अर्घेलो थापा
काठमाडौंको एक निजी स्कुलमा केही समय निम्नमाध्यमिक तहसम्म अध्यापन गराउने मौका मिल्यो । सो स्कुलमा मैले नेपाली र कम्प्युटर विषय पढाउनु पथ्र्यो । त्यसो त मलाई परम्परागत पठन शैली पहिले पनि मन पर्दैनथ्यो । त्यसमाथि मैले भारतीय लेखक गिजुभाईको ‘दिवास्वप्न’ पढेपछि शिक्षण शैलीमा केही परिवर्तन गर्न सकिन्छ भन्ने लाग्यो । उनले आफ्नो पुस्तकमा विद्यार्थीलाई विभिन्न विधिबाट शिक्षण गराएको उल्लेख गरेका छन् । अठारौं शताब्दीको उक्त पुस्तक आज पनि शिक्षकका लागि राम्रो खुराक बन्न सक्छ ।
हाम्रो शिक्षा प्रणाली घोकन्ते विद्यामा आधारित छ । विद्यार्थीलाई गृहकार्य दिइन्छ । प्रश्नको उत्तर लेखाइन्छ र ती प्रश्नोत्तरलाई कण्ठ बनाउन लगाइन्छ । यदि विद्यार्थीले त्यसो गरेनन् भने कण्ठ पार्न हौसला अथवा गाली दिइन्छ । विद्यार्थीले के सिके भन्दा पनि के कण्ठ पारे भन्ने कुरालाई महत्वका साथ हेरिन्छ । यसको कारण शिक्षण प्रक्रिया मात्र होइन । अभिभावक पनि दोषी छन् । अभिभावकले आफ्ना बच्चाको सृजनात्मक पाटो भन्दा पनि परीक्षा केन्द्रित पाटोलाई बढी महत्व दिन्छन् । उनीहरूले सृजनालाई भन्दा घोकन्ते विद्यालाई महत्व दिन्छन् । घरमा आफ्ना विद्यार्थीलाई कहिल्यै पनि सृजनात्मक हुन सिकाउँदैनन् । बरु घोक्न दबाब दिन्छन् ।
गिजुभाईले पुस्तकमा आफ्ना बच्चालाई कथा सुनाएर पढाएको कुरा उल्लेख गरेका छन् । हामीले पनि शिक्षामा यो प्रयोग गर्न सकिन्छ कि भनेर मैले कक्षा दुई र तीनका विद्यार्थीलाई कथा वाचन शैलीबाट कम्प्युटर विषय पढाएँ । उनीहरूलाई मैले ‘म्याजिक ब्वाइ’को कथा सुनाएको थिएँ । म्याजिक ब्वाइ कक्षा ४ मा पढ्थ्यो । कथा पाठ अनुसार घुम्दै जान्थ्यो । यसो गर्दा हल्ला गर्ने विद्यार्थीहरूले पनि बडो रुचिपूर्वक कथा सन्ने गर्थे । कथाको माध्यमबाट पाठलाई राम्रोसँग बुझिरहेका हुन्थे । मैले केही महत्त्वपूर्ण प्रश्न, ठिक बेठीक, खाली ठाउँ भर आदि कार्यकलापलाई भने मैले कक्षा कार्यका रूपमा दिइरहन्थें । अर्थात् कथा वाचन र लेखन दुवैलाई एकनासले लैजान खोजेको थिएँ । यो एउटा प्रयोग थियो ।
हाम्रो समाज पुरातनवादी संस्कारमा अल्झिएको छ । हामीले गर्ने व्यवहार, समाजका आयाम, पारिवारिक संस्कार सबै परम्परामा आधारित छन् । यस्ता परम्पराले हाम्रो समाजलाई प्रत्यक्ष असर पारेका छन् । विद्यालयमा आउने हरेक विद्यार्थीले फरक–फरक रूपमा केही न केही फरक कुराको आदत बोकेर आएका हुन्छन् । जातीय संस्कारले हाम्रो समाजलाई भिन्न तरिकाले बाँच्न सिकाएको छ । अरूका तुलनामा जनजाति समूहको बोल्ने भाषा अलिक फरक हुन्छ । तर सबै विद्यार्थीलाई हामीले एउटै छानामुनि राखेर एउटै शिक्षण प्रक्रियाले शिक्षण गराउनुपर्ने हुन्छ । त्यो पनि किताबमा भएको कुरालाई कण्ठ बनाउनका निमित्त ।
के हामीले सिकाउँदै आएको शिक्षण प्रणाली सही हो त? यो विषय बहसको अर्को महत्त्वपूर्ण पाटो बन्न सक्छ तर हामीले घोक्न मात्र बल दिएको शिक्षा पक्कै उचित होइन । हामीले जस्ताको तस्तै सम्झनुपर्ने विज्ञानका सिद्धान्तलाई समेत सृजनात्मक रूपमा शिक्षण गराउन सक्छौं ।
