‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा वैदेशिक रोजगार र परिवारको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको हो ।
बेनी नगरपालिका र सामाजिक विकास कार्यालयको समन्वय तथा आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको मिलन म्याग्दी र महिला अधिकार मञ्चले आयोजना गरेका थिए । कार्यक्रममा नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, दिदीबहिनी, सङ्गिनी, मिलन महिला बचत तथा ऋण सहकारी, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दी, सुआहारा दोस्रो कार्यक्रम र ईन्सेक म्याग्दीले सहकार्य गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपमेयर ज्योती लामिछानेले उत्पादनसँग जोडिन सकेमा आर्थिक परनिर्भरता घट्ने हुँदा लैङ्किक हिंसा न्युनीकरण हुने बताउनुभयो । उहाँले आमा समूहलाई भवन निर्माण र भाँडावर्तनलगायत फर्निचर खरिद गर्नुभन्दा सिपमूलक तालिम तथा गोष्ठी सञ्चालनको आवश्यकता रहेको बताउँदै सिपमूलक तालिम लिएर सक्षम उद्यमी र व्यवसायी बन्न सुझाव दिँदैदेशभित्रै स्वरोजगार बन्नुपर्ने उहाँको भनाइ छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले नेपालमा पछिल्लो समय शैक्षिक बेरोजगार बढ्दै गैरहेको हुँदा यसलाई रोक्नका लागि स्थानीय तहले रोजगार सिर्जना गर्नेतर्फ आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । प्रजिअ रानाले वैदेशिक रोजगारको प्रवृत्ति र महिला हिंसा, प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारतीले वैदेशिक रोजगारसम्बन्धी म्याग्दीमा भएका घटनाहरु र सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले लैङ्गिक हिंसाको वर्तमान अवस्थाको विषयमा सहजीकरण गर्नुभएको थियो । मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता र कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला अधिकार मञ्चका जिल्ला अध्यक्ष निरमाया मिजारले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको अवसरमा ‘म हिंसा सहन्न, आफू पनि गर्दिन र देखेमा प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धतासहित व्यानरमा हस्ताक्षर गर्नुका साथै सेतो रिबन वितरण गरिएको थियो । नेपालमा १६ दिने अभियानको सुरुवात वि सं २०५४ सालदेखि भएको पाइन्छ । यस अवधिमा विविध महिलाविरुद्ध हुने हिंसाको सवालमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सहभागी महिलाहरुले आ–आफ्नो धारणा राख्दै योग्यता र क्षमता भएर पनि सरकारी जागिर पाउन सोर्सफोर्स लगाउनुपर्ने, स्वदेशमै रोजगारीको अवसर नपाउनु, राजनीतिक अस्थिरता, गरिबी तथा अशिक्षा, चेतनाको अभावलगायत विभिन्न कारणहरुले गर्दा विदेशिनुपर्ने बाध्यता रहेको अनुभव सुनाउँदै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता धर्मराज पौडेलले वैदेशिक रोजगार र यसले समाजमा पारेका हिंसाजन्य प्रभाव एवं घर परिवारको भूमिकासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।