म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०७८/७९ को जेष्ठ मसान्तको मासिक विवरण सार्वजनिक गरी सकेका छन्। २५ बन्दमुखी र ४ खुलामुखी गरी कुल २९ म्युचुअल फण्ड संचालनमा रहेका छन् भने हालसालै सर्वसाधारणमा इकाई निष्काशन गरेका बन्दमुखी योजना “एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड” र कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने “कुमारी धनवृद्धि योजना” बाँडफाँड गरी संचालनमा आएका छन्। बन्दमुखी योजनाहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोश्रो बजारमा कारोबार हुने गर्दछन् भेन खुलामुखी योजनाहरुको सम्बन्धमा प्रत्येक कारोबार दिन योजना व्यवस्थापकले खुद सम्पत्ति मुल्यको आधारमा योजनाको ईकाइ खरिद तथा बिक्री मुल्य निर्धारण गर्ने गर्दछन् र सोही मुल्यमा सर्वसाधारणले कारोबार गर्ने गर्दछन्।
जेष्ठ महिनाको विवरण अनुसार म्युचुअल फण्डहरुले १ महिनामा रु.२.७४ अर्ब गुमाएका छन् जुन अघिल्लो महिना कायम रहेको कुल सम्पत्तिमा ८.२९% को गिरावट रहेको छ। यस्तै, वैशाख महिनामा पनि फण्डहरुले रु.६२.२७ करोड गुमाएका थिए जुन अघिल्लो महिना कायम रहेको कुल सम्पत्तिमा १.८५% को गिरावट रहेको थियो। चैत्र महिनामा पनि रु.१.६० अर्ब गुमाएका थिए भने फागुनमा रु.१.३३ अर्ब र माघ महिनामा रु.१.६५ अर्ब गुमाए सँगै पौष यता रु.७.९५ अर्ब गुमाएका छन्। वैशाख मसान्त सम्ममा २९ म्युचुअल फण्डहरुको रु.२६.४४ अर्ब कुल लगानी रहेकोमा जेष्ठ मसान्त सम्ममा लगानीको बजार मुल्य घटेर रु.२३.७४ अर्बमा झरेको छ। अघिल्लो महिना फण्डहरुले कुल लगानीको ८८.३१% कम्पनीहरुको धितोपत्रमा गरेका थिए भने जेष्ठ मसान्तमा उक्त लगानी ८७.२५% मा झरेको छ। फण्डहरुले अन्य १२.७५% रकम भने बैंक वित्तिय संस्थाहरुको मुद्दती निक्षेपमा गरेका छन्। म्युचुअल फण्डहरुले आफ्नो योजनाको आकार वा लगानी गर्दाको समयमा कायम रहेको खुद सम्पत्ति मुल्यको न्युनतम १५% बैंकको मुद्दती निक्षेपमा लगानी गर्न पाउने प्रावधान रहेको छ।
म्युचुअल फण्डहरु मध्ये सबै भन्दा धेरै लगानी सानिमा इक्विटी फण्ड (SAEF) को रु.१.४१ अर्ब रहेको छ। अघिल्लो महिना फण्डको लगानीको बजार मुल्य रु.१.६ अर्ब रहेको थियो। सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित फण्डले ९०.८२% धितोपत्र बजारमा गरेको छ भने ९.१८% लगानी मुद्दती निक्षेपमा गरेको छ। कुल लगानीको हिसाबले रु.१.४० अर्ब लगानी रहेको सिद्धार्थ इक्विटी फण्ड (SEF) दोश्रो स्थानमा रहेको छ। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाले ९७.८७% धितोपत्र बजारमा गरेको छ भने २.१३% लगानी मुद्दती निक्षेपमा गरेको छ। यस्तै, रु.१.२५ अर्ब योजना आकार रहेको एनएमबि फिफ्टी (NMB50) तेश्रो स्थानमा रहेको छ। फण्डले कुल लगानी रु.१.३९ अर्बको ८६.५८% धितोपत्र बजारमा गरेको छ भने १३.४२% लगानी मुद्दती निक्षेपमा गरेको छ। अघिल्लो महिना फण्डको लगानीको बजार मुल्य रु.१.५५ अर्ब रहेको थियो। यस्तै, नबिल इक्विटी फण्ड (NEF), एनआईबिएल समृद्धि फण्ड-२ (NIBSF2), सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ (SIGS2), एनएमबि हाइब्रिड फण्ड एल १ (NMBHF1) को पनि कुल लगानी रु.१ अर्ब १० करोड भन्दा माथि रहेको छ।
