म्याग्दी, १३ मंसिर – जिल्लाका ग्रामिण भेगमा झण्डै दुई दशकअघि गाडिएका विद्युतका काठेपोल कुहिन थालेपछि स्थानीयवासी दुर्घटना हुनसक्ने भन्दै त्रसित बनेका छन् । जिल्लाका बेनी नगरपालिकाको बगरफाँट, रत्नेचौर, गौश्वारा, फापरखेत, अर्जम, सिंगातातोपानी, पुलाचौर, घतान, तोरीपानी लगाएत बरंजा, भकिम्ली, गासिमा रहेका १ हजार २ सय काठेपोलहरुमध्ये अधिकाँश काठेपोल कुहिन थालेका छन् ।
२०५४ सालमा काठेपोलबाट बिजुली बालिएको सदरमुकाम बेनीबजारसंगै जोडिएको बेनी नगरपालिका वडा नं ४ बगरफाँटमा अहिले सबै पोल कुहिएको अवस्थामा रहेका छन् । हालसम्म पनि पुराना काठेपोल नफेरिदा गाविसवासीहरु जोखिममा परेका हुन् । ‘गाउँभरिका सम्पूर्ण पोलको अवस्था अत्यन्त नाजुक रहेको छ, तारहरु खेतमा छरिएका, रुखमा छोईएका छन्’ स्थानीय नारायण कार्की भने ‘काठेपोलले ज्यानको जोखिम बढाएको छ, सम्बन्धित निकाय उपभोक्ता समितिको लापरवाहीका कारण विद्युत् उपभोगमा समस्या आएको छ ।’
बगरफाँटमा रहेका ६० पोलहरु मध्ये लगभग सबै पोल कुहिएको अवस्थामा रहेका छन् । विद्युत् ल्याउने समयमा नै पोलको उचित व्यवस्थापन नगरी अव्यवस्थित रुपमा पोल गाडिएको र अहिले भाँचिने अवस्थामा पुग्दा पनि विद्युत प्राधिकरण तथा सरोकारवालाले कुनै पहल नगरेको स्थानीयले बताएका छन् ।
‘जिल्लाका विभिन्न ठाउँमा १ हजार २ सय भन्दा बढी काठेपोल रहेका र तिनको अवस्था दयनीय रहेको विद्युत प्राधिकरण म्याग्दीका प्रमुख सिताराम शाहले बताए । प्रमुख शाहका अनुसार अव काठेपोल प्रयोग गर्न नपाइनेभएकोले १/२ वर्ष भित्रमा सबै काठेपोल फेरेर फलामे पोल गाड्ने प्राविधिकरणको योजना रहेको छ । विद्युत्का पोल कुहिएर भाँचिएपछि वनमा रहेका काठ काटेर अस्थायी समस्या समाधान गरिएतापनि वन क्षेत्रको नै नोक्सान हुने खतरा समेत बढेको स्थानीयले बताएका छन् ।
Previous Article२०७३ मंसिर १३ गते सोमबारको राशिफल
Next Article १३ मंसिर २०७३, ढोरपाटन दैनिक