आउँदो वैशाख ३० हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले मालिका गाउँपालिका कमिटीले घरदैलो कार्यक्रमको आयोजना गरेको छ । यसैक्रममा हिँजो (सोमबार) मालिका–६, दरबाङको दुखुलेक र बेंसीमा घरेदैलो तथा मतदाता भेटघाटसहित चुनाबी सभा सम्पन्न गरिएको हो ।
चुनाबी सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका जिल्ला सचिवालय सदस्य एवं मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्नका लागि मतदातासमक्ष भोट दिएर जिताउन आग्रह गरेकी छन् । उनले आसन्न निर्वाचनमा एमालेले सक्षम र क्षमतावान् उम्मेदवारहरु उठाएको बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि पनि एमालेले जित्नुपर्ने बताइन् ।
गाउँपालिका कमिटीका अध्यक्ष एवं पालिका अध्यक्षका उम्मेदवार वेगप्रसाद गर्बुजाले मालिका गाउँपालिकाको समृद्धि र विकासका लागि आफ्नो नेतृत्वमा एमालेको टिम चुनाबी मैदानमा होमिएको बताए । उनले आफ्नो पार्टीले चुनाव जितेमा गाउँपालिकाभित्र रहेको स्रोतसाधनको परिचालन गरी युवा स्वरोजगारको सिर्जना गर्ने भन्दै समग्र मालिकावासीको उत्थान र समृद्धिका लागि एमालेले जित्नैपर्नेमा जोड दिए । गाउँपालिकाभित्र रहेको पर्यटन, कृषि, जडिबुटी, खानी लगायतको उत्खनन् गरी पालिकाको विकासमा लगाइने उनको भनाइ छ ।
गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार लक्ष्मी पुनले महिला हक अधिकारको प्रभावकारी रुपमा कार्यान्वयन गरी उनीहरुलाई विभिन्न आयआर्जन र आत्मनिर्भरको क्षेत्रमा अगाडि बढाउने आफूको योजना रहेको सुनाइन् । कार्यक्रममा वडाध्यक्षका उम्मेदवार पथबहादुर रोका, सदस्यका उम्मेदवारहरु गौमती चपाई, छरदेवी घर्ती, नगेन्द्र निउरे र सतदेवी दर्जीले पनि मतदातालाई भेटेर आफ्नो पक्षमा भोट मागेका छन् । कार्यक्रम एमाले वडा कमिटी अध्यक्ष तारामान रोकाको अध्यक्षता, गाउँपालिका कमिटी सचिव सन्तनाथ सुवेदी र सदस्य रघुनाथ न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleस्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस (वीपी)का १५४ उम्मेदवार
Next Article धवलागिरिमा एमालेको चुनावलक्षित कार्यक्रम