बाँकी सिट माओवादी केन्द्र (१७ जित १ अग्रता), एकीकृत समाजवादी (१० जित), राष्ट्रिय स्वतन्त्र पार्टी (७ सिट १ अग्रता), राष्ट्रिय प्रजातन्त्र पार्टी (७ जित), जनता समाजवादी पार्टी (५ जित), लोकतान्त्रिक समाजवादी पार्टी (४ जित), नागरिक उन्मुक्ति पार्टी (४ जित) लगायतले जितेका छन् ।
बाजुराको बुढीनन्दामा शनिबार पुनः मतदान भएको छ भने स्याङ्जा–२ र दोलखामा पनि विवाद भएकाले मतगणना भएको छैन । यी तीन क्षेत्रको नतिजाले कांग्रेस वा एमाले को ठूलो भन्नेमा फरक पार्ने छैन । कुनै पनि दलको एकल बहुमत नपुग्ने निश्चित भएकाले अब संयुक्त सरकार बन्नेछ ।
करिअरकै प्रतिकुल चुनाव
सत्ता गठबन्धनविरुद्ध एमालेले ल्याएको सिट संख्या उपाध्यक्ष ज्ञवालीकै भनाइ जस्तो चानचुने होइन । किनकि यसपटक एमालेले चार कारणले आफ्नो राजनीतिक करिअरकै प्रतिकुल चुनाव लडेको थियो ।
पहिलो, पार्टी विभाजनको चोट लिएर चुनावमा भाग लिएको थियो । पार्टीकै संस्थापक माधवकुमार नेपाल, झलनाथ खनालसहित ठूलो संख्याका नेताले एमाले छोडेका थिए । ती नेताहरुले २ भदौ २०७८ मा गठन गरेको एकीकृत समाजवादी एमालेविरुद्धकै गठबन्धनमा थियो ।
हुन त ०५६ को चुनावमा पनि एमाले विभाजनकै चोटसहित सहभागी थियो । तर त्यसबेला गठबन्धनको संस्कृति नभएकाले विभाजनबाट बनेको मालेले एकल प्रतिस्पर्धा गरेको थियो ।
यसपटक भने एकीकृत समाजवादीले एमालेविरुद्धकै मोर्चाबाट चुनाव लड्यो । एमालेले खराब नतिजा निकालेको सुदूरपश्चिममा राम्रो नतिजा निकाल्नुले पनि विभाजनको असर पुष्टि हुन्छ ।
दोस्रो, बलियो सत्ता गठबन्धन एमालेका निम्ति सजिलो थिएन । ०७४ मा वाम गठबन्धन हुँदा कांग्रेसलाई राप्रपाले साथ दिएको थियो । तर यसपटक त्यही राप्रपासँग समेत एमालेले देशब्यापी तालमेल गर्न सकेन । झापा, रुपन्देही र बाँकेमा मात्रै तालमेल भयो ।
जसपासँग तराई–मधेशका १४ जिल्लामा मात्रै तालमेल भयो । सानै भएपनि राप्रपा र जसपा देशव्यापी संगठन भएको पार्टी थियो । अझ ०७४ मा राष्ट्रिय जनमोर्चालाई साथमा लिएर एमाले र माओवादी केन्द्रको मात्रै गठबन्धन थियो । यसपटक एमालेविरुद्ध पाँच दल मिलेको थियो ।
एमालेका निम्ति तेस्रो प्रतिकुलता भनेको यसपटक पार्टीप्रतिको आकर्षण घटेको थियो । भारतीय नाकाबन्दीविरुद्ध उभिएको जस लिएर ०७४ को चुनावमा ओली र एमालेको आकर्षण उच्च थियो । सामाजिक काम गरेर चर्चा कमाएको तत्कालीन साझा विवेकशीललाई माथ दिनेगरी त्यसबेला ओलीको आकर्षण देखिएको थियो ।
तर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको अप्रत्यासित उदय हुनुले पनि आकर्षण रवि लामिछानेतिर सरेको पुष्टि हुन्छ । पार्टी गठनको पाँच महिनाभित्रै यो पार्टीले प्रत्यक्षतर्फ काठमाडौंको १० मध्ये ४ सिट जित्नुको अर्थ लामिछानेको आकर्षण धेरै हुनु नै हो ।
स्थानीय चुनावमा काठमाडौं महानगर, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका जस्ता शहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवारले जितेर पुराना कुनै पनि दलप्रति आकर्षण नरहेको संकेत मिलिसकेको थियो ।
यो बुझेरै ओलीले र्याप गीतमा प्रचार सामग्री बनाउनु, मध्यरात एलओडी जानेदेखि प्रविधिमैत्री बन्ने प्रयत्न गरेका थिए । तर पनि नयाँ र गैरदलीय मतदाता तान्न सकेनन् । ठूलो जनसंख्या रहेको राजधानी शहर काठमाडौंमा समानुपातिक तर्फ त एमाले तेस्रोमा धकेलिएको छ । यसको कारण भने सरकारमा हुँदा ओलीले जनभावनाअनुसार काम गर्न नसकेको मतदाताको बुझाइ नै हो ।
