बागलुङ, ७ मंसिर – प्रविधिको तिव्र विकास र प्रयोगको कारण गाउँघर कुटनी र पिसनीमा प्रयोग हुने परम्परागत ढिकी जाँतो लोप हुने खतरामा पुगेको छ । परम्परागत प्रविधि र सिपमा आधारित भएर बनाईएका ती सामग्रीहरु लोप हुँदै जान थालेका बागलुङ भीमापोखराका–९ का दिलबहादुर थापाले बताए ।
गाउँघरमा कुटानी पिसानी गर्न बनाईएका ढिकी, जाँतोलगायतका सामाग्रीको संरक्षणका अभावले जिर्ण अवस्थामा पुगेका हुन् । दशकअघि गाउँका सबैःजसोे घरमा रहेका ढिकी, जाँतो, पानीघट्ट र कोलजस्ता स्थानीय प्रविधिको पछिल्लो समय संरक्षणको अभाव र स्थानीयबासीको बेवास्ताका कारण लोप हुने खतरा बढेको हो ।
गाउँका हरेक घरमा रहेका ढिकी तथा जाँतो अहिले छिटफूट मात्रामा देख्न पाइन्छ । विद्युतिय मिल तथा मिक्सको कारण ढिकीजाँतो तथा भान्सामा प्रयोग हुने सिलाउटो समेत लोभ हुँदै गएको थापाको भनाई रहेको छ । गाउँ–गाउँमा विद्युतीकरण भएपछि बिजुली मिल चल्न थालेको हुँदा गाउँका बुढापाकाले आफ्नो परिश्रम र मेहनत खर्चेर बनाएका परम्परागत प्रविधि हराउन थालेको बागलुङ बिहुँ–६ का सुरेक विकको भनाई छ ।
ढिकी धान तथा चामल कुटन, जाँतो र पानीघट्ट मकै, कोदो, गहुँ, चामललगायत खाद्यान्न बाली पिध्न प्रयोग हुँदै आएको थियो । यसैगरी, कोल तोरी, उखु, कागती पेल्नमा प्रयोग गरिन्थ्यो भने डिजेल र पानीबाट तोरी पेल्ने मिल समेत चलाउने गरिएको थियो ।