हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको वसन्त आधारभूत विद्यालयलाई स्थानीय वासिन्दाले विद्यार्थीको खेलकुद गतिविधिका लागि फलामे पिङ सहयोग गर्नुभएको छ ।
शैक्षिक सत्र २०७९ सालको प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी सुरथबहादुर भण्डारीले विद्यार्थीहरुलाई लक्षित गरेर दुईवटा फलामे पिङ सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
उक्त पिङ विव्यस अध्यक्ष भण्डारीले विद्यालयका प्रधानाध्यापक खेमराज शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष प्रतिमा रामदामले विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यालयको वार्षिक आयव्ययसम्बन्धी आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
२०४९ सालमा स्थापना भएको यस विद्यालयमा हाल ७ जना शिक्षक तथा कर्मचारीको जनशक्ति कार्यरत रहेको छ । शिक्षक दरबन्दीतर्फ ३ जना, बालविकास सहयोगी कार्यकर्ता १ जना, विद्यालय कर्मचारी १, सेल्फलेस सोसाइटी सर्भिस अमेरिकाको सहयोगमा २ जना कर्मचारी रहेका छन्भने सोही संस्थाले खाजा व्यवस्थापनका लागि मासिक १० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आइरहेको विद्यालयका प्रअ शर्माले बताउनुभयो । विद्यालयमा हाल २४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।