कक्षा आठ सेक्सन बी का विद्यार्थीहरू सेक्सन ए का विद्यार्थीका तुलनामा कमजोर थिए । उनीहरूले राम्रोसँग नेपालीमा लेख्न पनि जानेका थिएनन् । यस्ता विद्यार्थीलाई कसरी प्रभावकारी रूपमा सिकाउन सकिन्छ भनेर मलाई चिन्ता लागेको थियो । तर एक दिन कक्षा प्रवेश गर्नुपूर्व दिमागमा एउटा आइडिया फु¥यो – हरेक दिन कम्तीमा ५ मिनेट अनुच्छेद लेखन गर्ने ।
मैले उक्त सेक्सनमा कक्षा सुरु हुनुभन्दा पहिले अनुच्छेद लेख्न लगाएँ । राम्रा अक्षर बनाउन आग्रह गरें । यसो गर्दा केही विद्यार्थीमा लेखन कला विकास हुँदै गयो । विद्यार्थीले सुनेका आधारमा हरेक दिन अनुच्छेद लेख्दा आफ्ना गल्तीलाई औंल्याउन थालिसकेका थिए । तर यो सबैका लागि उचित पृष्ठपोषण थिएन । केही विद्यार्थीहरू साँच्चिकै अल्छी थिए । म विद्यार्थीलाई अपूर्ण कथा सुनाउँथें । त्यो कथामा समस्या उत्पन्न गराएर विद्यार्थीलाई हल गरेर ल्याउन भन्थें । प्राय विद्यार्थीले कथालाई कलात्मक ढंगले लेखेर ल्याएका हुन्थे । मलाई लाग्छ, यस्ता खालका अभ्यासले विद्यार्थीको सृजनात्मक क्षमतामा वृद्धि हुन्छ ।
हामीले विद्यालयभित्र निश्चित दायरामा रहेर पाठ्यक्रम सक्नुपर्छ । विद्यार्थीले बुझे या नबुझेको मूल्याङ्कन गर्नका लागि हामी परीक्षा गर्छौं । यो गलत होइन । गलत यो हो कि, हामीले परीक्षाका लागि प्रश्नको उत्तर घोक्न मात्र सिकाउँछौं । हामीसँग अरू विकल्प नै हुँदैनन् । त्यसो त अहिले समय बदलिएको छ । विद्यार्थी केन्द्रित शिक्षालाई मध्यनजर गरेर थुप्रै विद्यालयहरु खुलेका छन् । विद्यालयले अतिरिक्त क्रियाकलापका लागि जोड दिएका छन्, तर यो पूर्ण छैन । हाम्रो शिक्षण प्रक्रिया सरासर गलत छ ।
शिक्षकलाई कसरी पढाउने भन्दापनि कसरी घोकाउने भन्ने कुरालाई शिक्षण संस्थाले जोड दिएका छन् । विद्यालयको नारा नै विद्यार्थी मैत्री शिक्षा राखेका स्कुलले समेत परम्परागत शिक्षामा जोड दिएका छन् । किनकि ती विद्यालयलाई विद्यार्थीको मार्कसिटमा भारी अङ्क ल्याएर अभिभावकको मन बुझाउनुपर्ने चुनौती हुन्छ । चाहे विद्यार्थीले आफ्नो नाम राम्रोसँग लेख्न नसकोस् तर पास हुनै प¥यो । समस्या यही हो ।
मैले प्राथमिक तहका विद्यार्थीलाई कथाका माध्यमबाट शिक्षण गर्दा विद्यार्थी आफैंले हल्ला नगर्ने वातावरण बनाए । एकआपसमा मिलेर बस्न थाले । नजिक भएर आफ्ना समस्याहरू राख्न थाले । त्यसो गर्दा ४५ मिनेट बितेको पत्तै हुँदैनथ्यो । कथा, खेल, क्वीज, अन्ताक्षरी, वाचन आदिको माध्यमबाट पनि विद्यार्थीलाई शिक्षण गराउन सकिन्छ । किनकि विद्यार्थीले भयको छत्रछाँयामा हुर्केर पढ्न चाहँदैनन् । यद्यपि विद्यार्थीलाई गुरु तथा घरपरिवारको डर भएन भने उनीहरूलाई सही बाटोभन्दा गलत बाटो सही लाग्न सक्छ । विद्यार्थीलाई नियमको दायरामा राखेर शिक्षण गराउनै पर्ने हुन्छ तर दबाब होइन ।
हामीले पाठ्यक्रम अनुसारका पाठ्यपुस्तकका आधारमा अन्य कुराहरू जोड दिन जरुरी छ । पढाइ, लेखाइ, सुनाइ र बोलाइलाई एक साथ अगाडि बढाउन सकियो भने विद्यार्थीको सृजनात्मक क्षमतामा विकास हुन्छ । होइन भने विद्यार्थीले किताबका केही सिद्धान्तबाहेक अरू कुरा सिक्न सक्दैनन् । अबको युगमा हामीले हाम्रा विद्यार्थीलाई बहुप्रतिभाशाली बनाउन प्राथमिक तहदेखि नै जोड दिनुपर्छ ।
Previous Articleसैनिक मुख्यालयको जर्नेल सम्मेलनमा सुरक्षाबारे छलफल
Next Article ८ मंसिर २०७३, ढोरपाटन दैनिक