म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।
उपाध्यक्ष घर्ति मगर पुनले आगमी आर्थिक बर्षका लागि रु ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको थियो । उक्त बजेटमा सामाजिक सुरक्षा तथा संरक्षण भत्ता जोडिएको छैन । उपाध्यक्ष घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २९ करोड ९५ लाख ७० हजार, पुँजिगत तर्फ १८ करोड २० लाख ६६ हजार र सशर्त तर्फ १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरिकएको छ ।
बजेटमा आन्तरिक आयतर्फ रु ५० लाख, संघीय सरकारको वित्तीय समानिकरण अनुदान तर्फ रु ९ करोड ६५ लाख ,राजश्व बाँडफाट तर्फ रु ८ करोड ६४ लाख ७२ हजार, समपुरक अनुदान तर्फ रु ३ करोड ५० लाख ,सशर्त अनुदान तर्फ रु १८ करोड ५० लाख र विशेष अनुदान तर्फ रु ३ करोड ३७ लाख रुपैयाँ स्रोत अनुमान गरिएको छ ।
त्यसैगरी ,प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्फ रु १ करोड ५ लाख ६४ हजार ,राजश्व बाँडफाट तर्फ रु ४६ लाख ,समपुरक अनुदान तर्फ रु ५० लाख र विशेष अनुदानतर्फ रु ५० लाख रुपैयाँ अनुमान गरिएको छ । बजेटमा चालु आर्थिक बर्षको मौज्दात तर्फ रहन आउन सक्ने रु २ करोड रकमलाई समेत समावेश गरिएको छ ।
उँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले कृषि, शिक्षा, स्वास्थ्य तथा विपद व्यवस्थापन, पुर्वाधार विकास, युवा स्वरोजगार, पर्यटन, सिँचाई, भवन निर्माण, उर्जा, संचार, सामाजिक विकास र आर्थिक विकासलाई गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिइएको बताउनुभयो । उहाँले गाउँसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटलाई सफल रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी गाउँसभामा प्रस्तुत आर्थिक विद्येयक, विनियोजन विद्येयक २०७९ ,न्यायीक समितिको प्रतिवेदन २०७९, बार्षिक बजेट, बिषयगत समिति गठन प्रस्ताव, न्यायीक समिति र अनुगमन समिति गठन प्रस्ताव समेत पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो ।