बागलुङ, १३ मंसिर – नेकपा एमालेको ८ औं जिल्ला अधिवेसन यही मंसिर २५ गते देखि २७ गते सम्म हुने भएपछि नयाँ नेतृत्वको बहसले बजार तात्न थालेको छ । देशको दोश्रो ठूलो दल, पटक पटक सत्ता संहालेको र संगठानिक रुपमा अग्रणी मानिएकोले एमाले अधिवेसनलाइ धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् ।
संविधानसभाको दोश्रो निर्वाचनमा जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा कांग्रेसले जीत हासिल गरेपनि एमाले ससक्त प्रतिपक्षको रुपमा रहेको भन्दै एमालेका अगुवाले पहिलो पार्टी बनाउने लक्ष सहित अगाडि बढ्ने दावी गर्न थालेका छन् । संम्भावित उमेदवारहरुले सके सर्वसम्मत र नभए निर्वाचनमा गएपनि पार्टीलाइ एक बनाएर आगामी निर्वाचनहरु आफ्नो पक्षमा पार्ने लक्ष बनाएको बताए । एमाले जिल्ला अधिवेसनमा जिल्ला भरका कार्यकर्ताबाट अगुवा कार्यकर्ताको रुपमा अधिवेसनका लागि ६ सय ३९ जना प्रतिनिधि छनौट हुने पार्टीका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले बताए । ती प्रतिनिधिले निर्वाचन वा सर्वसम्मत रुपमा गर्ने निर्णयले आगामी पार्टी नेतृत्वको चयन गर्नेछ ।
सातौं अधिवेसन देखि अहिलेसम्म भएका कामको समिक्षा गर्दै आगामी कार्यदिशा र रणनीति तय गर्ने गरी अधिवेसन सम्पन्न हुने नेतृत्वको धारणा छ । नेतृत्वको आकांक्षी धेरै भएपनि सर्वसम्मत गरेर सबैलाइ जिम्मेवारीमा ल्याउने काममा धेरैको एक मत छ । यस अघिका निर्वाचनमा बामपन्थी तालमेल गरेर निर्वाचन जित्ने गरेको एमालेले संविधानसभाको दोश्रो निर्वाचनमा भने तालमेलकै अभावमा जित्न सकेको थिएन । उक्त यथार्थलाइ मध्यनजर गर्दै बामपन्थीहरुको कार्यगत एकता सबै आकांक्षीको चाहना देखिन्छ ।
जिल्लाको नेतृत्वका लागि अहिलेसम्म इन्द्रलाल सापकोटा, जनक पौडेल, कृष्ण पाठक, नरवहादुर थापा र हिराबहादुर केसीको नाम चर्चामा छ । गाउँ र नगर अधिवेसन धमाधम चलिरहेकोले सबै नेताहरु आफ्नो पक्षमा पार्न सकिने दाउमा गाउँ केन्द्रीत राजनीतिमा सक्रिय छन् । उनीहरुले ग्रामीण तहमा पुगेर कार्यकर्ता माझ नेतृत्वको माहोल सिर्जना गरिरहेका छन् । एमालेले आगामी अधिवेसनबाट कस्तो नीति लिनेछ भन्ने महत्वपूर्ण पाटो भएपनि निर्वाचनको कारण चुनावी एजेण्डाहरु बढी चर्चामा आएका छन् । वर्तमान अध्यक्ष श्रीप्राद शर्माले अहिले सम्म उमेदवारी घोषणा गरेका छैनन् । उनले सर्वसम्मत नेतृत्व चयनको परिस्थिति आएमा भने स्विकारर्ने पक्षमा रहेको बताए । घोषणा नगरेपनि सर्वसम्मत नेतृत्व पाएमा वर्तमान उपाध्यक्ष नरबहदुर थापा पनि आकांक्षि छन् । यद्यपी उनले पनि उमेदवारी दिएको बारे अहिले सम्म केही बताएका छैनन् ।
