काठमाडौँ, ८ मंसिर – नेपाल सेनाका उच्च अधिकृतहरुको विशेष बैठक जंगीअड्डामा मंगलबार सुरु भएको छ। ‘जर्नेल सम्मेलन’ पनि भनिने यसलाई सैनिक मुख्यालयले ‘पृतनापति समन्वयात्मक बैठक’ का रुपमा आव्हान गर्ने गरेको छ।
बैठकमा प्रधानसेनापति, पिएसओजमा रहेका उच्च सैनिक अधिकृतहरु तथा पृतनापतिहरु सहभागी छन्। यो बैठक दुई दिनसम्म चल्नेछ। बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषण हुनेछ। जर्नेल सम्मेलनमा हुने छलफल र यसको निश्कर्षलाई राजनीतिक तहमा पनि अर्थपूर्ण रुपमा लिने गरिएको छ।
पृतना मुख्यालयको नेतृत्व गर्ने उपरथीहरुले आआफ्नो कमान्डमा रहेको क्षेत्रको समग्र वस्तुस्थितिको प्रस्तुतीकरण गर्नेछन्। राष्ट्रिय सुरक्षामा भविष्यमा आइपर्न सक्ने चुनौती एवम् त्यसलाई सामना गर्न अपनाउनुपर्ने सुझावहरुका सम्बन्धमा छलफल हुनेछ।
बैठकको प्रारम्भिक सत्रमा रक्षामन्त्री बालकृष्ण खाँण प्रमुख अतिथि थिए। नेपाली सेनाले विश्व शान्तिका लागि पुर्याएको योगदान अतुलनिय रहेको र विश्व समुदायवाट समेत यस कार्यको प्रशंसा हुँदै आएको वताए।
नेपाली सेनाको सुदृढीकरण र आधुनिकीकरणमा नेपाल सरकार प्रतिबद्ध रहेको बताए। उनले राष्ट्रिय सुरक्षा र राष्ट्रिय विकास निर्माणमा नेपाली सेनाले पुर्याएको योगदानको सरकारले उच्च मूल्याँकन गरेको स्पष्ट पारे।
बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देृशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा प्रस्तुत गर्ने सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले बताए । उनले भने, ‘यो नियमित बैठक हो। यसले सेनाको नीति तथा रणनीति निर्माणमा महत्वपूर्ण सहयोग पुग्नेछ।’
सैनिक मुख्यालयको जर्नेल सम्मेलनमा सुरक्षाबारे छलफल
Previous Articleअङ्गीकृत नागरिकताको ज्वलन्त प्रश्न
Next Article बालबालिकालाई यसरी सिकाउँदा प्रभावकारी