महिलाले बच्चालाई दिनुपर्ने आमा र बाबा दुबैको जिम्मेवारी बखुबै बहन गरेकी हुन्छिन । तर त्यही जिम्मेवारी वहन गर्न पुरुषलाई चाही दोस्रो व्यक्तिको आवश्यकता पर्ने भनेर कुन धार्मिक पुस्तकमा उल्लेख भएको रहेछ ? त्यो जान्न मन लाग्यो । यसको मतलब यो भन्न भने कदापी खोजेको होइन यहाँ कति पुरुषहरु हुनुहुन्छ जो आफ्नो कर्तब्य एकदम राम्रोसँग निभाउनु भएको छ । मानिसहरु परिवर्तन भइसके । समाज परिवर्तन भइरहेको छ भने नसुनेको भने कदापी होइन तर व्यक्ती स्वयम परिवर्तन हुने समयमा आफ्नो सोचमा परिवर्तन गरेको देखिदैन । विकासोन्मुख सहरहरुको त यो अवस्था छ भने दुर दराजका गाँउका छोरीको पिडा कसले वुझिदिने । बाल्यकालको शैक्षिक भिन्नता, किशोरावस्थाको छाउपडिको बाध्यता, विवाहपूर्व माईतिको इमान, विहे पछि श्रीमानको घरको इज्जत सबै छोरीले नै भोग्नु पर्ने अनि व्यवस्थापन गर्नु पर्ने ।
के सबै सांस्कारिक कितावहरु एउटा नारीलाई दबाउनको लागि मात्र बनाइएका हुन ? कुनै पुस्तकमा लेखिएको भेट्नु भएको छ र तिम्रो श्रीमतीको साँढे सातको दशा चलिरहेको छ शनिबार बिहानै उढेर मन्दिर गएर पुजागरि वर पिपलमा पानी चढाउ कम हुन्छ भनेर श्रीमानलाई कहिल्यै भनिन्छ ? श्रीमानको मात्र ग्रहदशा विग्रने श्रीमतीको चाहि नविग्रिने त्यस्तो पनि हुन्छ ? श्रीमतीले श्रीमानको आयु बढाउनको लागि व्रत बस्नु पर्ने ? अनि श्रीमानले चाहि श्रीमतीको आयु बढाउन व्रत आवश्यक नहुने हुनत श्रीमतीको मृत्यु पश्चात नै विहेको स्विकृतिले होला सायद अनि विवाह पश्चात नारीको श्रृगार नै परिवर्तन हुनु पर्ने सिन्दुर, पोते, चुरा, टिका सबै पहिरिनु पर्ने यो समाजमा पुरुषले विहे पछि विवाहित भनेर चिनिन पहिरिएको कुनै एक पहिरन हुन्छ र ?
विभिन्न किसिमका व्रत वसेर फाईदा हुन्छ भनि विभिन्न रोग निम्त्याएर आफुलाई अग्रिम मृत्युको मुखमा पुर्याउने नारी अव सचेत हुन जरुरी छ । स्वास्थ्य भन्दा ठुलो कुरा केही छैन समाजमा तिम्रो एक मुठि सासको महत्व जति जिवित हुदा हुन्छ नि तिम्रो अन्त्यष्टिको त्यो आगोको रागमा सबै जलेर जाने रहेछ । मेरो मृत्युपछि यो मान्छे छ भनेर कहिल्यै नवसौ जे छ जिवित हुदा नै हो तसर्थ जिवन हुदा नै आफुलाई पनि महत्व दिएर आफ्नो स्वास्थ्यको ख्याल राखौ है ।
आजका छोरा छोरी दुवै भोलीका विश्वका परिवर्तनको संवाहक हुन् । आज नेपालीहरु नेपालमा मात्र होईन विश्वमा प्रख्यात भईसकेको परिवेशमा यदि कसैले आजका बालबालिकामाथि यो बच्चा नै त हो के नै गर्ला र फकाएर भए पनि आफ्नो निर्णयलाई अन्जाम दिनको लागि उनिहरुको भावनामा जवरजस्ती पुर्णविराम लगाउने काम कसैबाट नहोस् । जसले बाल मनोविज्ञानमा नराम्रो असर पार्न सक्छ भोलिको देशको संवाहकलाई आज एकजनाको मात्र ईच्छा पुर्तिको माध्ययम नबनाइयोस है ।