धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३,३१,००० कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको छ। निष्काशन आज मिति २०७९ श्रावण २४ गते देखि २९ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७९ भाद्र ७ गते सम्म खुल्ला रहने छ।
कम्पनीकोजारी पूँजी रु.१०,३१,००,००० (अक्षेरुपी दश करोड एकतिस लाख मात्र) को ३२.१०४७५३ प्रतिशले हुन आउने रु.३,३१,००,००० (अक्षेरुपी तीन करोड एकतिस लाख मात्र) रकम बराबर प्रति शेयर रु.१०० अंकित दरका ३,३१,००० कित्ता साधारण शेयर मध्ये कुल जारी पूंजीको ०.५% अर्थात ५,१५५ कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्टाइएको शेयर मध्येको ५% अर्थात् १६,५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बांकी रहने ३,०९,२९५ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशनमा आएको हो।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
क्रेडिट रेटिङ्ग
धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले “CARE-NP BB- (Is)” ग्रेडिङ्ग प्रदान गरेको छ जसले कम्पनीको वित्तिय दायित्व बहन गर्ने सम्बन्धमा औसत जोखिममा रहेको जनाउँदछ। केयर रेटिङ्गस नेपाल लिमिटेडले “CARE-NP AAA(Is)” देखि “CARE-NP D(Is)” सम्मको रेटिङ्ग प्रदान गर्दछ। जसमा ग्रेड “CARE-NP AAA(Is)” ले (Highest degree of Safety Regarding Timely Servicing of Financial Obligation) सकारात्मक आधार जनाउँछ भने “CARE-NP D(Is)” ले (Default or are Expected to be in Default soon) नकारात्मक आधारहरु जनाउँछ।
कम्पनीको परिचय
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड विपन्न तथा पिछडिएका समुदायको आर्थिक सामाजिक तथा चेतना विकासका लागि मिति २०५२/०७/१२ गते स्थापना भएको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रद्वारा संचालन गरिएको लघुवित्त कार्यक्रमलाई परिणत गरिएको संस्था हो। लघुवित्त बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार मिति २०७५/१०/२८ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरी राष्ट्रिय स्तर कार्यक्षेत्र भएको “घ”वर्गको वित्तीय संस्थाको हैसियतले मिति २०७५/११/०१ गते देखि लघुवित्त कारोबार सञ्चालन गर्दै आइरहेको छ।
स्वरोजगार तथा आयआर्जनका लागि कृषि, घरेलु उद्यम, सेवा, व्यापार तथा अन्य सम्भाव्य उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य श्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुऱ्याउने मुख्य उद्देश्य रहेको लघुवित्तले २१ वटा जिल्लामा रहेका ४४ वटा शाखा कार्यालय मार्फत ३५,०८६ जना सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ।
संचालक समीति
धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र, प्रभु बैंक लि. तथा सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवं व्यवस्थापन क्षेत्रमा लामो समय देखि दखल भएका प्रतिष्ठित व्यक्तिहरु द्वारा प्रवर्द्धन गरिएको लघुवित्तको संचालक समीतिको अध्यक्षता श्री ईश्वोर लाल राजभन्डारीले गरेका छन् भने अन्य ४ जना संचालकहरु पनि संचालक समीतिमा रहेका छन। प्रमाणपत्र तहसम्म अध्ययन गरेका राजभन्डारीसँग १७ वर्ष लघुवित्त तथा सामाजिक क्षेत्रको कार्य अनुभव रहेको छ। यस्तै, कम्पनीको व्यवस्थापनको जिम्मा मिति २०७७ चैत्र २५ गते देखि प्रमुख कार्यकारी अधिकृत श्री मिन बहादुर बोहराले सम्हाल्दै आएका छन्।