कमजोर राजनीतिक एजेण्डा एमालेको चौथो प्रतिकुलता थियो । ०७४ को चुनावबाट झण्डै दुई तिहाइ नजिकको बहुमत पाएपनि ओलीले प्रधानमन्त्रीको हैसियतमा तीन वर्ष नपुग्दै ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णय गरेका थिए । त्यही निर्णयका कारण तत्कालीन नेकपा विभाजित हुन पुगेको थियो भने नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने आधार तयार भएको थियो ।
कोरोना महामारीको संकटमा नागरिकको जीवनरक्षा गर्न छोडेर ओलीले असंवैधानिक कदम चाल्दै मध्यावधि चुनावमा जोड दिएको विषयलाई एमालेले चिर्न सकेको थिएन । नेकपाको कलहकै कारण प्रतिनिधिसभा विघटन गर्नु बाध्यात्मक कदम भनेर एमाले नेताहरुले दिएको प्रष्टोक्तिमा नागरिकले चित्त बुझाएका थिएनन् ।
यति हुँदाहुँदै पनि एमाले, कांग्रेसकै हाराहारीको शक्ति बनेको छ । ०७४ को चुनावभन्दा झण्डै आधा सिट गुमाए पनि शनिबारसम्म कांग्रेस भन्दा एमाले १२ सिटले मात्रै पछाडि छ । जबकी ०७४ मा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै जितेको थियो ।
जारी मत गणनामा समानुपातिकतर्फ त एमाले अग्रता कायमै छ । मधेशबाहेक बाँकी ६ प्रदेशमा पनि समानुपातिकतर्फ एमाले अगाडि छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, प्रतिकुल अवस्थामा पनि लोकप्रिय मत पाउनुमा तीन कारण रहेको बताउँछन् । ‘बोल्ड नेतृत्व, सशक्त संगठन र विभाजनको मनोविज्ञान चिर्न सक्नु हाम्रो सफलता हो’, रिजाल भन्छन् । उनी नेतृत्वलाई पहिलो फ्याक्टर मान्छन् ।
चुनावमा कार्यकर्ताको मनोबल उच्च हुनेगरी सार्वजनिक अभिव्यक्ति दिनु, सत्ता गठबन्धन नेताहरुलाई लगातार ललकार्न सक्नु, तर त्यसको जवाफ दिने हैसियतमा गठबन्धनका नेताहरु नहुँदा एमालेले धेरै मत ल्याएको रिजालको तर्क छ ।
तर मजबुत संगठन र इमान्दार कार्यकर्ता नै एमालेले यो तहको सफलता ल्याउनुको मुख्य कारण देखिन्छ । किनकि पपुलर मत रवि लामिछानेतिर गएको थुप्रै ठाउँमा एमाले उम्मेदवारले संगठनको मत पाएका छन् । चुनाव नजिते पनि निकटतम प्रतिद्वन्द्वी भएको छ । समानुपातिकतर्फ लामिछानेको पार्टीले माओवादीकै हाराहारीमा मत ल्याउँदा एमाले सबैभन्दा अगाडि देखिनुले पनि त्यो पुष्टि हुन्छ ।
यसबाहेक पार्टी विभाजनपछि पनि एमाले नै पहिलो कम्युनिष्ट पार्टी बन्दैछ भन्ने मनोविज्ञानले काम गरेको छ । गत स्थानीय चुनावको परिणामले त्यस्तो मनोविज्ञान बनाउन सहयोग गरेको थियो । ०७४ मा जितेको ८८ पालिका यसपटक गुमाए पनि २०६ पालिका जित्दै एमाले दोस्रो शक्ति बनेको थियो । ‘त्यही चुनावपछि हामीले विभाजनको मनोविज्ञान चिर्ने काम गर्यौं, त्यसको प्रतिफल अहिले आएको हो’, रिजाल भन्छन् ।
एमालेले सत्ता दाबी गर्न सक्ने सिट ल्याएपछि अध्यक्ष ओलीले त सरकार निर्माणकै संकेत दिइसकेका छन् । मत गणनाकै क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर छलफलको प्रस्ताव गरेका छन् । एमाले उपाध्यक्ष ज्ञवाली पनि चुनावी नतिजाले एमालेलाई मुलुककै नेतृत्व गर्ने जनादेश दिएको बताउँछन् ।
‘यो चुनावको नतिजाले हामीलाई फेरि पनि मुलुकको नेतृत्व गर्ने शक्ति बनाएको छ’ ज्ञवाली भन्छन्, ‘सकेसम्म कम्युनिस्टहरु मिलेर सरकार बनाउनुपर्छ । नत्र प्रगतिशील शक्तिको साथ लिएर भएपनि एमालेले सरकार बनाउनुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ ।’अनलाइनखबरका लागि सइन्द्र राइले तयार पारेको सामग्री साभार गरिएको छ सम्पादक