अमृत बास्कुने
अहिले विश्वभर मार्सल आर्टका खेलहरुको निकै लगाब देखिन्छ । आत्मरक्षाका लागि विश्वमा अलिक बढी चलेका भनिने मार्सलआर्ट खेलहरु जापान, कोरिया, चीनबाट बाहिर आएका छन् । तिनै खेलहरु मध्ये मार्सलआर्टकै एक बिधा क्योकुसिन कराँते खेललाई पहिलो पटक नेपालमा सर्वसाधारणको पहुँच सम्म पु¥याउने काम गरेका थिए म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका जगतप्रसाद गौचनले । कराँतेको नवौं डान ब्लाक बेल्ड गौचन आफ्नो खेल जीवनमा नेपालकालागि सफल मध्येको मानिन्छन् । नेपालका लागि एसिया स्तरको खेलकुदमा कुनै पनि प्रतियोगिता र बिधामा पहिलो र एक मात्रै स्वर्ण पदक दिएका थिए जगत गौचनले । नेपालले प्राप्त गरेको अहिले सम्मकै सबै भन्दा उत्कृष्ट खेलकुदको पदक नै जगतले प्राप्त गरेको एसियन स्वर्ण हो ।
गौचनले वि.सं. २०३९ सालमा पहिलो पटक सर्वसाधारणका लागि मार्सलआर्ट सिकाउन थालेका थिए । जगत भन्छन् ‘तत्कालिन धिरेन्द्र सरकार सँग कुरा गरेर राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गरेरै मैले दशरथ रंङ्गशालामा खेलाडीहरुलाई प्रशिक्षण गराउन थालेको हुँ ।’ तत्कालिन अधिराजकुमार धिरेन्द्र शाह संगको सामिप्यताले गर्दा उनलाई सर्वसाधारणका लागि खेलकुद व्यवस्था गर्न सहज भएको थियो ।
म्यग्दीमा जन्मेर मार्सल आर्टमा निकै राम्रो दख्खल राख्ने गौचनले हजारौं खेलाडीहरुलाई प्रशिक्षण दिएका छन् । आफै पनि निकै अब्बल खेलाडी हुन् भन्ने तथ्य उसियन खेलमा स्वर्ण पदक जितेको अवस्थाले पनि देखाउँछ । औपचारीक अनौपचारीक निकै प्रतियोगिताहरुमा सहभागिता जनाएका गौचनले नेपाललाई एसिया स्तरको खेलकुदमा पहिलो पटक स्वर्णपदक दिलाउनु नै सँधैका लागि सफलता थियो भन्नु पर्छ । सन १९८२ को अल एसियन फुलकन्ट्याक कराँते च्याम्पियनसिपमा स्वर्णपदक नेपालले जितेको थियो र त्यही पदक नै अहिले सम्मको उत्कृष्ट पदक हो ।
२०३९ साल सम्म नेपाली सेना तथा नेपाल प्रहरीले मात्र मार्सल आर्टको तालिम लिने गरेको भएपनि तत्कालिन अधिराजकुमार धिरेन्द्र शाह सँगको समन्वय र अनुमतिमा क्योकुसिन कराँते सर्वसाधारणहरुका लागि पनि प्रशिक्षण गौचनले शुरु गरेका थिए । नेपालमा मार्सलआर्ट भित्रीएको भएपनि आम सर्वसाधारणका लागि भने जगत गौचनले नै भिœयाएको ठान्छन् ।
गौचनको सन १९७९ को दोश्रो विश्व च्याम्पियनसिपमा भएको सहभागिता अफिसियल खेलकुदको पहिलो अन्तराष्ट्रिय सहभागिता थियो । त्यस्तै उनले १९८३ को विश्व च्याम्पियन सिपमा सहभागि हुँदै प्रि–क्वाटर फाइनल सम्म पुगेका थिए । उक्त प्रतियोगितामा एसियाली देशबाट जगत गौचनले मात्रै प्रि–क्वाटर फाइनल सम्मको यात्रा गरेका थिए । सन १९८४ को एसियन च्याम्पीयनसिप पछि गौचनले औपचारीक खेलमा सहभागिता जनाएनन ।
मार्सलआर्टका प्रशिक्षकहरुले आफ्नो कलालाई निखार्दै नयाँ स्टाइलका खेलहरु पनि निकाल्ने गर्दछन् । त्यस्तै नयाँ स्टाइलमा गौचनले पनि ‘बज्र’ मार्सल आर्ट शुरु गरेका छन् । गौचन भन्छन् –‘मैले चार वर्ष अगाडी राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय मार्सलआर्ट फेडेरेसनमा दर्ता गराएर यसको कपिराइट शुरक्षीत गरेको छु ।’ उनी अहिले बर्ज मार्सलआर्ट विस्तारका लागि नै लागेको बताउँछन् । बज्र मार्सल आर्ट नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा शुरु भै सकेको छ । अब गौचनको नजर विश्वभर आफ्नो खेल विस्तार गर्ने छ । गौचन भन्छन् –‘बज्र गेम नयाँ र सबैभन्दा बैज्ञानिक एवम् प्रभावशाली मार्सलआर्ट हो र यसको संस्थापक म नै हो ।’ अबको दिनमा बज्रलाई नै प्रभावकारी तबरले अगाडी बढाउने योजनालाइ मुर्त रुप दिने तर्फ मेरो ध्यान जाने छ ।