वित्तीय विश्लेषण
मिति २०७५ फाल्गुन १ गते देखि वित्तिय कारोबार सुरु गरेको राष्ट्रिय स्तरमा कारोबार गर्ने धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड हाल चौथो वर्षमा संचालित रहेको छ। यस अवधिमा लघुवित्त व्यवसायिक तथा वित्तिय रुपमा प्रतिस्पर्धात्मक हुँदै प्रमुख सूचकहरुमा राम्रो प्रगति गरेको छ। आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तिय विवरण अनुसार कम्पनीको शेयर पूंजी रु.७ करोड रहेको छ। राष्ट्रिय स्तरमा कारोबार गर्ने लघुवित्तले पुर्याउनु पर्ने न्युनतम चुक्ता पूंजी (रु.१० करोड) पुर्याउन तथा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ अनुसार संस्थाले आफ्नो कुल जारी पूंजीको कम्तीमा ३०% शेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने प्रावधान रहेकोले हाल लघुवित्तले जारी पूंजीको ३२.१०% ले हुन आउने रु.३.३१ करोड बराबरको शेयर सर्वसाधारण (कर्मचारी सहित) को लागि निष्काशन गर्ने प्रकृयामा रहेको छ। सार्वजनिक निष्काशन पश्च्यात लघुवित्तको शेयर पूंजी रु.१०.३१ करोड रहने छ। लघुवित्तमा अधिकांश लगानी धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको रहेको छ। केन्द्रको कम्पनीमा ४२.८६% लगानी रहेको छ। यस्तै, प्रभु बैंक २१.४३% लगानी रहेको छ भने ईश्वोर लाल राजभन्डारी (१.४३%), श्रीजना थापा (१.४३%), हरी प्रसाद शर्मा (१.४३%) लगायत संस्थापकहरुको प्रमुख लगानी रहेको छ।
आर्थिक वर्ष २०७८/७९ अनुसार, कम्पनीको जगेडा तथा कोषहरु रु.११ करोड रहेको छ जसको ३ वर्ष अवधिको सरदर वर्षिक वृद्धि दर २९.३२% रहेको छ। जगेडा तथा कोष बढेसँगै कुल शेयरधनी कोष पनि २९.३२% ले बढेर रु.१८ करोड कायम हुन आएको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात १५७.२४% कायम रहेको छ। यस्तै, लघुवित्तले व्यवसाय तर्फ राम्रो प्रगति गरेको छ। अघिल्लो आ. व. सम्ममा कम्पनीले विभिन्न बैंक वित्तिय संस्थाहरुबाट रु.६३.०७ करोड कर्जा सापट तथा ग्राहक सदस्यहरुबाट रु.६७.५९ करोड निक्षेप संकलन गरी कुल रु.१.३० अर्ब पूंजी परिचालन गरी रु.१.४३ अर्ब कर्जा प्रवाह गरेको छ। समिक्षा अवधीमा पूंजी परिचालन र कर्जा प्रवाह सरदर ३६.३७% र ३७.८५% ले बढेको छ।
संचालनको छोटो अवधिमै राम्रो आय आर्जन गर्न सफल लघुवित्तले गत आ. व. मा मात्र रु.१९.५९ करोड जुन वर्षिक ५५.८०% ले बढेको छ। सोही अवधिमा लघुवित्तको खुद व्याज आम्दानी, कुल संचालन आम्दानी तथा संचालन नाफा बढेकाले खुद नाफा उलेख्य ८५.३२% ले बढेर रु.२.६० करोड आर्जन गर्न सफल भएको छ।
यस्तै, प्राथमिक शेयर निष्काशन पश्च्यात कम्पनीको चुक्ता पूंजी रु.१०.३१ करोड पुग्नेछ भने आ. व. २०८०/८१ सम्म यथावत रहने प्रक्षपण रहेको छ। आ. व. २०८०/८१ सम्ममा लघुवित्तले आफ्नो जगेडा तथा कोषहरु रु.२५.२५ करोड पुर्याउने प्रक्षपण गरेको छ जुन चुक्ता पूंजीको २४४.९१% भन्दा धेरै हुनेछ। यस्तै, कम्पनीले बजारमा आफ्नो हिस्सा बढाउन र अन्य लघुवित्तसँग प्रतिस्पर्धा गर्न व्यवसायमा आक्रामक वृद्धिको रणनिति अपनाउने देखिन्छ।
