हिमाली जिल्ला म्याग्दीमा फोटो पत्रकार महासंघको जिल्ला शाखा गठन भएको छ । जिल्लामा क्रियाशील फोटो पत्रकार तथा सञ्चारकर्मीहरुको भेलाले अग्रज पत्रकार अमर बानियाँको अध्यक्षतामा फोटो पत्रकार महासंघको म्याग्दी शाखा गठन गरेको हो ।
समितिको उपाध्यक्षमा नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, सचिवमा प्रताप बानियाँ र कोषाध्यक्षमा पवित्रा खत्री चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा भूपेन बानियाँ, किरण कार्की, कर्णबहादुर खत्री, देवी जिसी, बामदेव रिजाल, अनुप बानियाँ र धनिलाल गर्बुजा रहनुभएको छ ।
प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै फोटो पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष मञ्जिल शाक्यले धेरै लामो समयको प्रयासपछि म्याग्दीमा फोटो पत्रकार महासंघको शाखा गठन गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले क्रियाशील पत्रकारले फोटो खिचाइमा ध्यान नदिँदा फोटो बिग्रिएर आउने बताउँदै व्यावसायिक पत्रकार तथा फोटोग्राफर बन्नका लागि कसरी हुन्छ राम्रो फोटो खिच्ने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा महासंघको शाखामार्फत जिल्लामा फोटो पत्रकारिताको विकास गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले म्याग्दीमा पत्रकारिता सँगसँगै फोटो पत्रकारिताको विकासका लागि महासंघमार्फत आवश्यक सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।