त्यस्तै, म्युचुअल फण्डहरु मध्ये न्युन लगानी गर्नेमा खुला मुखी योजाना सिद्धार्थ व्यवस्थित लगानी योजना (Siddhartha Systematic Investment Scheme) र एन आई सी एशिया सेलेक्ट–३० फण्ड (NICSF) रहेका छन्। रु.२१.९८ करोड योजना आकार रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना फण्डले रु.१५.४७ करोड लगानी गरेको छ जसमा ८०.६२% धितोपत्रमा रहेको छ। यस्तै, रु.१.२५ अर्ब योजना आकार रहेको एन आई सी एशिया सेलेक्ट–३० फण्डले रु.३४.८५ करोड मात्र लगानी गरेको छ जसमा ५५.५३% धितोपत्रमा रहेको छ। यसैगरी, एनएमबि सरल बचत फण्ड-इ (NMB Saral Bachat Fund–E), एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड (NIC Asia Dynamic Debt Fund), एनआईबिएल सहभागिता फण्ड (NIBL Sahabhagita Fund) लगायतका योजनाहरुको न्युन लगानी रहेको छ।
म्युचुअल फण्डहरुले लगानी गर्दा नेपाल धितोपत्र बोर्डबाट तोकिएको निश्चित क्षेत्रमा मात्र लगानी गर्नुपर्ने हुन्छ जसमा बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र विनियम बजारमा सुचीकृत धितोपत्र, नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बील तथा अन्य उपकरणहरु, मुद्रा बजार उपकरण, बैंक निक्षेप जस्ता रहेका छन्।
म्युचुअल फण्डहरुले सूचीकृत तथा सुचिकरण हुन बाँकी धितोपत्रमा गरेको लगानीहरुको तुलना गर्दा सबैभन्दा उच्च लगानी बैंक वित्तिय संस्थाका शेयरमा गरेका छन्। फण्डहरुले जेष्ठ मसान्त सम्ममा धितोपत्रमा गरिएको लगानी मध्ये ३७.६९% वाणिज्य बैंकहरुको साधारण शेयरमा गरेका छन्। वैशाख महिनामा उक्त लगानी ३६.७२% रहेको थियो। साथै, लघुवित्त वित्तिय संस्थाहरुको शेयरमा १७.०६%, बिकास बैंकमा ६.१७% र वित्त कम्पनीहरुको शेयरमा ०.६७% गरी ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक वित्तिय संस्थाहरुको शेयरमा कुल ६१.५९% लगानी गरेका छन् जुन रु.१०.९१ अर्ब हुन आउछ। १ महिनाको अवधिमा बैंक वित्तिय संस्थाको लगानीको बजार मुल्य रु.१.४४ अर्बले घटेको छ जस मध्ये वाणिज्य बैंक हरुको लगानीको मुल्य रु.८२.७५ करोडले घटेको छ, तथापि शेयर संख्या भने बढेको छ। म्युचुअल फण्डहरुले वाणिज्य बैंकको वैशाखमा कुल २ करोड १५ लाख ९६ हजार कित्ता शेयर होल्ड गरेकोमा १ महिनामा थप ७ लाख ८७ हजार कित्ता आफ्नो पोर्टफोलियोमा समावेश गरेका छन्। लगानी थप गर्ने कम्पनीहरुमा वाणिज्य बैंक मध्ये MBL, CBL, NCCB, PCBL, KBL उच्च रोजाइमा परेका छन् । यस अवधिमा १९२,१५० कित्ता MBL को, १३९,७१५ कित्ता CBL को, ११५,३७२ कित्ता NCCB को, ६६,५३० कित्ता PCBL को, ४८,३७६ कित्ता KBL को शेयर थप गरेका छन्। त्यस्तै, जेष्ठ महिनामा NABIL को ४३,९१८ कित्ता, SBL को २२,६९१ कित्ता, BOKL को १३,४९९ कित्ता, MEGA को ५,५६० कित्ता घटाएका छन्। म्युचुअल फण्डका इकाई र ऋणपत्रमा लगानी वाहेक फण्डहरुले वैशाख महिनामा कुल ३ करोड ८३ लाख ६ हजार कित्ता शेयर होल्ड गरेकोमा जेष्ठ महिनामा मात्र १२ लाख ५५ हजार कित्ता थपेका छन् जस मध्ये वाणिज्य बैंकहरुको ७ लाख ८७ हजार कित्ता, बिकास बैंकको ३८ हजार कित्ता, लघुवित्तको ४५ हजार कित्ता, जलविद्युत कम्पनीहरुको १ लाख ४६ हजार कित्ता, जीवन बीमाको १ लाख १५ हजार कित्ता, निर्जीवन बीमाको १ लाख ६ हजार कित्ता रहेका छन्।
