नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगर कमिटीको आयोजनामा हिँजो (बिहीबार) बेनी नगरपालिका–५, पुलाचौरको चिप्लेटी र काउलेमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेको चुनावलक्षित कार्यक्रम गरिएको हो ।
बेनी नगरपालिकाको मेयरका एमाले उम्मेदवार सुरत केसी, उपमेयरका उम्मेदवार पशुपति शाहीसहित पुलाचौरको वडा अध्यक्षका उम्मेदवार गोविन्द बानियाँ, सदस्य पदका उम्मेदवारहरु डम्मरबहादुर बानियाँ, देवीदत्त पौडेल, दुर्गा पौडेल र मनिसा नेपालीसहित एमालेका नेता एवं कार्यकर्ताको टोलीले चिप्लेटीको विभिन्न टोलमा पुगेर मतदाता भेटघाट गर्नुका साथै घरदैलो गरेका हुन् ।
यसअघि पुलाचौरको नयाँगाउँ, गाजने, पुलाडाँडालगायत स्थानमा पनि घरदैलो र मतदाता घेटघाट कार्यक्रम गरिएको थियो । चिप्लेटीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमपछि बेनपा–४, सिङ्गा, तातोपानीमा आयोजित चुनावी आमसलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले विकासको च्याम्पियन पार्टी एमालेलाई भोट दिएर जिताउन मतदातालाई आग्रह गरे । नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले गाउँगाउँमा बजेट पठाउने, ज्येष्ठनागरिकलाई सामाजिक सुरक्षाभत्ता दिने, विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाउने र स्वदेशमै युवा स्वरोजगारको सिर्जना गर्नका लागि पनि एमालेको पक्षमा मतदान गनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा बेनी नगरपालिकाको मेयरका उम्मेदवार सुरत केसी र उपमेयरका उम्मेदवार पशुपति शाहीले सम्बोधन गर्दै नगर क्षेत्रको विकास गर्न तथा नागरिकको पक्षमा काम गर्न नेकपा एमालेको टिमलाई भोट दिएर जिताउन अपिल गरेका छन् । कार्यक्रम एमाले तातोपानीका टोल कमिटीका अध्यक्ष तुलप्रसाद श्रेष्ठको अध्यक्षता, बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालन र सिङ्गाका वडाध्यक्ष गोविन्द पौडेलको स्वागतमा सम्पन्न भएको थियो ।
Previous Article‘देशैभरी एमालेको पक्षमा माहौल’
Next Article रुप्से दैनिक ! २२ वैशाख २०७९