काठमाडौ, १० मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकीछिन ।
जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिला परिवार, समाज र राज्यमा बराबर हिस्सा राख्ने सम्मान र प्रतिष्ठाका हकदार हुन् तर बोक्सीको आरोप, दाइजोको लेनदेन, छाउपडी जस्ता कुप्रथा कानुनले निषेध गरिसक्दा समेत अन्धविश्वास र चेतनाको कमीले गर्दा अहिले पनि हाम्रो समाजमा उनीहरू हिंसा, विभेद, अपमान र पीडा खप्न बाध्य छन् भन्दै राष्ट्रपतिले समाजमा व्याप्त अन्धविश्वास, रुढी र कुसंस्कारलाई अन्त्य गर्न चेतना र जागरण फैलाउनुपर्ने र महिलाविरुद्ध हिंसा गर्नेलाई कानुनी कारबाही गर्न राज्य संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिएकी छिन ।
सामाजिक रूपमा समेत महिला हिंसालाई निषेध र निरुत्साहन गरी उनीहरुविरुद्ध हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसले मर्यादित समाज निर्माण गर्न सबैमा उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गरेकीछिन ।