इन्द्रलाल सापकोटा
आगामी अधिवेसनमा अध्यक्षका प्रमुख दावेदारको रुपमा रहेका इन्द्रलाल सापकोटा सक्रियताका साथ लागेका छन् । पार्टी कार्यालयमा मात्र नभइ उनले विभिन्न स्थानमा बसेर आफ्नो अभियानलाइ तीव्रता दिइरहेका छन् । कार्यकर्ता भेटघाट, गाउँतहका अधिवेसनमा सहभागितामा व्यस्त छन् । ‘आठौं अधिवेसनले विशेष गरी विगतका कामको समिक्षा गरेर भावी कार्यदिशा निर्धारण गर्छ’ सापकोटाले भने, ‘लोकतान्त्रिक मूल्य मान्यतामा रहेर प्रतिष्पर्धामा जाने भएपनि प्यानल बनाएर एकले अर्कोलाइ समाप्त पार्ने खेलमा नलाग्ने हामीले योजना बनाएका छौं ।’ सशक्त उमेदवारको रुपमा देखिएका सापकोटाले सबै कार्यकर्ताको आग्रहमा अधिवेसनमा जान लागेको बताए । ‘सके सर्वसम्मत नभए निर्वाचनमा जान पनि कार्यकर्ताले आग्रह गरेका छन्’ उनले भने, ‘पार्टीलाइ जीवन्त बनाउनका लागि मेरो नेतृत्व आवस्यक पनि छ ।’ उनले पार्टी भित्र आर्थिक पक्ष बलियो हुनुपर्ने, आम जनतालाइ हाँक्न सक्ने र संगठनमा सक्षम भएका नेता र कार्यकर्तालाइ समेटेर अगाडि बढ्ने योजना बनाएको बताए ।
उनले नेतृत्वका पाएमा विधि र विधानलाइ सम्मान गर्ने र चुस्त कार्यप्रकृया अगाडि बढाउने, एमालेले राष्ट्रिय राजनीतिमा लिइरहेको मुद्दालाइ आम कार्यकर्तामाझ पु¥याउने तथा जनजिविकाको पक्षमा लाग्ने बताए । एमालेले ल्याएको आफ्नो गाउँ आँफै बनाउँ, सामाजिक सुरक्षा भत्ता तथा विकासको लागि गाविस तहमा लगानी बढाउने गरी ल्याएको कामको प्रचार हुन नसकेकोले पार्टी कमजोर भएको भन्दै उनले त्यसको जनस्तरमा अभियान संचालन गरेर संगठन विस्तार गर्ने योजना अगाडि सारेका छन् ।
सापकोटाले २०४२ सालदेखि गाउँपार्टीको राजनीतिमा सक्रिय भएको दावी गरे । उनले २०४७ सालमा एमालेको सदस्यता लिएका हुन् । २०५४ को स्थानीय निर्वाचनमा मालिका गाविस अध्यक्ष भएका थिए । युुवा संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र २०६२ मा केन्द्रीय महासचिव समेत भएका थिए । जिल्ला पार्टी उपसचिव भएपनि आन्दोलनताका पार्टी प्रमुख हुने सचिवको जिम्मेवारीमा थिए । जनआन्दोलनको नेतृत्व गर्ने अवसर पाएको भन्दै उनले अध्यक्ष भएर फेरी जिल्ला पार्टीलाइ क्रियाशिल बनाउने योजना सुनाए । ४८ बर्षका सापकोटा हाल प्रदेश कमिटिका सदस्य पनि छन् ।
जनक पौडेल
आठौं अधिवेसनको संघारमा नेतृत्व आफ्नो पक्षमा पार्ने दाउमा सबै भएपनि पूर्व अध्यक्ष भैसकेका जनक पौडेल पनि फेरी एकपटक होमिएका छन् । उनले आफ्नो कार्यकालमा भएको एमालेको नेतृत्व र तत्कालिन अवस्थामा पार्टीले जितेको निर्वाचनको बिरासत फेरी दोहो¥याउनका लागि अधिवेसनमा लागेको बताएका छन् ।
