नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा सञ्चालित चुनावलक्षित मतदाता भेटघाट र घरदैलो अभियान जारीरहेको छ । यसैक्रममा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर हिँजो (सोमबार) अन्नपूर्ण गाउँपलिका–५ र ६ नम्बर वडाको विभिन्न वस्तीमा कार्यक्रम गरिएको हो ।
अन्नपूर्ण–५, शिख, चित्रे, घराम्दी, ६ नम्बर वडा घोरेपानी र खिबाङमा मतदाता भेटघाट तथा घरदैलो अभियान गरिएको एमाले म्याग्दीले जनाएको छ । कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारसहित एमालेको निर्वाचन परिचालन टोलीले घरदैलो र मतदाता भेटघाट गरेको थियो । घरदैलो अभियानमा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले मतदातालाई भेटेर समृद्धि र विकासका लागि एमालेलाई भोट दिएर जिताउनुपर्ने बताए ।
एमाले म्याग्दीबाट प्रतिनिधिसभाका उम्मेदवार गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले समग्र जिल्लाको विकासका लागि आफू उम्मेदवार बनेको बताउँदै एमालेको पक्षमा मतदान गर्न मतदातासमक्ष अपिल गरेका छन् । प्रदेशसभा (क)का उम्मेदवार एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्रीले जिल्लाको विकासमा विभिन्न योजनासहित बजेट परिचालनका लागि एमाले उम्मेदवारलाई सुर्य चिह्नमा मतदान गरी जिताउनुपर्ने बताए । उक्त मतदाता भेटघाट तथा घरदैलो अभियान कार्यक्रममा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनबहादुर पूर्जासहितको स्थानीय नेता तथा कार्यकर्ताहरुको टोली सहभागी रहेको थियो ।
यसैगरी प्रदेश सभा (ख)मा पनि एमाले उम्मेदवारसहितको एक टोलीले मालिका गाउँपालिका–३, रुम डाँडागाउँ र धवलागिरि–७, सिबाङ, मच्छिम तथा मुनाको दर गाउँमा पुगेर मतदाता भेटघाट तथा घरदैलो अभियान गरेको जनाएको छ । मतदातालाई भेटेर एमाले उम्मेदवार यामबहादुर गर्बुजाले आफू र एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।