योजना अनुसार लघुवित्तले आगामी २ वर्षमा रु.१.७३ अर्ब निक्षेप र रु.९४.०१ करोड कर्जा सापट गरी जम्मा रु.२.६७ अर्ब पूंजी संकलन गरेर रु.३.०७ अर्ब कर्जा प्रवाह गर्नेछ जसको सरदर वार्षिक वृद्धिदर ४०% भन्दा धेरै हुने देखिन्छ। आक्रामक व्यवसाय विस्तार गर्दै जादा आ. व. २०८०/८१ को अन्त्यमा रु.३९.५३ करोड व्याज आम्दानी गर्ने र खुद नाफामा गत आ. व. को तुलनामा १.७७ गुणा बढी रु.७.२१ करोड आर्जन गर्ने लघुवित्तले लक्ष्य लिएको छ।
वित्तीय अनुपातहरु
आर्थिक वर्ष २०७७/७८ मा रु.४५.४४ रहेको लघुवित्तको प्रति शेयर आम्दानी आ. व. २०७८/७९ मा घटेर रु.३७.२५ कायम हुन आएको छ। यस्तै, प्रति शेयर किताबी मुल्य २०७७/७८ मा रु.१४८.६६ कायम रहेकोमा बढेर रु.२५७.२४ कायम हुन आएको छ। आईपिओ निष्काशन तथा पूंजी वृद्धि पश्च्यात शेयर संख्या बढ्ने भएकाले समायोजन भई प्रति शेयर किताबी मुल्य घट्ने देखिन्छ तथापि नाफा बढ्ने भएकाले प्रति शेयर आम्दानी भने बढ्ने देखिन्छ। कम्पनीले लक्ष्य अनुसार प्रगति गरेमा आ. व. २०८०/८१ मा प्रति शेयर आम्दानी बढेर रु. ७०.०२ र प्रति शेयर किताबी मुल्य रु.२९३.४९ कायम हुने देखिन्छ। यस्तै, कम्पनीको अन्य वित्तिय अनुपातहरु जस्तै पूंजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio), निष्कृय कर्जा अनुपात (NPL) नियामकिय मापदण्ड भित्र रहेको देखिन्छ जसले कम्पनीको वित्तिय जोखिम कम रहेको जनाउछ। वित्तिय रुपमा सवल र सुधार उन्मुख रहेको कम्पनी आउने केही वर्षहरुमा व्यवसाय विस्तारमा आक्रमक रुपमा लाग्ने देखिन्छ र कम्पनीले आर्जन गरेको नाफा तथा पूंजी वृद्धिको योजना हेर्दा आकर्षक लाभांश बाढ्न सक्ने क्षमता रहेको देखिन्छ।
यस्तै, जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात १५७.२४% रहेको लघुवित्तको साधारण/वैधानिक जगेडा र चुक्ता पूंजीको अनुपात १०.३१% रहेको छ। वैधानिक जगेडा चुक्ता पूंजीको २ गुणा अर्थात २००% नपुग्दा सम्म, खुद नाफा बाट २०% उक्त कोषमा जम्मा गर्नु पर्ने प्रावधान रहेको छ। यस्तै, २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीले आफ्नो प्राथमिक पूंजीको ८.३८ गुणा पूंजी परिचालन गरेको छ। नेपाल राष्ट्र बैंकले गरेको प्रावधान अनुसार लघुवित्त संस्थाहरुले ३० गुणा सम्म पूंजी परिचालन गर्न पाउने व्यवस्था रहेको छ।
हाल २१ वटा जिल्लामा रहेका ४४ शाखा कार्यालयहरु बाट १९४ जना कर्मचारीहरु परिचालन गरी ३५,०८६ ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रवाह गर्दै आइरहेको कम्पनीले प्राथमिक निष्काशनबाट प्राप्त हुने रु.३.३१ करोड बराबर रकम कृषि, पशुपालन खुद्रा व्यापार तथा सेवा व्यवसाय कर्जा प्रवाह गर्नमा र भौतिक पुर्वाधार तथा शाखा बिस्तार गर्नमा उपयोग गर्ने छ।
यस्तै, हालसालै निष्काशन भइरहेका प्राथमिक निष्काशन (IPO) मा लगानीकर्ताहरुको अत्याधिक आकर्षन देखिने गरेको छ। गएको ६ महिनामा मात्र १८वटा कम्पनीहरुले आइपीओ निष्काशन गरेका थिए जसमा माग गरिएको भन्दा अत्याधिक धेरै २९४ गुणा सम्म आवेदन परेको थियो भने झन्डै २७ लाखले ३.३ करोड कित्ताको लागि समेत आवेदन दिएका थिए। यी निष्काशनहरुलाई आधार मन्दा आवेदकहरुले धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडमा पनि न्युनतम १० कित्ता शेयर पाउने देखिन्छ।