वाणिज्य बैंक / बैंकिङ्ग समुह मध्ये हाल सम्म फण्डहरुको उच्च रोजाइमा एन आई सी एशिया बैंक (NICA) परेको छ। म्युचुअल फण्डहरुले कुल रु.९७.२७ करोड बराबरको १३ लाख ८३ हजार कित्ता लगानी गरेका छन्। वैशाख मसान्त सम्ममा म्युचुअल फण्डहरु सँग १३ लाख ३६ हजार कित्ता शेयर एन आई सी एशिया बैंकको रहेको थियो। यस्तै, अघिल्लो महिनामा सानिमा बैंक (SANIMA) को कुल १५ लाख ९३ हजार कित्ता शेयर होल्ड गरेकोमा जेष्ठमा बढाएर १६ लाख ३६ हजार कित्तामा पुर्याएका छन् जसको बजार मुल्यको आधारमा रु.४५.६४ करोड हुन आउछ। त्यस्तै, नेपाल बैंक (NBL), प्रभु बैंक (PRVU), प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL), नबिल बैंक (NABIL), ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME), MBL पनि प्रमुख रोजाइमा परेका छन् जसमा रु.३५ करोड भन्दा बढीका दरले लगानी रहेको छ।
यस्तै, कुल रु.३.०२ अर्ब बराबरको लगानी रहेको लघुवित्त समुह मध्ये छिमेक लघुवित्त वित्तिय संस्था (CBBL) को ५ लाख ८९ हजार बढी कित्ता शेयरमा लगानी गरेका छन् जसको जेष्ठ मसान्तको बजार मुल्यको आधारमा कुल रु.५८.३३ करोड हुन आउछ। अघिल्लो मसान्तमा म्युचुअल फण्डहरु सँग छिमेक लघुवित्तको ५ लाख ८६ कित्ता भन्दा बढी शेयर रहेको थियो। यस्तै, साना किसान लघुवित्त (SKBBL), निर्धान उत्थान लघुवित्त (NUBL), आरएमडिसि लघुवित्त (RMDC), डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) कम्पनीहरुमा बजार मुल्यको आधारमा उच्च लगानी रहेको छ। यसैगरी, बिकास बैंकहरु मध्ये मुक्तिनाथ बिकास बैंक (MNBBL), गरिमा बिकास बैंक (GBBL), कामना सेवा बिकास बैंक (KSBBL), लुम्बिनी बिकास बैंक (LBBL), साइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) रोजाईमा रहेका छन् भने वित्त कम्पनीहरु मध्ये मन्जुश्री फाइनान्स (MFIL), गुडविल फाइनान्स लिमिटेड (GFCL), रिलायन्स फाइनान्स लिमिटेड (RLFL), आईसिएफसि फाइनान्स (ICFC) प्राथमिकतामा रहेका छन्।
बैंक वित्तिय संस्थाहरु पश्च्यात म्युचुअल फण्डहरुले बिमा कम्पनीहरुमा पनि लगानी विस्तार गरेका छन्। कुल धितोपत्रमा गरिएको लगानी मध्ये बजार मुल्यको आधारमा ९.२२% जीवन बिमा र ९.८७% निर्जीवन बिमा कम्पनीमा गरी कुल १९.०९% लगानी बिमा कम्पनीहरुको शेयरमा लगानी गरेका छन् जुन जेष्ठ मसान्तको बजार मुल्यको आधारमा रु.३.३८ अर्ब कायम हुन आउछ। अघिल्लो मसान्त सम्ममा बिमा कम्पनीहरुमा रु.४.२५ अर्ब लगानी रहेको थियो। जीवन बिमा तर्फ फण्डहरुले नेशनल लाइफ इन्स्योरेन्स (NLICL) मा उच्च लगानी गरेका छन्। बजार मुल्यको आधारमा लाईफ इन्स्योरन्स कर्पोरेशन नेपाल (LICN), नेपाल लाईफ इन्स्योरेन्स (NLIC), प्राईम लाईफ (PLIC), सुर्या लाईफ इन्स्योरेन्स (SLICL) मा पनि उच्च लगानी गरेका छन् भने निर्जीवन बिमा तर्फ नेको इन्स्योरेन्स (NIL), प्रिमियर इन्स्योरेन्स (PIC), शिखर इन्स्योरेन्स (SICL), एन एल जि इन्स्योरेन्स (NLG), सगरमाथा इन्स्योरेन्स (SIC), प्रभु इन्स्योरेन्स (PRIN) मा धेरै लगानी रहेको छ। यस बाहेक म्युचुअल फण्डहरुले जलविद्युत कम्पनीहरुको शेयरमा कुल धितोपत्रमा गरिएको लगानीको ६.३६%, ऋणपत्रमा ३.०७%, म्युचुअल फण्डको इकाईहरुमा ३.०३%, उत्पादन तथा प्रशोधन सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुको शेयरमा २.४४%, लगानी क्षेत्रसँग सम्बन्धित कम्पनीहरुको शेयरमा २.२७%, अन्य समुहमा वर्गकृत कम्पनीहरुमा १.६६%, होटल तथा पर्यटनमा ०.३८% र व्यापार कम्पनीहरुको शेयरमा ०.११% लगानी गरेका छन्।