हामीले हतारमा सेयर किनेबेच गरी घाटा वा नाफा भएको कुरा धेरै सुन्ने गरेका छौं । कतिपयले छोटो अवधिमै मनग्य नाफा गरेका छन् भने कतिपयले धेरै घाटा व्यहोरेका पनि छन् । बिसौं वर्ष एउटै कम्पनीको सेयर होल्ड गरेर अरबौंको मालिक बनेका व्यक्तिहरु पनि धेरै छन्। तर एक संस्थापकले आफ्नो कम्पनीको सेयर केवल ८०० डलरमा बेचे ।
यदि, उक्त सेयर करिब ५० वर्षसम्म होल्ड गरेको भए आजको मिति २०० अर्ब डलर भन्दा धेरैको हुने थियो । उक्त सेयर अरु कुनै कम्पनीको नभई विश्वको सबैभन्दा मूल्यवान कम्पनीको ताज पहिरिसकेको एप्पलको हो । अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलको स्थापना १ अप्रील सन् १९७६, मा लस अल्टोस, क्यालिफोर्नियामा भएको थियो । यसका संस्थापक थिए स्टिभ जब्स, रोनाल्ड वेन र स्टीभ वोज्नियाक । यी ३ संस्थापकमध्ये रोनाल्ड वेन नै थिए जो ८०० डलरमै सेयर बिक्री गरी एप्पलबाट बाहिरिए ।
एप्पलले त्यसबेला कम्प्युटरको निर्माण र बिक्री गर्ने गरेको थियो । हाल यस कम्पनीले विभिन्न किसिमका विद्युतीय उपकरण बनाउने काम गर्छ । यसका उत्पादनहरु मध्ये म्याक ल्यापटप, आइप्याड र आइफोन निकै चर्चित रहेका छन् भने माग पनी अत्याधिक रहेको छ। एप्पलले हार्डवेयर र सफ्टवेयर दुवै बनाउँदै आएको छ । सन् बिहीबार (मे १९) मा सेयर भाउ प्रतिकित्ता १४० अमेरिकी डलर रहेको यस कम्पनीको बजार पुँजीकरण करिव २२.८ खर्ब डलर रहेको छ। बजार पुँजीकरणका हिसाबले साउदी अरबको तेल साउदी अराम्कोपछि एप्पल विश्वको दोस्रो ठूलो कम्पनी हो ।
अहिले एप्पल जस्तो ठूलो, स्थापित र मूल्यवान कम्पनीको १०% स्वामित्व हुनु सपनाजस्तै लाग्छ । तर रोनाल्ड वेनले भने स्थापनाकालमा एप्पलको भविश्य राम्रो देखेनन् । एप्पलको स्थापना गर्दा स्टीभ जब्स र स्टीभ वोज्नियाक केवल २१ र २५ वर्षका थिए । आफ्नो व्यवसायलाई बढाउन उनिहरुलाई व्यापारिक ज्ञान भएको मान्छेको आवश्यकता थियो । रोनाल्ड वेनले एप्पलको १०% सेयर स्वामित्व लिएर सो जिम्मेवारी सम्हालेका थिए । उनले कम्पनीको सुरुवातमा एप्पलको लोगो कोर्ने, म्यानुअल लेख्ने तथा महत्वपूर्ण सल्लाहहरु दिने काम गरे।
कम्पनीको पहिलो सम्झौता करिब १०० कम्प्युटरको अर्डर पूरा गर्न जब्सले १५ हजार अमेरिकी डलर ऋण लिएका थिए । यद्दपि, अर्डर दिएको कम्पनी ‘द ह्वाइट शप’ बिल नतिर्ने कुरामा बद्नाम रहेको थियो । उक्त कम्प्युटर स्टोरले एप्पलको पनि पैसा दिने छैन भनेर वेन चिन्तित थिए । सोही कारण वेनले आफ्नो नाम सम्झौताबाट हटाए र आफ्नो नामको सबै सेयर आफ्ना सह–संस्थापकहरूलाई केवल ८०० डलरमा बिक्री गरी एप्पलबाट बाहिरिए ।
जब्स र वोज्नियाक दुवै युवा थिए । त्यसबेला उनिहरु सँग सम्पति केही थिएन । तर वेनसँग घर लगायतका सम्पत्तिहरू थिए। आफू पनि संस्थापक भएका कारण कम्पनीले ऋण तिर्न सकेन भने आर्थिक बोझ जति सबै आफूमाथि आइलाग्ने डरले वेनलाई सताएको थियो । उनले त्यस कुरामा जोखिम लिन चाहेनन् र आफ्नो नाममा रहेको सबै सेयर बेचेर कम्पनीबाट बाहिर निस्किए ।
स्टिभ जब्सले वेनलाई कम्पनीमा फर्कान आग्रह गरेता पनि उनले अस्वीकार गरी अन्य कम्पनीमा इन्जिनियरको रुपमा काम गरे। वेनले सार्वजनिक रुपमै सो निर्णयमा कुनै पछुतो नभएको बताएपनि स्टार्टअप छोड्ने सो निर्णयले उनलाई ठूलो मूल्य चुकाउनु परेको देखिन्छ। आज एप्पलको १० प्रतिशत सेयर करिब २२८ अर्ब डलर बराबरको हुने देखिन्छ ।
– एजेन्सीहरुको सहयोगमा । नेपाली पैसा