सैद्धान्तिक रुपमा संविधान कार्यान्वयनको पाटोमा अगाडि बढ्ने निर्णय गरेर अगाडि बढ्नुपर्नेमा पौडेलले धारणा राखे । जिल्लाको पुन संरचना देखि विभिन्न राष्ट्रिय घटनाक्रममा एमालेको भूमिका किन कमजोर भयो भन्ने गम्भिर छलफल गर्नुपर्ने उनले बताए । ‘दोश्रो संविधानसभाको निर्वाचनमा एमाले किन कमजोर भयो भन्ने समिक्षा आवस्यक छ’ उनले भने, ‘सुदृढ पार्टी निर्माण र पराजय हुँदाको पिडालाइ समिक्षा गरेपछि कार्यकर्ताले दिने कार्यादेशनै आफ्नो उमेदवारीको औचित्य पुष्टी हुने उनले बताए ।
सर्वसम्मत नेतृत्वका लागि पहिलो प्रयासमा रहेको भन्दै पौडेलले पार्टीलाइ जिल्लाको एक नम्बरमा लैजानका लागि आँफूले जस्तोसुकै भूमिका निर्वाह गर्न पनि सक्ने बताए । अन्य राजनीतिक दलसँग गरिने समन्वय र राजनीतिक सहकार्य सँगै प्रतिष्पर्धि पनि बनाउन जरुरी भएको उनको धारणा छ । एमालेको औपचारिक सदस्यता २०४७ सालमा लिएका पौडेलले जिल्लाको राजनीतिमा निरन्तर भूमिका खेल्दै आएका छन् । विद्यार्थी राजनीतिमा पनि उनी सक्रिय थिए । २०४९ सालमा धौलागिरी बहुमुखी क्यामपसको स्ववियु सभापति भएका पौडेल अखिलको केन्द्रीय सदस्य समेत भएका थिए । उनले पार्टीको जिल्ला सदस्य देखि प्रमु्ख रहने सचिव पदमा समेत नेतृत्व संहालेका थिए । साथै अध्यक्षको पद सिर्जना भएपछि पनि उनले श्रीप्रसाद शर्मा भन्दा अघि अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । उनले आफ्नो पालामा पार्टीलाइ जिल्लाको अग्रणी र निर्वाचन जित्ने बनाएको दावी गरे । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा पौडेल जिविस बागलुङको सदस्य समेत भएका थिए ।
कृष्ण पाठक
अधिवेसनका लागि तयारी गर्दै नेतृत्वको दावेदारी गर्नेमा कृष्ण पाठकपनि एक हुन् । नीतिगत रुपमा एमालेको पार्टीगत विधानलाइ पालना गरेर अगाडि बढ्न आवस्यक छ भन्ने उनको भनाइ छ । सकभर सर्वसम्मत नेतृत्व निर्माण गर्नेतर्फ सबैको ध्यान जानु पर्छ भन्दै उनले सबै नेता कार्यकर्ताहरुले पहल गर्नुपर्ने समेत धारणा राखे । नेतृत्व निर्माण गर्दा इतिहास, क्षमता र अनुभवलाइ आधार बनाउनुपर्ने उनले बताए । साथै पार्टी कार्यकर्ता र आम जनताको भावना अनुकुल पार्टी निर्माण गर्न सकिने व्यक्तित्वलाइ अगाडि सार्नु पर्नेमा उनको जोड छ । ‘मलाइ लाग्छ म पार्टीका कार्यकर्ता साथीहरु र पार्टीको वरिपरि गोलबन्ध भएका जनताको इच्छा भावना र आकांक्षालाइ प्रतिनिधित्व गर्न सक्छु’ पाठकले भने, ‘त्यसैकारण म एमाले बागलुङको यो आठौ अधिवेसनको अध्यक्ष पदमा रुचि प्रस्तुत गरेको छु ।’
उनले जिम्मेवारी माथी जिम्मेवारी थप्ने र गुटबन्दीको राजनीति अन्त्य गर्नुपर्ने धारणा राखे । पार्टी भित्रको अन्तरपार्टी अनुशासनलाइ पूर्ण पालना गर्ने, पार्टीप्रति जनताले गरेको अपेक्षा पुरा गर्ने र पार्टीलाइ पुन जीवन्त बनाएर लैजाने उनको योजना छ । पार्टीमा सर्वसम्मत भएमा त्यसको समेत पक्षमा रहने उनले बताए । पाठकले पार्टी सदस्यता २०४७मा लिएका थिए । विद्यार्थी राजनीतिमा लागेका पाठकलाइ २०४५ सालमा राजनीति गरेकै कारण पंचायत सरकारले राजकाज अपराध मुद्धा लगाएको थियो । पाठक एमालेको पाँचौ, छैठौं र सातौ केन्द्रीय महाधिवेसनमा प्रतिनिधि भैसकेका छन् । २०४६ सालमा बागलुङ जिल्लामा एमाले जिल्ला संगठन कमिटिमा रहेर हाल सम्म जिल्ला कमिटि हुँदै पार्टीको धौलागिरी अञ्चल समन्वय कमिटिको सदस्य समेत रहेको उनले दावी गरे । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिविस बागलुङको सदस्य निर्वाचित भएका उनी २०६२÷०६३ सालको जनआन्दोलनमा ३ पटक सम्म जेल परेका थिए ।
हिराबहादुर केसी
युवा संघका केन्द्रीय उपाध्यक्ष समेत भैसकेका केसी ८ औं जिल्ला अधिवेसनमा आफ्नो उमेदवारीको प्रचारमा छन् । उनले एमालेमा युवाहरुको नेतृत्व ल्याउनुपर्ने धारणा राख्छन् । एमालेको जिल्ला उपाध्यक्ष पनि भैसकेको कारण यो अधिवेसनमा आफ्नो उमेदवारी प्राकृतिक रुपमा आवस्यक भएको बताउँछन् । ‘जिल्ला सदस्य देखि उपसचिव र उपाध्यक्ष समेत भैसकेकोले म अध्यक्षमा उठ्नु स्वभाविक प्रकृया हो’ केसीले भने, ‘आम युवाहरुको चाहना पनि युवा नेतृत्व आइदिए हुन्थ्यो भन्नेमा एक ढीका भएको छ ।’ युवाको नेतृत्व आँफूले गर्ने उनले दावी समेत गरेका छन् ।
बागलुङ बामपन्थीको बहुमत भएको जिल्ला भएको भन्दै उनले विगतका निर्वाचनमा कांग्रेसले जित्ने गरेको, संविधानसभा निर्वाचनमा पार्टीले हार्ने वातावरण आउनुमा किन कमजोरी भयो भन्ने समिक्षा गरेर जानुपर्ने समेत बताए । विभिन्न घटनाक्रमले पार्टी ठूलो र बिजयी बन्नुपर्ने भएपनि हुन नसक्नुमा कहाँ कमजोरी रहेको छ भन्ने अधिवेसनमा गम्भिर छलफल हुनुपर्ने उनको धारणा छ । राजनीतिक आन्दोलनको नेतृत्वसँगै पार्टीले अधिकार प्राप्तीको लडाइमा खेलेको भूमिकाको समिक्षा गरिने, बागलुङलाइ आर्थिक उन्नतीको हव बनाउने योजना उनले ल्याएको बताए । कालीगण्डकी कोरिडोर र मध्यपहाडीको ट्रान्जिट ‘इन्टरपोर्ट ट्रेड’को स्थान भएकोले बागलुङलाइ आर्थिक समृद्धिमा लैजान सकिने देखेको उनले बताए ।
त्यस्तै आफ्नो उमेदवारी प्रति विभिन्न एजेण्डा र दावी प्रस्तुत गरेका छन् । जिल्लाको बामपन्थी जनमतलाई एउटै बाटोमा डोहो¥याउने उनको पहिलो एजेण्डा हुनेछ । सही बाटोमा हिडेको एमालेलेनै जिल्लाको विकास, समृद्धि र विकास तथा सभ्यताको अगुवाइ गर्न सक्ने तथा त्यसको नेतृत्व आँफूले गर्न सक्ने उनले दावी गरे । तयसतै सबै कार्यकर्तालाइ योजनाबद्ध रुपमा उत्पादन, स्वरोजगार र समृद्धिमा लगाउने उनको योजना छ । २१ वटा बिषयगत क्षेत्र बनाएर बैज्ञानिक विन्यास समेत गर्दै उनले घोषणापत्र मार्फत निर्वाचनमा जान लागेको धारणा राखे ।
२०५२ सालमा पार्टीको सदस्यता लिएका केसी विद्यार्थी राजनीतिबाट आएका हुन् । धौलागिरी बहुमुखी क्यामपसको स्ववियु सभापति, अनेरास्ववियुको जिल्ला अध्यक्ष र अञ्चल अध्यक्ष, स्ववियु काउन्सीलको केन्द्रीय उपाध्यक्ष, युवा संघको केन्द्रीय उपाध्यक्ष, पार्टीको जिल्ला उपसचिव र उपाध्यक्ष समेत भैसकेका छन् । उनले आम कार्यकर्ताको मागलाइ सम्बोधन गर्दै जिल्लाको नेतृत्व देखि केन्द्रीय तहमा समेत पहुँच राख्न सक्ने नेतृत्वको रुपमा आँफू उपस्थित हुने उनले बताए ।
डा. सूर्य पाठक :
एमालेको आठौं जिल्ला अधिवेसनको उमेदवारको रुपमा डा. सूर्य पाठकको पनि चर्चा छ । अन्य उमेदवारहरु सबै क्षेत्र नं. १ का भएपनि क्षेत्र नं. २ बाट पाठकको नाम अगाडि आएको छ । विद्यार्थी राजनीतिदेखि आएका पाठक केही समय जापानमा बसेका थिए । शैक्षिक रुपमा पिएचडी सम्म गरेकोले उनलाइ पनि होनाहार नेताको रुपमा लिनेहरु पनि उत्तिकै छन् । जनमतको रुपमा तुलनात्मक कम भएकोले क्षेत्र नं. २ मा पार्टीका कार्यकर्ताको ध्यान कम जान्छ । तर उनले पार्टीलाइ सही नेतृत्व दिन सक्नेगरी अगाडि बढाउन सक्ने बताए । एमालेको प्रवाशी नेपाली मंच जापानको ३ कार्यकाल सम्म संयोजक भएर काम गरेकोले उनले विदेश विभागको पनि अनुभव संगालेको दावी गरे ।
आगामी निर्वाचनमा अध्यक्षको दावेदार भएपनि सर्वसम्मतको पक्षमा रहेको उनले बताए । एक बर्ष भित्रै तीनवटा निर्वाचनमा जानुपर्ने पार्टीले आन्तरिक जीवनमा प्रतिष्पर्धा गर्न नहुने उनको ठहर छ । उनले सर्वसम्मतमा नेतृत्व चयन गर्ने भएकोले दावेदार भएपनि सहमति भएमा छाड्ने गरी अगाडि जाने उनले बताए । सहमतिमा आफ्नै नाम आएमा स्विकार्ने र अन्य कसैको नाममा सहमति भएमा सहर्ष स्विकार्ने पनि उनले बताए ।
‘मंसिरमा पार्टी भित्र गुट उपगुट बनाएर निर्वाचन गर्ने, चैतमा निर्वाचनमा जानेहो भने कार्यकर्तामा भावनात्मक एकता संभव छैन’ उनले भने, ‘राजनीतिक एजेण्डा र पार्टीको भावि रणनीति बनाउने कुरामा धेरै छलफल गरेर नेतृत्वलाइ सर्वसम्मत बनाउने काम गर्न जरुरी छ ।’ उनले बरिष्ठहरुको उचित सम्मान र व्यवस्थापन गर्दै युवाहरुले राजनीतिक नेतृत्व लिनुपर्ने समेत धारणा राखे । २०५१ सालमा पार्टीको सदस्यता लिएका पाठक संविधानसभाको दोश्रो निर्वाचनमा बागलुङ निर्वाचन क्षेत्र नं. २ को उमेदवार थिए । उनलाइ २०४५ सालमा राजकाज अपराध मुद्दा समेत लागेको थियो ।