‘कापी कलम समाएर स्कूल जाने बेला माओवादीले ‘कि धन देऊ कि जन’ भनेपछि धन दिन नसकेर बाउले माओवादीमा पठाए । सर्बहारा वर्गको मुक्तिका लागि भन्दै ज्यान बाजी राखेर लडियो । तरबारको धारमा जीवन राखेर प्रचण्डहरुलाई जोगाउँन हिंडियो, लडियो । आज हामीले लडाईं लडेर नेता प्रधानमन्त्री बनाएका प्रचण्डहरुले नै हामीलाई देशको अयोग्य लडाकू बनाएका छन् । र, मझधारमा ल्याएर अलपत्र छाडिदिएका छन् । अब तिनै पहिला जोगाउँन लडेका प्रचण्डविरुद्ध नै बन्दुक बोक्न नपरोस् ! किनकि, हामीलाई सिकाएको पनि त्यहीं हो ।’
गुनासो र पीडा मिश्रित यो आवाजको श्याम राईको । जो १० वर्षअघिसम्म सर्वहारा वर्गको सत्ता स्थापना गर्ने भन्दै तत्कालिन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा सहभागी थिए । युद्धको क्रममा माओवादीले कि धन कि जन भनेर जबरजस्ती गरेपछि उनको परिवारले धन दिन सकेन र आफ्नो हुर्किएको छोरालाई माओवादीमा पठाए । १० लाख रुपियाँसँग दाँजिएको उनको ज्यान द्वन्द्वको भुमरीमा फस्यो । कापी कलम समाएर विद्यालय जाने बेला, बन्दुक बोकेर जंगल पस्न वाध्य भए । द्वन्द्व कालमा ज्यान बाजी राखेर धेरैवटा लडाई लडे ।
अन्ततः २०६३ साल मंसिर पाँच गते बृहत शान्ति सम्झौता भयो । माओवादीले संचालन गरेको सशस्त्र द्वन्द्व औपचारिक रुपमा सकियो । २०६२÷६३ को जनआन्दोलनको नतिजा स्वरुप देशमा गणतन्त्र आयो । संविधानसभाको निर्वाचन भयो । संविधानसभाबाट संविधान जारी भयो । तर, त्यतिबेला ज्यान बाजी राखेर लडाई लडेका लडाकूहरु अहिले आफूलाई पार्टीले बिचल्ली बनाएको भन्दै निरन्तर संघर्ष गरिरहेका छन् । शान्ति सम्झौताकै आधारमा सेना समायोजन भयो, तर ४ हजार ८ जना लडाकूलाई अयोग्य भएको भन्दै घर फर्काइयो । तर, उनीहरु न राम्रोसँग समाजमा पुनस्र्थापित हुन सकेका छन् न आफ्नै दैनिक जीवन नै सहज ढंगमा अघि बढाउन सकिरहेका छन् । उनीहरुको दैनिकी अहिले जर्जर छ ।
उनीहरु युद्ध लड्न योग्य भए, पुष्पकमल दाहाललगायतलाई नेता बनाउँन योग्य भए, आफ्ना नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउँन योग्य भए । तर उनीहरुलाई संयुक्त राष्ट्रसंघले अयोग्य प्रमाणित गरिदियो । उनीहरुले नेता बनाएका ः पुष्पकमल दाहाल दुई पटक देशमा प्रधानमन्त्री भइसके । बाबुराम भट्टराई पनि प्रधानमन्त्री भए । उनीहरुसँगै एउटै मोर्चामा युद्ध लडेकाहरुको जीवनस्तर कहाँबाट कहाँ पुगिसक्यो । तर उनीहरु भने देशमा राम्रोसँग बाँच्न पाउँनु पर्यो भन्दै आन्दोलन गरिरहेका छन् । आफ्नै पार्टी कार्यालय घेरिरहेका छन् । अनि, आफ्नै नेताबाट गिरफ्तार भइरहेका छन् ।
पढ्ने उमेरमा बन्दुक समाएका उनीहरुका हात अहिले खाली छन् । अर्थात् उनीहरु बेरोजगार छन् । समाजमा स्थापित हुन खोजिरहेका छन् । तर, आफ्ना नेता र राज्यले अझै बेवास्ता गरिरहे आफूले सिकेको काम बन्दुक बनाउँने र पड्काउने गर्न नपरोस् भनिरहेका छन् ।
