मन्सुर मिरोभालेभ
किभ, युक्रेन । रुस–युक्रेन युद्धको सय दिन पुग्दा धेरै कुराहरु स्पष्ट भएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘रुसी संसार’को अवधारणा वा क्रेमलिन अर्थात् रूसी शक्तिकेन्द्रलाई रुसी जाति र रूसी–भाषीहरूलाई जहाँ भए पनि ‘रक्षा’ गर्ने पूर्ण अधिकार छ भन्ने उक्ति युक्रेनमा नराम्ररी असफल भइसकेको छ ।
रुसी र युक्रेनीहरू एकै हुन् भन्ने पुटिनको दाबीलाई अब लगभग सबै युक्रेनीहरूले अस्वीकार गरिसकेका छन् । करिब एक दशक अगाडि सन् २०१३ मा किभ अन्तर्राष्ट्रिय समाजशास्त्र संस्थानले गरेको सर्वेक्षणअनुसार करिब तिनीहरूमध्ये ८५ प्रतिशतले रूसको बारेमा ‘राम्रो महसुस गरेको’ बताएका थिए भने १६ प्रतिशतले दुवै राष्ट्रहरू एउटै भएको हेर्न चाहन्थे ।
युक्रेनीहरू अहिले किभलाई ‘डि–नाजिफाइ गर्ने’ र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई प्रतिस्थापन गरी क्रेमलिन समर्थकलाई कठपुतलीको रुपमा ल्याउने पुटिनको योजना पूरा हुन नदिन अटल छन् ।
रुस–युक्रेनका केही मानिस यो युद्धको प्रमुख कारण धार्मिक आस्थाको भिन्नता नै हो भन्ने विश्वास गर्छन् ।
रूसले युक्रेनमाथि आक्रमण गर्नुको मुख्य कारण युक्रेनको ‘रूपान्तरण’पछि स्वतन्त्र चुनावको अवधारणा अनुसरण गरेको र आफूलाई मस्कोको राजनीतिक कक्षबाट अलग राख्न र युरोपेली संघ तथा नाटोमा सदस्यता खोज्नु थियो ।
क्रेमलिन रुसी जनताले कुनै प्रश्न र शंकाविना जेलेन्स्की र उसको सरकारको ‘नाजी’ नीतिहरूमा विश्वास गरोस् भन्ने चाहन्छ । तर, जेलेन्स्की आफै रूसी भाषी यहुदी परिवारबाट आएका हुन् । र, उनका केही सल्लाहकार र अधिकारीहरू आर्मेनियाली, जर्जियाली, अफगान र कोरियाली मूलका छन् । तर, क्रेमलिनले युक्रेनको अजोभ बटालियनलाई ‘नाजी’ भय समूहको रुपमा चित्रण गरी प्रोपोगान्डा फिँजाइरहेको छ ।
केही अजोभ लडाकुहरु स्वेत सर्वोच्चता, अति–राष्ट्रवाद र असहिष्णुता, एलजीबीटीक्यू अधिकार र नारीवादीमाथि विश्वास गर्छन् ।
यद्यपि, उनीहरू–अन्य युक्रेनी अति–दक्षिण समूहहरूसँग मिलेर विशाल जुलुसमा सहभागी हुने र आलोचकहरू तथा प्रहरी अधिकारीहरूलाई दण्डहीन रुपले आक्रमण गरे पनि युक्रेनको राजनीतिमा उनीहरूको वास्तविक प्रभाव नगन्य मानिन्छ ।
धेरै रुसी शक्तिकेन्द्रका पक्षपाती विज्ञहरू अजोभ लडाकुहरूलाई राक्षसको रुपमा चित्रण गर्छन् जो धार्मिक कारणले मानिसको हत्या गर्छन् भन्ने कुरा रुसी जनतालाई विश्वास गराउन सधैँ खोजिरहन्छन् ।
अप्रिल २७ मा एलेक्से कोचेत्कोभले कोम्सोमोल्स्काया प्राव्दा दैनिकलाई भने, “उनीहरू आफू प्रकृतिपूजक र जर्मनको तन्त्रविद्याको मिश्रण अपनाउने अनुयायी भएको दाबी गर्छन् । संक्षेपमा भन्दा शैतानी अनुष्ठानहरू, मानव बलि, टर्चसहितको मशाल जुलुसमा सामेल हुन्छन् ।”
क्रेमलिन–नियन्त्रित प्रचारकहरूले लाखौं रूसीहरूलाई हदैसम्मको जंगली षड्यन्त्र सिद्धान्तहरूमा विश्वास गराउन खोज्छन् जसमा रूसलाई वशमा पार्ने र टुक्राटुक्रा पार्ने ‘शताब्दी पुरानो’ पश्चिमी योजनाहरू समेत समावेश छन् ।
उनी एक युक्रेनी हुन्, तर अझै पनि डोनबास भन्ने ठाउँको दक्षिणपूर्वी क्षेत्रमा रूसी–भाषी युक्रेनीहरूको ‘नरसंहार’ भएको कुरामा विश्वास गर्छिन् । यद्यपि, उनी भिपिएनको प्रयोग गरेर रुसले प्रतिबन्ध गरेको फेसबुक र विदेशी स्वतन्त्र समाचारहरु पढ्न सक्षम छिन् ।
