पछिल्लो समय नेपाल धितोपत्र बोर्डले भटाभट आइपीओ निष्काशनको अनुमति प्रदान गरेपनि म्युचुअल फन्डको प्राथमिक निष्काशनको लागि अनुमति दिन भने ढिलाई गरेको छ । बोर्डले गत आवमा कुल २८ वटा कम्पनीको प्राथमिक शेयर निष्काशनको अनुमति दिएको थियो। गत वर्ष बोर्ड अध्यक्षको पद लामो समय खाली हुँदा पनि आइपीओमा आउने कम्पनीको संख्यामा कमी आएको थियो ।
बोर्डमा अध्यक्ष भएर रमेश हमाल आइसकेपछि नै पनि १९ वटा कम्पनी र चालु आर्थिक वर्ष शुरु भइसकेपछि थप २ वटा कम्पनी गरी २१ वटा कम्पनीलाई प्राथमिक शेयर निष्काशनको अनुमति प्रदान गरिसकेको छ ।
म्युचुएल फन्डको सवालमा भने गत आर्थिक वर्षमा जम्मा ७ वटा म्युचुअल फन्डले प्राथमिक शेयर निष्काशनको अनुमति पाएका थिए । त्यसमध्ये वर्तमान अध्यक्ष हमाल आइसकेपछि कुमारी धनवृद्धि योजना, एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ र शुभलक्ष्मी कोष (खुल्लामुखी)को इकाई बिक्री गर्नको लागि अनुमति प्रदान गरेको छ । चालु आवको शुरु भएको करिब २२ दिनको अवधिमा बोर्डले एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड –२ लाई आइपीओ निष्काशनको अनुमति प्रदान गरेको छ ।
नेपाल धितोपत्र बोर्डमा म्युचुअल फन्ड निष्काशन अनुमतिको पर्खाईमा अझै १२ वटा क्यापिटलका भिन्न भिन्न योजनाहरु रहेका छन् । नेपाल धितोपत्र बोर्डको अनुमति पाएका विभिन्न क्यापिटलहरुले करिब १ वर्ष अगाडि नै दिएका आवेदनहरुको अहिलेसम्म कुनै काम कारवाही नै अगाडि बढेको छैन । बोर्डमा आइपीओ निष्काशनको लागि आबद्ध कर्मचारीहरुको अभावको कारण म्युचुएल फन्डको निष्काशनमा ढिलाई भएको आवेदनकर्ता क्यापिटलका अधिकारीको आरोप रहेको छ । उनका अनुसार आइपीओ निष्काशनको लागि बोर्डले जम्मा दुई जना कर्मचारी छुट्याएको छ । दुई जना कर्मचारीको भरमा आइपीओ, एफपीओ, हकप्रद शेयर र म्यु्चुएल फन्डलगायतका सबै प्राथमिक निष्काशनका कामहरु गर्नु परेको अवस्था छ । सबै आवेदनको फाइल अध्ययन गर्नै समय लाग्ने हुँदा तिनीहरुले कम्पनीको आइपीओ निष्काशन बाहेकका अन्य निष्काशनको कामलाई प्राथमिकता नदिएको ती म्युचुअल फन्ड निष्काशनकर्ता क्यापिटलका अधिकारीको आरोप छ ।
बोर्डको वेवसाइटमा उपलब्ध पाइपलाइनमा रहेका म्युचुएल फन्डहरुमध्ये सबैभन्दा पुरानो आवेदन नबिल इन्भेष्टमेन्ट बैकिङको नबिल फलेक्सी क्याप फन्ड (ओपन एन्ड)को रहेको छ । कम्पनीले २०७८ को असार २७ गते नै सो योजनाको इकाइ बिक्रीको लागि निवेदन दिएपनि अहिलेसम्म इकाइ निष्काशनको अनुमति पाएको छैन । वेवसाइटमा ‘रिप्लाइड एन्ड अन्डर रिभ्यु’ अन्तर्गत क्यापिटलको म्युचुएल फन्डलाई राखिएको छ । बोर्डले ‘अन्डर प्रिलिमिनरी रिभ्यु’, ‘रिभ्युड एन्ड कमेन्ट सेन्ट’, ‘रिप्लाइड एन्ड अन्डर रिभ्यु’ र ‘वेटिङ फर रिप्लाइ एन्ड कम्प्लायन्स’ गरी चार वटा शीर्षकमा आवेदनहरुको समीक्षा गर्ने गर्दछ । १२ वटा आवेदनमा १ वटा आवेदन मात्रै ‘रिप्लाइड एन्ड अन्तर रिभ्यु’ अन्तर्गत राखिएको छ । १२ आवेदनमा प्रायः आवेदन हमाल बोर्डमा आउनु अगाडिकै निवेदन हुन । हमाल बोर्डमा आइसकेपछि मेगा म्युचुएल फन्ड, लक्ष्मी भ्यालु फन्ड–२, एनएमबी हाइब्रिड फन्ड एल–२ गरी तीन वटा म्युचुएल फन्ड इकाइ निष्काशनको लागि आवेदन दिएका छन् । मेरोलगानी डटकमबाट साभार