उनीहरुको आँखामा आक्रोशको ज्वाला छ । मनमा पीडाको लाभा छ । यो कुनै पनि बेला विस्फोट हुन सक्ने खतरा छ । त्यसैले उनीहरु आफूले पहरा दिएर बँचाएका नेताहरुप्रति यसरी आक्रोशपूर्ण अभिव्यक्ति दिइरहेका छन् । उनीहरु आफूलाई बालसेनाका रुपमा प्रयोग गरेको भन्दै प्रचण्ड बिरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेका छन् ।
यी केही प्रतिनिधि पीडा र आक्रोश मात्रै हुन् । माओवादी द्वन्द्वका कारण समाजमा लागेको घाउ अझै निको हुन सकेको छैन, झन् विसाउँदो क्रममा छ । ४ हजार भन्दा बढी बर्हिगमित पूर्वलडाकु मात्रै होइन, द्वन्द्वकालमा भएको विभिन्न जघन्य अपराधका श्रृङ्खलाहरु क्रमशः सतहमा आउँदै छ । द्वन्द्वकालका घटना छानविन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगको काम सुस्त गतिमा अघि बढिरहेको छ । जसबाट त्रसित छ, तत्कालीन विद्रोही र अहिले सरकारको नेतृत्व गरिरहेको दल, नेकपा माओवादी केन्द्र ।
मुलुकमा आमुल परिवर्तन गर्न भनेर हिंसात्मक राजनीति गरेको माओवादी पटकपटक चोइटिइ सकेको छ । उसले न आफ्ना कार्यकर्तालाई खुसी बनाउन सक्यो, न नागरिकलाई । शान्ति सम्झौताको दश वर्षमा ९ पटक सरकार परिवर्तन भयो । तीन वटा सरकार माओवादीको नेतृत्वमा बन्यो । तर, देशको स्थिति उस्तै छ । पीडा उस्तै छ ।
माओवादीले गणतन्त्र आउनु, संविधान बन्नु, मुलुक धर्म निरपेक्ष हुनुलाई आफ्नो युद्धको महत्वपूर्ण उपलब्धी मानेको छ । तर नागरिकले व्यवस्था होइन, अवस्था परिवर्तन चाहेका थिए । जुनः झन् दर्दनाक बनेको छ ।
लडाकू आफ्ना नेतासँग प्रश्न गरिरहेका छन्, १० औं हजार नागरिकले ज्यानको आहूती दिएको आन्दोलनको उपलब्धी के ? नेताहरु प्रधानमन्त्री र मन्त्रीहरु बन्नु नै उपलब्धी हो ? हज्जारौं घाइतेको चित्कार तपाईंहरुले सुन्नु पर्छ कि पर्दैन ? बेपत्ता नागरिकको आँखामा बगेको आँसु कसले पुछिदिन्छ ? कलिला हातहरुमा बन्दुक बोकाएर मझधारमा ल्याएर छाडिदिएका लडाकूको जीवनको ग्यारेण्टी कसले लिन्छ ? देशलाई अर्बौ अर्ब घाटा लगाएर गरेको आन्दोलनको क्षतिपूर्ति कसले दिन्छ ? के गफ गरेर मात्रै, भाषण ठाकेर मात्रै देशमा परिवर्तन सम्भव छ ? अहिले नगरे कहिले गर्ने ? कसले गर्ने ? कसरी गर्ने ?
यस्ता थुप्रै प्रश्नहरु छन्, माओवादीका पूर्वलडाकूसँगै आमनागरिकको । तर, माओवादी नेतृत्व गैरजिम्मेवार भएको कार्यकर्ताको आरोप छ । माओवादी हिंसाले देशलाई क्षतिबाहेक के गर्यो ? भन्ने प्रश्न गरिरहेका छन् । शान्ति प्रक्रियाका कतिपय काम अझै सकिएको छैन भने द्वन्द्वकालमा भत्काईका संरचनाहरु अझै पनि बन्न सकेको छैन ।
प्रचण्ड कमरेड, तपाईंविरुद्ध बन्दुक उठाउन नपरोस् !
Previous Articleराजधानीको राजनीतिक बाताबरणमा गर्मी बढ्न शुरु
Next Article संशोधनको सदन र सडकबाट प्रतिवाद गर्ने एमाले निर्णय