काठमाडौं, १० मंसिर – सरकारले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गर्ने गरी अन्तिम गृहकार्य अघि बढाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकारले आज मन्त्रिपरिषद्बाट संशोधन विधेयक पारित गरी संसद् सचिवालयमा दर्ता गर्ने तयारी अन्तिम चरणमा पु¥याएको आजको राजधानी दैनिकमा खबर छापिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले संविधान संशोधनको निर्णय लिन आज शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी दिएको छ । प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले संशोधन दर्ता चाँडै हुने बताए । ‘यही दिन हुन्छ त नभनौं, तर अन्तिम चरणमा पुगेको छ, प्रस्ताव दर्तामा जान्छ । त्यसपछि सबै दलहरूसँग सहमतिका लागि छलफल अघि बढ्नेछ,’ सल्लाहकार दाहालले भने ।
प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव दर्ता गर्नुअघि बिहीबार प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बुधबार मधेसी मोर्चासँग पनि संविधान संशोधनका विषयमा छलफल गरेका थिए । सो क्रममा मोर्चाले सरकारलाई संशोधन प्रस्ताव दर्ता गर्न सुझाएपछि सरकारले आज बस्ने मन्त्रिपरिषद् बैठकमा संशोधन विधेयक पारित गर्ने योजना बनाएको हो । यद्यपि, एमालेले संशोधन राष्ट्रघाती भन्दै दर्ता नगर्न आग्रह गरेको छ ।
कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयक दर्ताको विषयमा अन्तिम गृहकार्य भइरहेकाले चाँडै दर्ता हुने बताए । सरकारले सीमांकन हेरफेर, नागरिकता, भाषा र राष्ट्रियसभाका विषयमा संविधानमा संशोधन गर्न लागेको हो । सरकारले सीमांकनको विषयमा प्रदेश नम्बर ५ का गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान र रोल्पालाई प्रदेश नम्बर ४ र ६ मा मिलाएर सीमांकन हेरफेर गर्ने गरी प्रस्ताव तयार पारेको छ ।
सो प्रस्तावमा माओवादी केन्द्र र कांग्रेसबाटै चर्को विरोध भएको छ । सत्तारूढ दलको विरोधकै बाबजुद सरकारले अन्तिम विकल्प नै प्रदेश–५ का जिल्लाहरूको हेरफेर मात्र रहेको भन्दै पाँचवटा जिल्लाको हेरफेर गर्नेसहितको प्रस्ताव दर्ता गर्न लागेको हो । प्रदेश–५ सीमांकनको विषयमा कुनै विवाद नरहे पनि तराई र पहाडका जिल्ला अलग पार्न लागिएको हो । प्रधानमन्त्री दाहाल निकटका नेता वर्षमान पुनले बिहीबार मात्रै रुपन्देही पुगेर ५ नम्बर प्रदेशको सीमांकन हेरफेर प्रस्ताव बाध्यता भएको प्रस्टीकरण दिएका छन् । राजधानी
Previous Articleमहिला हिंसाविरुद्ध जागरण र कानुनी कारबाहीमा जोड
Next Article लाइसेन्सको फारम लिन मध्यरातदेखि लाइनमा