बागलुङ, ९ मंसिर – नेपाल फिफा विश्व वरीयता क्रममा पाँच स्थान माथि उक्लेको छ । अघिल्लो साता मलेसियाको कुचिङमा सम्पन्न एएफसी सोलिडारिटी कप जितेपछि नेपालको वरीयतामा सुधार आएको हो ।
टिमोर लेस्टेसँग पहिलो खेल गोलरहित बराबरी खेलेको नेपालले त्यसपछि समूह चरणको अर्को खेलमा ब्रुनाईलाई ३–० ले पराजित गरेको थियो । सेमिफाइनलमा नेपालले लाओसमाथि पेनाल्टी सुटआउटमा जित हात पारेको थियो । तर वरीयतामा त्यसलाई निर्धारित ९० मिनेटको खेलको नतिजाका आधारमा बराबरी मानिन्छ ।
फाइनलमा नेपालले मकाउलाई १–० ले पराजित गरेको थियो । टिमोर लेस्टे १ सय ९१, ब्रुनाई १ सय ९०, लाओस १ सय ६७ र मकाउ १ सय ८४ स्थानमा छन् । दक्षिण एसियाली राष्ट्रहरूमा भारत १ सय ३७, अफगानिस्तान १ सय ४७, माल्दिभ्स १ सय ५४, भुटान १ सय ७६, बंगलादेश १ सय ८३, श्रीलंका १ सय ९५, पाकिस्तान १ सय ९७ औं स्थानमा छन् ।
अर्जेन्टिना शीर्षस्थानमा यथावत् छ । विश्वकप छनोटमा प्रभावशाली प्रदर्शन गर्दै आएको ब्राजिल दोस्रो स्थानमा छ । जर्मनी तेस्रो स्थानमा झरेको छ । चिली, बेल्जियम, कोलम्बिया, फ्रान्स, पोर्चुगल, उरुग्वे र स्पेन क्रमश: चौथो देखि १० औं स्थानमा छन् ।
Previous Articleम्याग्दीमा चालकसहित जीप बेपत्ता
Next Article सानिया बानु,जसले भेटाएको सुनको सिक्री फिर्ता दिइन्