सायद बहुसंख्यकको समर्थन गर्न सजिलो छ, अलग र बहिष्कृत हुनु सजिलो छैन । एक मस्को निवासी साथीले मलाई यो युद्धको ‘धार्मिक’ पक्ष अर्वेलियन (बेलायती उपन्यासकार जर्ज अर्वेलको लेखनशैली)भन्दा पर रहेको, जुन सिधै उनका वरिपरिका मानिसलाई अर्का उपन्यासकार स्टेफन किंगको भुताहा कहानीमा जस्तै जोम्बिज (हिँड्ने मुर्दाहरु) भनेर वर्णन गर्छिन् ।
“म जोम्बिजहरूले घेरिएको छु । उनीहरूलाई कसैले जबरजस्ती गर्दैन, उनीहरू स्वेच्छाले र रमाइलो मान्दै युद्धलाई समर्थन गर्छन्,” उनले मलाई अप्रिलको सुरुमा भनेकी थिइन् । तर, प्रत्येक क्रियाको प्रतिक्रिया हुन्छ । धेरै युक्रेनीहरूले हरेक रूसी नागरिक र कर्मचारीलाई राक्षस रुपमा देख्दछन् । उनीहरूको रूसी संस्कृति बहिष्कार गर्न खोज्छन् ।
धेरै युक्रेनीहरूले पनि आफ्ना सैनिकहरूलाई देउताझैँ मान्छन् र उनीहरूले हालै वा विगतमा गरेका युद्ध अपराधहरूको बारेमा कुनै पनि तथ्यलाई दृढतापूर्वक अस्वीकार गर्छन् ।
मार्चको सुरुमा अन्तर्वार्ता लिएकी एउटी ९० वर्षीया महिलाले मलाई दोस्रो विश्वयुद्ध ताका भोलिन भन्ने ठाउँ (अहिले पश्चिमी युक्रेनमा पर्ने)मा युक्रेनी विद्रोही सेनाका सोभियत विरोधी अर्धसैनिकहरूले गरेको नरसंहार र बलात्कारको बारेमा बताइन् । जब मैले ती वृद्ध महिलाले सुनाएको कथा एक युक्रेनी युवतीलाई सुनाएँ । उनले ती वृद्धा कि त सोभियत प्रोपागान्डबाट प्रभावित या मगज खुस्किएको हुन सक्छ भनिन् ।
ती युवती धार्मिक आस्थाका साथ प्रत्येक युक्रेनीलाई देशभक्त चम्किलो कवचमा रहेको एक योद्धाको रुपमा देख्छिन् । अनि प्रत्येक रूसी सैनिकले गरेको नरसंहार अद्वितीय रूपमा अमानवीय र इतिहासमा दुर्भाग्यपूर्ण मान्छिन् ।
यसबाहेक, युक्रेनको युद्धको मोर्चा सम्हालेका धेरै व्यक्तिहरुले युद्धताका विवादास्पद छवि बोकेका युक्रेनीहरूको व्यक्तित्व जनमानससामु चोख्याउने गरेका छन् । युक्रेनको पहिलो लडाकू हेलिकप्टर पाइलट नादिया साभचेन्को, सन् २०१४ मा पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासमा पक्राउ परेकी थिइन् । रुसी अदालतले उनलाई दुई पत्रकारको ज्यान जानेगरी गोली चलाएको आरोपमा २२ वर्षको जेल सजाय सुनाएको थियो ।
जेलमा रहँदा, साभचेन्को युक्रेनको सबैभन्दा चर्चित युद्ध नायक बनिन् र सन् २०१६ मा कैदी अदलाबदली पछि किभमा उनको आगमन पहिलो पृष्ठको समाचार बनेको थियो ।
तर, दुई वर्षपछि युक्रेनको संसदको तल्लो सदन वेर्खोभना राडामा उनी सांसद हुँदा प्रहरी र अभियोजकहरूले उनलाई ‘कू’ र आफ्नै विधायकमण्डलका सदस्यहरु विरुद्ध ‘आतंकवादी’ आक्रमणको योजना बनाएको आरोप लगाएका थिए ।
अभियोजकहरूले के दाबी गरेका छन् भने साभचेन्कोले ग्रेनेडहरू, मोर्टारहरू र स्वचालित हतियारहरू प्रयोग गरेर आतंकवादी कार्य कसरी गर्ने भन्नेबारे योजना बनाएको र व्यक्तिगत रूपमा भर्ती तथा निर्देशन दिएको कुराको उनीहरूसँग अकाट्य प्रमाण छ ।
उनले आरोप अस्वीकार गरिन् तर फेरि भनिन्, “कसले बानकोभाको सडकमा भएको राष्ट्रपतिको कार्यालय र वेर्खोभना राडामा भएको तल्लो सदनलाई उडाउन चाहदैनथ्योे र ? यदि हामी यो देशमा बाँच्न चाहन्छौं भने हामीलाई राजनीतिक प्रणालीको पूर्ण परिवर्तन चाहिन्छ ।”
यो अनुसन्धानको कुनै टुंगो लागेन । र, आजभोलि उनी युद्धको अग्रपक्तिमा फर्किएकी छन् । उनका समर्थकहरू यो कदमले विगतमा उनले गरेका कथित अपराधहरू पखालिने बताउँछन् ।
“हो यो कथा अस्पष्ट थियो तर अब उनी युक्रेनको स्वतन्त्रता र क्षेत्रीय अखण्डताको लागि लड्दै छिन्,” फ्रान्समा बस्ने एक युक्रेनी साथीले मलाई भनिन् ।
स्रोतः अलजजिरा