नेपाल सरकारले हालै सम्पन्न गरेको टाइफाइड खोप कार्यक्रम हिमाली जिल्ला म्याग्दीमा लक्ष्यको ९६ प्रतिशतलाई लगाउन सफल भएको छ ।
राष्ट्रिय खोप कार्यक्रम, नियमित खोपमा टाइफाइड खोप शुरुआत तथा टाइफाइड खोप अभियानको समिक्षा कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । धेरै नेपालीहरु कुनै पनि टाइफाइडबाट संक्रमित हुने गरेको तथ्यलाई मध्येनजर गर्दै टाइफाइड खोप कार्यक्रम शुरु गरीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए । लम्सालले हालै सम्पन्न भएको टाइफाइड भ्याक्सीनेसन कार्यक्रममा हिमाली जिल्ला म्याग्दीका २८ हजार ८ सय ७ जना बालबालिकालाई भ्याक्सीन लगाउने लक्ष्य रहेको भए पनि २७ हजार ६ सय ९ जना अर्थात् ९६ प्रतिशतले भ्याक्सीन लगाएको जानकारी दिए ।
समिक्षा कार्यक्रमको उद्घाटनसत्रमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले लक्षित वर्ग मध्ये जिल्लामा ९६ प्रतिशतले टाइफाइड बिरुद्धको खोप पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा शतप्रतिशत पु¥याउनका लागि स्वास्थ्यले गरेको पहलमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताएका थिए । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख थापाले सरल, सहज र व्यवस्थति तबरले जनताले खोप पाउनु पर्ने तर्फ जोड दिँदै स्वास्थ्यकर्मीको भूमिका प्रसंसनिय रहेको बताए । थापाले भने मानव स्वास्थ्यलाई केन्द्रमा राखेर खट्ने स्वास्थ्य कर्मीलाई पर्ने प्राकृतिक तथा भौगोलिक बाहेकका समस्या समाधानका लागि सबैले हातेमालो गर्न पर्ने बताउँदै अन्य कमजोरी गरेर समस्या सृजना गर्न नहुने धारणा राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले राज्यले तोकेको लक्ष्य अनुसार भ्याक्सीनेसन किन भएन भन्ने कारण खोजिनु पर्नेमा सचेत गराएका थिए । कर्मचारीले आफ्नो जिम्मेवारी पुरा गर्नुप¥यो, कुनै पनि काम समयमै सम्पन्न किन भएन र एकिन तथ्याङ्क किन आएन भन्ने तर्फ सबैको ध्यान जान पर्ने प्रजिअ रानाको भनाई थियो । रानाले कर्मचारीको आफ्नो जिम्मेवारी हुन्छ र त्यसलाई पुरा गर्ने नै उनीहरुको कर्तव्य भएको बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यालय प्रमुख जानुका सुवेदीले खोपले धेरै रोग उन्मुलन भएको इतिहास रहेको भन्दै खोपको प्रभावकारीतालाई बढाइनु पर्ने बताइन् । उनले खोपको कभरेजलाई शतप्रतिशत पु¥याउन सबैले पहल गर्नु पर्ने र यसका लागि जिल्ला समन्वय समितिले पनि भूमिका खेल्ने बताएकी थिइन् ।
स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालको अध्यक्षता, दुर्गा शर्माको सञ्चालन एवम् बेनी अस्पतालका निमित्त मेडीकल सुपरीटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलको स्वागतमा कार्यक्रमको उद्घाटनसत्र सम्पन्न भएको थियो । समिक्षा कार्याक्रममा जिल्लाका स्वास्थ्यचौकी, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख एवम् स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।