बागलुङ, १० मंसिर – जिल्लाको दुर्गम गाउँका आमाहरुलाई साक्षर बनाउन फेसवुकबाट सुरु गरिएको आर्थिक अभियानमा ८५ हजार जुटेको छ । खाडी मुलुकबाट मात्रै ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । गाविस भित्रका ८० जना आमाहरुलाई साक्षर बनाउन जिल्लाको अधिकारचौरमा रहेको ग्रामिण विकास मञ्चले सुरु गरेको आमा शिक्षा कार्यक्रमलाई रकम जुटाउन गत आईतवारदेखि फेसवुक अभियान सुरु गरेको थियो ।
अभियानका लागि सहयोग गर्ने क्रम तिब्र रहेको अभियान्तहरुले बताएका छन् । ‘हाम्रो पनि समाजिक उत्तरदायित्व’ भन्ने उदेश्य सहित सामाजिक सञ्जालमा चलार्ईको अभियान प्रति सहयोगदाताले खुसीका साथ सहयोग गरेका छन् । स्रोत जुटाउन स्थानिय रुपमा गाविस र आसपास, खाडी मुलक र युरोपमा समिति नै गठन गरेर फेसवुक अभियान सुरु गरिएकोमा अहिलेसम्म २७ जना दाताबाट ८५ हजार रुपैयाँ सहयोग प्राप्त भएको मञ्चका अध्यक्ष उमेश बुढाले जानकारी दिए ।
बुढाले भने, ‘गत बर्षदेखि नै कार्यक्रम सुरु गरेका थियौँ, आर्थिक अभाव भएपछि निरन्तरता दिन सकिएन ।’ अगाडि उनले भने, ‘हाम्रो पनि दायित्व भन्ने उद्घोष सहित सामाजिक सञ्जालमा आर्थिक अभियान चलाएका छौँ, सहयोग निरन्तर आईरहेको छ ।’ सहयोगदाताले ५ सय रुपैयाँदेखि ११ हजारसम्म सहयोग प्रदान गरेका छन् । अहिलेसम्म सवैभन्दा धेरै बोङ्गादोभान घरभई रोजगारीको शिलशिलामा नेदरल्याण्डमा रहेका बालकुमार बुढामागरले ११ हजार २ सय रुपैयाँ सहयोग गरेका छन् । बुढाले समाजिक सञ्जाल फेसवुक मार्फत सुरु गरिएको सहयोग संकलन समिति युरोपको संयोजक भएर युरोपमै अभियान चलाउँदै आएका छन् । अभियानमा काम शिशिलामा प्रवास पुगेका स्थानियबाट धेरै सहयोग प्राप्त भएको छ ।
आर्थिक अभाव, सचेतनामा कमि जस्ता कारणले आफुहरुले पढ्न नपाएर विदेशिनु परेको भन्दै बालवालिकालाई शिक्षित बनाउन पहिला आमाहरुलाई साक्षर बनाउनुपर्ने भन्दै उनिहरुले सहयोग गरेका छन् । फेसबुक अभियान खाडी मुलकका संयोजक पिताम्बर पाण्डेले भने, ‘यहाँका साथीहरुबाट भोली सन्तति पनि विदेशिनु पर्ने बाध्यतालाई हटाउन आमा शिक्षा कार्याक्रमले सहयोग गरोस् भन्ने चाहन राखेर सहयोग गरेका छन् ।’ सहयोग प्रदान गर्ने दातालाई फेसवुकमा नाम, ठेगान, फोटो सहित सहयोग रकम प्रकाशन गरेर प्रवद्र्धन गर्ने गरिएको छ । कुनैपनि अनुदान विना आफै स्रोत जुटाएर पहिलो चारण अधिकारीचौरका ४ ठाउँमा पुस दोस्रो सातादेखि साक्षरता कक्षा सञ्चालन गर्न लागिएको छ ।
गाविस भित्र रहेका २०० निरक्षर आमालाई साक्षर बनाउने योजना रहेपनि बजेट अधावले पहिलो चारणमा ८० जनाका लागि कार्यक्रम गरिने मञ्चका सचिव प्रशान्त घर्तीले जानकारी दिए । मञ्चले यहि मंसिर दोस्रो सातादेखि ‘शिक्षित आमा शिक्षित सन्तान’ रेडियो कार्यक्रम उत्पादन गरि रेडियोबाट प्रसारण गर्ने तयारी गरेको छ । कार्यक्रम रेडियो बुर्तिबाङ र सामुदायिक रेडियो परिवर्तनबाट प्रसारण गरिने मञ्चका अध्यक्ष उमेश बुढाले जानकारी दिएका छन् ।
Previous Articleराङखानीलाई जैमुनीमा राख्नु पर्ने माग
Next Article नगरको बसपार्क सांघुरिदै