बागलुङ, ७ मंसिर – नेपालको आर्थिक विकासको आधार मानिएको सहकारीले जनताको आर्थिक विकासमा योगदान दिनुपर्ने सोमबार बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् ।
व्यवस्थित रुपमा संचालन गर्न नसके जनताको सम्पत्ति हिनामिना हुन सक्ने भन्दै लेखापरिक्षणलाइ प्रभावकारी बनाउँदै उत्पादनमा समेत जोड दिनुपर्ने उनीहरुको जोड थियो । डिभिजन सहकारी कार्यालय बागलुङको आयोजनामा लेखापरिक्षक, सहकारीकर्मी र लाइन एजेन्सीहरुका पदाधिकारी बीच आयोजना गरिएको सहकारी अन्तरक्रियाको अवसरमा सहभागिले यस्तो बताएका हुन् ।
उनीहरुले लेखापरिक्षकमा हुनुपर्ने गुण र गुणस्तरीय परिक्षणबाट मात्र सहकारी प्रगती उन्मुख हुने र जनतालाइ पनि उचित सेवा दिन सक्ने धारणा राखे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले सहकारीले देशको ग्रामीण बासिन्दाको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । उनले वित्तिय क्षेत्रमा पुगेर ऋण लिन नसक्ने जनतालाइ घरदैलोमा सेवा दिएका सहकारीले चर्को व्याज लिन भने नहुने सुझाव पनि दिए । कार्यक्रममा सहकारी अधिकृत ंबिष्णुप्रसाद शर्माले सहकारी सु–शासन र पारदर्शीताका लागि लेखापरिक्षणको भूमिका बिषयक कार्यपत्र प्रस्तुत गर्दै सहकारीकर्मी र लेखा परिक्षकमा नैतिकता र इमान्दारीता हुनुपर्ने बताए । उनले सहकारीका ७ सिद्धान्तलाइ पालना गर्दै कृषि क्षेत्रको व्यवसायिक विकास र बजारीकरणमा सहकारीको योगदान हुनुपर्ने बताए ।
उनले हाल सम्म कृषिको विकासमा महत्वपूर्ण योगदान भैरहेकोमा उनले खुसी व्यक्त गरे । उनका अनुसार २०७३ को कात्तिक सम्ममा बागलुङमा कृषि सहकारी ९५ वटा, दुग्धउत्पादक २६, मौरीपालन २ र बीउ उत्पादक १ वटा सहकारी संचालनमा रहेका छन् । जिल्लामा संचालनमा रहेका ४ सय ६५ वटा मध्ये धेरै भएको बचत तथा ऋण सहकारीले पनि कृषिको व्यवसायिकरणमा लगानी गर्नुपर्नेमा उनको जोड थियो । राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले सहकारी सुशासनमा संचालकको भूमिका बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले संस्था स्थापनाको उद्धेश्य पुरा गर्न, आर्थिक अनुशासन र कानूनको पालनका गर्नका लािग सहकारीमा सुशासन आवस्यक भएको बताए । सहकारी सुशासनमा कमजोरी र विकृतीहरु पनि भित्रिएको भन्दै तत्काल सुधार गर्नुपर्ने उनले सुझाव दिए । राज्यले संविधान मार्फत सहकारीलाइ आर्थिक विकासको मेरुदण्डको रुपमा राखेकोले सहकारीकर्मीेले पनि यो गरिमालाइ बचाउनुपर्ने सुझाव दिएका थिए ।
सहकारी अधिकृत बिष्णुप्रसाद शर्माको अध्यक्षता, सहकारी निरिक्षक डिलबहादुर केसीको संचालन र सहकारी निरिक्षक सोमकान्त शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतम, सूचना तथा संचार सहकारी संघकी केन्द्रीय उपाध्यक्ष मना केसी, सिवाइसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा, बागलुङ सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारी, एकता सहकारीका अध्यक्ष धु्रवप्रसाद शर्मा, प्रगती सहकारीका अध्यक्ष कृष्णप्रसाद शर्मा पौडेल, चार्टर एकाउन्टेन सुनिल देवकोटा, लेखा परिक्षक नारायण रेग्मी लगायतले बोलेका थिए ।
सहकारीलाइ समय समयमा व्यवस्थित बनाउने अभियानमा डिभिजनले तालिम, अन्तरक्रिया लगायतको कार्यक्रम संचालन गर्छ । गत आर्थिक बर्षमा बागलुङका २५ वटा सहकारीहरु सहकारी आचारसंहिता विपरित संचालन भएको पाएर खारेजी समेत गरिएको छ ।
Previous Article७ मंसिर २०७३, धौलागिरी स्टार साप्ताहिक
Next Article आमा शिक्षाका लागि फेसबुक अभियान