हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङ माथिको सानोसरे भिरमा गत जेठ १५ गते तारा यएरको बिमान दुर्घटना भयो, उक्त दुर्घटना स्थलमा पहिलो पटक अन्यत्रबाट पुग्ने उद्धारकर्ता मध्येका एक हुनुहुन्थ्यो इन्द्रसिंह शेरचन । मुस्ताङको थासाङ गाउँपालिका नाउरीकोटका स्थायी बासिन्दा शेरचन अहिले म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ दानामा मुस्ताङ लेते होटल सञ्चालन गरेर बस्नु भएको छ । बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक आयोजनाका सुपरभाइजरका रुपमा कार्यरत शेरचन कुनै विपत्ती तथा दुर्घटना भएको थाहा पाउदासाथ उद्धारमा खट्नुहुन्छ । त्यसैको उदाहरण थियो गत जेठमा भएको हवाइ दुर्घटनाको दुर्घटनस्थलमा पहिलो पटक उद्धारकका रुपमा पुग्नु ।
हिमाली जिल्ला म्याग्दीको उत्तरी भेक अनि हिमालपारीको जिल्ला मुस्ताङमा कुनै पनि अप्ठेरो परिश्थिति भएको थाहा पाउँदासाथ पुग्ने नाम हो इन्द्रसिंह शेरचन । बाढी पहिरो तथा अन्य बिपद्का घटनाहरुमा पनि अग्रपंक्तिमा पुग्न उहाँलाई कसैले खटाउनै पर्दैन । कुनै बिपत्ती एवम् दुर्घटनाको जानकारी पाउँदासाथ सुरक्षा निकायलाई जानकारी दिने र घटनास्थल तर्फ पुगेर उद्धारमा खट्ने उहाँको मुख्य काम जस्तै हो । मुस्ताङको थासाङ गाउँपालिका–२, नाउरीकोट जन्मीनुभएका शेरचनले २०६३ सालमा मुस्ताङको नाउरीकोटबाट म्याग्दी सदरमुकाम बेनीमा आएर मुस्ताङ लेते होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गर्न थाल्नु भएको हो । ०६३ देखि ०७१ सम्म बेनीमा होटल सञ्चालन गरेका शेरचनले १ वर्ष पोखरामा पनि व्यवसाय गर्नुभयो । त्यस पछि २०७४ मा पुनः म्याग्दीको उत्तरी भेक अन्नपुर्ण गाउँपालिका–३ दानाबाट आफ्नो व्यवसायलाई निरन्तरता दिनुभएको छ । मुस्ताङ लेते होटल एण्ड रेष्टुरेन्ट उहाँको ब्राण्ड जस्तै छ । बेनी–जोमसोम–कोराला सडक खण्ड अन्तरगत पर्ने दानामा रहेको उहाँको होटल सडक खण्ड क्षेत्रमै उत्कृष्ट मानिन्छ ।
तीन सन्तानका पिता शेरचनको एक छोरी र एक छोराको विवाह भै सकेको छ । एउटा छोरी अहिले पोखरामा अध्ययनरत छिन् । शेरचनका छोरा पनि पर्यटन व्यवसायमै केन्द्रीत हुनुहुन्छ भने विवाह भै सकेकी जेठी छोरी पनि पर्यटन व्यवसायमै केन्द्रीत हुनुहुन्छ । मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले सामाजिक कार्यमा सँधै खट्ने र आफ्नो भन्दा पनि समाजलाई अप्ठेरो परको ठाउँमा पुग्नु पर्छ भन्ने मान्यता शेरचनले राख्ने बताउनुहुन्छ ।
बेनी–जोमसोम सडक खण्डमा हुने सबैखाले विपद्का सारथी शेरचनले उक्त सडक खण्डमा यात्रा गर्ने तीन हजार भन्दा बढी यात्रुलाई पिठ्युँमै बोकेर सडक पार गराउने काम गरेको सुनाउनुहुन्छ । वर्षात्को समयमा सडक अबरुद्ध हुँदा समस्यामा परेका यात्रुलाई शेरचनले गन्तव्यमा पु¥याउनका लागि सँधै खट्नुहुन्छ । यस वर्ष पनि बेनी जोमसोम सडक खण्ड अबरुद्ध हुँदा अशक्त व्यक्तिहरुलाई पिठ्युँमा बोकेर गन्तव्य तर्फ लैजान सहयोग गर्नु भएको थियो । गत वर्ष कोभीड–१९ विरुद्धको भ्याक्सीन मुस्ताङ लाने क्रममा सडक अबरुद्ध भएर समस्या हुँदा शेरचनले नै बोकेर म्याग्दीको दानाबाट मुस्ताङको घाँसा तर्फ लैजान सहयोग गर्नुभएको स्वास्थ्य कार्यालय मुस्ताङका टीकाराम भण्डारीले बताउनुभयो ।
सामाजिक अभियन्ता एवम् सामाजिक व्यक्तित्व इन्द्रसिंह शेरचनलाई थकाली समाजको राष्ट्रिय अधिवेशनको अवसरमा मुस्ताङमा सम्मान गरिएको छ । गण्डकी प्रदेशका पूर्व प्रमुख एवम् लुम्बीनी प्रदेशका वर्तमान प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा भएको राष्ट्रिय सम्मेलनमा शेरचन सम्मानित हुनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि अमिक शेरचनले सामाजिक कार्यको प्रसंसा गर्दै आगामी दिनमा पनि यस्तै कार्यमा खट्न शुझाब दिनु भएको इन्द्रसिंह शेरचनको भनाई छ । त्यस्तै अन्नपुर्ण गाउँपालिका–३, दानाले पनि शेरचनलाई सम्मानपत्रले सम्मान गरेको छ ।
संविधान दिवस २०७७ मा विभुषण दिलाउनका लागि मुस्ताङ जिल्लाबाट पनि सिफारिस भएको भए पनि राष्ट्रिय रुपमा भने उहाँ बिभुषणबाटट चुक्नु भएको तत्कालिन मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडलले जानकारी दिनुभयो । सामाजिक क्षेत्र र बेनी–जोमसोम सडक खण्डमा हुने कुनै पनि बिपत्तीमा अग्र पंक्तिमा खट्ने सामाजिक अगुवा शेरचन प्रत्येक पटक जहाँ अप्ठेरो पर्छ त्यहाँ पुग्ने विशेषता नै हो पौडेलको भनाई छ ।